+
+
Shares

घाट फेरि बन्यो, विश्वास पनि बनाऔं

डा. बालकृष्ण साह डा. बालकृष्ण साह
२०८३ कात्तिक ३० गते १५:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुनसरीको हरिनगर–६ घुस्कीमा छठघाट तोडफोड भएपछि प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि र स्थानीयले राति नै पुनः निर्माण गरेका छन्।
  • प्रहरीले घटनामा संलग्न भएको आशंकामा दुई युवालाई नियन्त्रणमा लिएको छ।
  • स्थानीय अगुवा र समुदायले घटनालाई धार्मिक र सामुदायिक रङ नदिन र निष्पक्ष अनुसन्धान गर्न आग्रह गरेका छन्।

आईतवार छठ पर्वको साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएर श्रद्धालुहरू घर फर्किसकेका थिए । केही समयअघि मात्र श्रद्धा, आस्था र सामूहिक सहभागिताले सजिएको छठघाट तोडफोड भयो ।

सुनसरीको घुस्की (हरिनगर–६) का यो घटनाले सबैलाई स्तब्ध बन्यो । एउटा समुदायको धार्मिक आस्था र सांस्कृतिक पहिचानसँग जोडिएको सार्वजनिक स्थलमा भएको यस्तो घटनाले स्वाभाविक रूपमा चिन्ता र आक्रोश जन्मायो ।

तर, यस घटनाको अर्को पाटो पनि उत्तिकै महत्त्वपूर्ण छ ।

तोडफोडपछि सम्भावित तनाव र साम्प्रदायिक विद्वेष फैलिन नदिन राति नै नेपाल प्रहरी, सशस्त्र प्रहरी, वडा अध्यक्ष मौजामिल खाँ (मन्जिल) लगायत जनप्रतिनिधि तथा समाजका अगुवाहरू पुनः घाट व्यवस्थापनमा जुटे ।

स्थानीयहरू मिलेर भत्किएको संरचना पुनः निर्माणमा लागे । प्रहरीले घटनामा संलग्न भएको आशंकामा दुई युवालाई नियन्त्रणमा लिएको जानकारी आएको छ ।

घटनाको वास्तविकता र संलग्नताबारे भने निष्पक्ष अनुसन्धान र कानुनी प्रक्रियाबाटै टुंगो लाग्नुपर्छ ।

यस क्रममा विभिन्न समुदायका अगुवा तथा स्थानीयले एउटा महत्त्वपूर्ण सन्देश पनि दिए ।

‘गल्ती कुनै व्यक्तिले गर्छ, त्यसको दोष सिंगो समुदायलाई दिन मिल्दैन। र, कुनै व्यक्तिको आपराधिक वा अनैतिक गतिविधिलाई धार्मिक र सामुदायिक रङ दिएर हेर्नु हुँदैन । सामाजिक सद्भाव कायम राख्न सबै एकजुट हुनुपर्छ ।’

यो एउटा भनाई नभई व्यवहार र कर्मले देखायो ।

यो घटनापछिको सबैभन्दा सकारात्मक पक्ष यही हो । तोडफोडले समाजलाई विभाजित गर्न खोज्दा स्थानीय अगुवाहरूले सहकार्य र सद्भावको बाटो रोजे ।

समाजमा द्वन्द्व सिर्जना गर्ने शक्ति केही व्यक्तिसँग हुन सक्छ । त्यसलाई रोक्ने सामर्थ्य सचेत र जिम्मेवार समुदायसँग पनि हुन्छ ।

तर, यतिले मात्र पुग्दैन । घाट पुनः निर्माण हुनु र घटनापछि सद्भावको अपिल जारी हुनु तत्कालका लागि आवश्यक कदम हुन् । अब अर्को महत्त्वपूर्ण प्रश्न उठ्छ ।

साम्प्रदायिक सद्भाव बिथोल्ने नियतले यस्ता गतिविधि गर्ने व्यक्तिहरूलाई प्रशासन र समाजले कस्तो जवाफदेही बनाउनेछन् ?

