News Summary
Generated by OK AI. Editorially reviewed.- दोलखा र रामेछापको सिमानामा समुद्र सतहदेखि ३ हजार १५० मिटर उचाइको सैलुङ सय थुम्का मिलेर बनेको रमणीय चुचुरो हो ।
- सैलुङबाट गौरीशंकर हिमाल, कालिञ्चोक, गणेश र लाङटाङ हिमशृङ्खलाको दृश्य देखिन्छ, जसले पर्यटकलाई आकर्षित गर्छ ।
- हिउँ पर्दा सैलुङ सेताम्मे हुन्छ भने वर्षायाममा हरियो घाँसे मैदान र वनस्पतिले यसको सुन्दरता झनै बढाउँछ ।
३० कात्तिक, काठमाडौं । दोलखा र रामेछापको सिमानामा समुद्रि सतहबाट ३ हजार १५० मिटर उचाइमा छ सैलुङ । तामाङ भाषामा ‘सै’ को अर्थ सय र ‘लुङ’को अर्थ थुम्का भन्ने बुझिन्छ । त्यसकारण सैलुङ सय थुम्का मिलेर बनेको एक रमणीय चुचुरो हो ।
सैलुङको सामुन्ने अटल भएर बसेको गौरीशंकर हिमालले यहाँको आकर्षणलाई थपेको छ । छेवैमा रहेको चर्चित धार्मिक तथा पर्यटकीय स्थल कालिञ्चोकले सैलुङको महत्त्वलाई थप बढाएको छ ।
झुल्के घाम र अस्ताउँदो सूर्यको किरण गणेश, लाङटाङ लगायतका हिमशृङ्खलाहरूमा पर्दा पर्यटकहरूलाई थप मनमोहक बनाउँछ ।
प्राकृतिक रूपले अति रमणीय देखिने सैलुङलाई पृष्ठभूमिमा राखेर सेल्फी खिच्दाको बेग्लै आनन्द आउँछ ।

मौसमअनुसार सैलुङको रूप फेरिइरहन्छ । हिउँ पर्दा सेताम्मे भएर ढकमक्क हुन्छ भने वर्षायाममा हरियो घाँसे मैदान र वनस्पतिले सैलुङलाई झनै मनमोहक बनाउँछ ।
छिनछिनमा बदलिरहने मौसम, बादलसँग लुकामारी खेल्ने डाँडाकाँडा, बिहानको सूर्योदय र साँझको सूर्यास्तले सैलुङसँगको आत्मीयता झनै बढाइदिन्छ ।
सैलुङ टाढाबाट हेर्दा जति सुन्दर देखिन्छ, नजिक पुग्दा यसको सुन्दरताको गहिराइ अझ बढी महसुस गर्न सकिन्छ । खुला आकाशमुनि फैलिएका हरिया चौर, चिसो हावा, डाँडामाथि टाँसिएझैँ देखिने बादल र वरिपरिका हिमाल तथा पहाडको दृश्यले मनलाई एकैछिन भए पनि दैनिक व्यस्तताबाट टाढा पुर् याउँछ ।

जसका कारण प्रकृतिले मानव जातिलाई फुरुङ्ग बनाउने अर्थात खुसी दिलाउने उत्प्रेरकहरू सैलुङमा रहेको महसुस यहाँ पुग्ने पर्यटकहरूले गर्ने गर्छन् ।
सैलुङको यात्रा दोलखा र रामेछाप दुवै तर्फबाट गर्न सकिन्छ । रामेछापबाट जाँदा चर्चित स्थान दोरम्बा हुँदै उकालो लाग्नु पर्छ ।
दोरम्बाबाट जाँदा सैलुङको सिधै चुचुरोमा पुगिन्छ । त्यसपछि तल झरेर अन्य थुम्का र धार्मिक स्थलको अवलोकन गर्न सकिन्छ ।


















प्रतिक्रिया 4