+
+
Shares

नेपाल भ्रमणमा नेपथ्य

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ३० गते १४:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपथ्य ब्यान्डले सौराहा, पुतलीबजार, बेनी र बेलचौतारामा मङ्सिर ३ देखि १२ गतेसम्म चार कन्सर्ट गर्ने भएको छ ।
  • चितवनको सौराहामा मङ्सिर ३ गते हुने पहिलो कन्सर्टका सहुलियत दरका टिकट पहिले नै बिक्री भइसकेका छन् ।
  • यो यात्रामा झन्डै सय जनाको टोली रहनेछ र त्यसपछि नेपथ्यले डिसेम्बरमा अस्ट्रेलियाको एडिलेड, सिड्नी र पर्थमा प्रस्तुति दिनेछ ।

सिक्किम र नेपालको पूर्वी भेगको यात्रा सकेर भर्खरै फर्किएको नेपथ्य ब्यान्डले फेरि नेपाल यात्राको थालनी गर्ने भएको छ । अबको यात्रा ठूला सहरमा नभई ग्रामीण बस्ती र मझौला सहरमा केन्द्रित हुँदै छ ।

ब्यान्ड चितवनको सौराहा, स्याङ्जाको पुतलीबजार, म्याग्दीको बेनी र तनहुँको बेलचौतारामा प्रस्तुत हुन लागेको हो । ब्यान्डले अबको पहिलो कन्सर्ट मङ्सिर ३ गते सौराहामा गर्नेछ । त्यसका लागि पर्यटकीय आकर्षणको केन्द्र रहेको यस बस्तीको सिसुवार मैदान (सभागृहअगाडि) रोजिएको छ । यस कन्सर्टका लागि तोकिएका सहुलियत दरका टिकट निकैअघि नै बिक्री भइसकेका छन् । अन्य टिकट पनि थोरै मात्र बाँकी छन् ।

दोस्रो कन्सर्ट स्याङ्जाको पुतलीबजारमा मङ्सिर ५ गते शनिबार हुनेछ । त्यहाँस्थित मालेबगर खेलमैदानमा नेपथ्यले लोकरक सुनाउन लागेको हो । त्यसपछि ब्यान्ड धौलागिरि हिमालको काखतिर लाग्नेछ । म्याग्दीको बेनीस्थित खुलामञ्चमा मङ्सिर ९ गते दर्शकसामु उपस्थित हुने नेपथ्यको तालिका छ ।

चौथो कन्सर्ट तनहुँको बेलचौतारामा मङ्सिर १२ गते शनिबार हुनेछ । शुक्लागण्डकी नगरपालिकास्थित यो बस्ती राजमार्गसँग जोडिएको छ । कन्सर्ट भानुभक्त क्याम्पसको मैदानमा हुनेछ । नेपथ्यका सबै कन्सर्टका लागि निर्धारित दिनको अपराह्न ४ बजे ढोका खुला हुनेछन् ।

मुलुकभित्र र बाहिरका ठूला सहरहरूमा भव्य रूपमा प्रस्तुत हुँदै आएको नेपथ्यले साना सहर र बस्तीमा बसोबास गर्ने आफ्ना दर्शकको चाहनालाई पनि उत्तिकै प्राथमिकतामा दिँदै आएको यस यात्राले थप पुष्टि गर्नेछ ।

यसपटक प्रस्तुत हुने यी चार स्थानमध्ये म्याग्दीको बेनीबाहेक अन्य सबै ठाउँमा ब्यान्ड पहिलोपटक उपस्थित हुन लागेको हो । कन्सर्टलाई लिएर त्यस भेगका बासिन्दाले सामाजिक सञ्जालमा चर्चा गर्न थालिसकेका छन् ।

आफूलाई विभिन्न माध्यमबाट सन्देश पठाइरहने यी स्थानका दर्शकसामु उभिन आतुर रहेको नेपथ्यका मुख्य गायक एवं अगुवा अमृत गुरुङ बताउँछन् । ‘मैले गाउँघर डुलेरै नेपाल चिनेको हुँ । यस्ता बस्तीहरूबाटै हाम्रा गीतहरू सङ्कलन गरिएका हुन्,’ उनी भन्छन्, ‘त्यसमाथि यस्ता बस्तीहरूमा प्रस्तुत हुँदा दर्शकबाट मैले अन्यत्रभन्दा बढी आत्मीयता अनुभव गर्दै आएको छु ।’

नेपथ्यलाई प्रस्तुत गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठ ब्यान्डलाई विश्वकै सुविधासम्पन्न सहरदेखि साना बस्तीसम्म उस्तै स्वादमा प्रस्तुत गर्ने चुनौतीलाई आफूहरूले गम्भीरतापूर्वक लिएको बताउँछन् । उनी भन्छन्, ‘कलाकारबाहेक प्राविधिकदेखि व्यवस्थापनसम्मको हाम्रो ठूलो टिमले त्यो स्तर कायम राख्नेछ ।’

नेपथ्यको यस यात्रामा आठवटा ट्रक र चारवटा यात्रुवाहक गाडी गरेर झन्डै सय जनाको टोली साथसाथै रहनेछ । कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गिटारमा सुविन शाक्य, गिटारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाउनेछन् ।

यो यात्रापछि नेपथ्यले अस्ट्रेलियाको भ्रमण गर्नेछ । डिसेम्बर महिनामा ब्यान्ड एडिलेड, सिड्नी र पर्थ सहरमा प्रस्तुत हुने कार्यतालिका सार्वजनिक भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?