त्यसले, नै भविष्यका लागि वास्तविक पाठ सिकाउनेछ । सद्भावको अर्थ उन्मुक्ति होइन, न्यायसहितको सहअस्तित्व हो ।

कुनै पनि समुदायका व्यक्तिले अर्को समुदायको धार्मिक आस्था, सांस्कृतिक परम्परा वा सार्वजनिक सम्पत्तिमाथि आक्रमण गर्छ भने त्यसलाई सामान्य घटना मानेर छाड्नु हुँदैन ।

त्यस्तै, अनुसन्धानबाट दोष प्रमाणित नभएसम्म कसैलाई अपराधी घोषणा गर्नु पनि न्यायसंगत हुँदैन।

नियन्त्रणमा लिइएका व्यक्तिको निष्पक्ष अनुसन्धान, प्रमाणका आधारमा दोषी ठहरिए कानुनबमोजिम कारबाही र निर्दोष व्यक्तिको अधिकारको संरक्षण । यी सबै राज्यका समानान्तर दायित्वहरु हुन्।

व्यक्तिको गल्तीलाई समुदायसँग जोडेर सामूहिक दोषारोपण गर्नु अर्को ठूलो गल्ती हुन सक्छ । यसले वास्तविक दोषीलाई कानुनी कारबाहीबाट ओझेलमा पार्न सक्छ । र, निर्दोष नागरिकबीच अविश्वास तथा प्रतिशोधको भावना जन्माउन सक्छ।

त्यसैले, न अपराधलाई समुदायको आडमा लुकाउन दिनु हुँदैन । र, कुनै समुदायलाई अपराधको आडमा अपमानित पनि गर्नु हुँदैन ।

सुनसरी जिल्लाको देवानगञ्ज–कप्तानगञ्जमा केही महिनाअघि मात्रै भएको घटना एउटा पीडादायी उदाहरण हो। सामान्य विवाद समयमै व्यवस्थापन हुन नसक्दा दुई पक्षबीच तनाव बढ्यो । झडप भयो ।

सुरक्षाकर्मीले गोली समेत चलाउनुपर्‍यो र, मानवीय क्षतिसमेत भयो। त्यसपछि देशका विभिन्न स्थानमा संप्रदायक दंगा, कर्फ्यु, निषेधाज्ञा, विरोध प्रदर्शन र लामो समयसम्म सामाजिक तनावको अवस्था सिर्जना भयो।

यसले एउटा सामान्य विवादलाई समयमै सम्बोधन गर्न नसक्दा त्यसले कति ठूलो मानवीय र सामाजिक मूल्य चुकाउनुपर्ने अवस्था आउन सक्छ भन्ने देखाएको छ।

यसअघि हरिनगर, देवानगञ्ज लगायत सुनसरीका विभिन्न स्थानहरुमा भएका सामुदायिक तनावका घटनाले पनि हामीलाई धेरै कुरा सिकाएका छन्।

यस्ता घटनापछि राजनीतिक दल, जनप्रतिनिधि, धार्मिक अगुवा, प्रशासन र नागरिक समाजको संयुक्त पहलबाट संवाद र सहमतिमार्फत परिस्थिति सामान्य बनाइएका उदाहरण पनि छन् ।

त्यसैले, समस्या समाधानको बाटो प्रतिशोध होइन, संवाद, न्याय र जवाफदेहिता हो ।

नेपालबाहिरका अनुभवले पनि यही कुरा पुष्टि गर्छन् । छिमेकी भारतको गृह मन्त्रालयले साम्प्रदायिक रूपमा संवेदनशील क्षेत्रमा शान्ति समिति गठन गर्न र तनावको संकेत देखिनासाथ त्यस्ता समितिलाई सक्रिय बनाउन निर्देशित गरेको छ।

सो समितिमा विभिन्न समुदायका अगुवा, राजनीतिक दल, सामाजिक संस्था तथा महिलाको प्रतिनिधित्व हुन्छ । समितिको उद्देश्य घटना भइसकेपछि मात्र सुरक्षा परिचालन गर्नु होइन, घटना हुनुअघि नै संवाद र समन्वयमार्फत तनाव कम गर्नु हो।

यो अभ्यासबाट हाम्रा स्थानीय तह र प्रशासनले पनि सिक्न सक्छन्।

घुस्कीको घटनाले पनि हामीलाई केही तत्कालीन र दीर्घकालीन जिम्मेवारी सम्झाएको छ। पहिलो, घटनाको निष्पक्ष अनुसन्धान गरी वास्तविक दोषीलाई कानुनी दायरामा ल्याउनुपर्छ।

दोस्रो, कुनै पनि प्रकारको अफवाह, उत्तेजक अभिव्यक्ति र सामाजिक सञ्जालमार्फत फैलाइने घृणाजन्य सामग्रीमाथि समयमै निगरानी र आवश्यक कानुनी कारबाही हुनुपर्छ।

तेस्रो, स्थानीय तहमा सबै धर्म र समुदायका प्रतिनिधि सम्मिलित स्थायी संवाद तथा सद्भाव संयन्त्र निर्माण गर्नुपर्छ।

चौथों, धार्मिक पर्व, जुलुस, मेला र सार्वजनिक कार्यक्रमका क्रममा सम्भावित विवादलाई समयमै सम्बोधन गर्ने प्रशासनिक संयन्त्र सक्रिय राख्नुपर्छ।

विशेषगरी युवा पुस्तालाई धार्मिक सहिष्णुता, सामाजिक जिम्मेवारी र कानुनी चेतनाबारे सचेत बनाउनु आवश्यक छ। सामाजिक सञ्जालमा आउने अपुष्ट सूचना, उत्तेजक टिप्पणी र घृणा फैलाउने सामग्रीलाई सत्य मानेर प्रतिक्रिया दिनु हुँदैन।

एउटा गलत पोस्ट, एउटा भ्रामक भिडियो वा केही व्यक्तिको उक्साहटले वर्षौंदेखि मिलेर बसेको समाजमा अविश्वासको बीउ रोप्न सक्छ ।

एउटा गलत पोस्ट, एउटा भ्रामक भिडियो वा केही व्यक्तिको उक्साहटले वर्षौंदेखि मिलेर बसेको समाजमा अविश्वासको बीउ रोप्न सक्छ ।

सुनसरीको घुस्कीमा रातारात घाट पुनः निर्माणमा जुटेका प्रहरी, जनप्रतिनिधि र स्थानीय अगुवाहरूले प्रशंसनीय उदाहरण प्रस्तुत गरेका छन् ।

तर, अब यो एक रातको सहकार्यलाई दीर्घकालीन सामाजिक एकतामा रूपान्तरण गर्नुपर्छ। त्यसका लागि प्रशासनको निष्पक्षता, जनप्रतिनिधिको जिम्मेवारी, धार्मिक अगुवाको संयम र नागरिकको विवेक सबै उत्तिकै आवश्यक छन्।

समाजमा ठूलो द्वन्द्व एकै दिनमा जन्मिँदैन।

साना विवादलाई बेवास्ता गर्दा, गलत कामलाई राजनीतिक वा सामुदायिक संरक्षण दिँदा, अफवाहलाई सत्य मानेर फैलाउँदा र दोषीलाई उन्मुक्ति दिँदा नै त्यसले ठूलो रूप लिन्छ भन्दा फरक नपर्ला ।

त्यसैले, सानो घटनालाई कुशलतापूर्वक व्यवस्थापन गर्नु नै ठूलो दुर्घटना रोक्ने पहिलो उपाय हो।

घुस्कीमा भत्किएको घाट फेरि बनाउन सकियो । तर त्यही घटनाले समुदायबीच भत्काएको विश्वास पुनः निर्माण गर्न समय र निरन्तर प्रयास लाग्छ। त्यसैले, अब घाटसँगै विश्वास पनि बनाऔं ।

दोषीलाई कानुनी कारबाही गरौं, निर्दोषलाई संरक्षण गरौं । र, कुनै पनि बहानामा धार्मिक तथा सामुदायिक सद्भाव बिथोल्न नदिऔं।

हाम्रो पहिचान धर्मले फरक हुन सक्छ, तर हाम्रो भविष्य एउटै समाजमा जोडिएको छ। आस्था जोगाऔँ, न्याय सुनिश्चित गरौँ र सद्भावको समाज निर्माण गरौं।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?