News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपा सभापति रवि लामिछाने छठ मनाउन पत्नी निकिता पौडेलसहित जनकपुर पुगेका छन् र गंगासागर पोखरीमा धार्मिक अनुष्ठानमा सहभागी भए।
- प्रतिनिधि सभाका सभामुख डिपी अर्यालले छठकै दिन बाराको सिमरामा नेपालको जातजाति, भाषा, धर्म र क्षेत्रीय सहअस्तित्वलाई विश्वसामु प्रस्तुत गर्न सकिने बताए।
- नेपाली कांग्रेस सभापति गगन थापा छठ मनाउन सर्लाही पुगेका छन् र उनले छठले सबै नेपालीलाई सकारात्मक हुने प्रेरणा मिलोस् भनेका छन्।
२९ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आइतबार जनकपुरस्थित गंगासागर पोखरीमा आयोजित धार्मिक अनुष्ठान तथा पुजाअर्चनामा सहभागी भए ।
सभापति लामिछाने छठ पर्व मनाउनका लागि शनिबारै काठमाडौंबाट पत्नी निकिता पौडेलसहित जनकपुर पुगेका हुन् ।
प्रतिनिधि सभाका सभामुख डिपी अर्याल छठकै दिन बाराको सिमरा पुगेका छन् । त्यहाँ सभामुख अर्यालले जातजाति, भाषा, धर्म तथा हिमाल, पहाड र तराईका नागरिकबीचको आपसी सद्भाव र सहअस्तित्व विश्वसामु प्रस्तुत गर्न सकिने उदाहरणीय विशेषता नेपालको भएको बताए ।
सभामुख र सत्तारुढ दलका सभापति मात्र होइन प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति गगन थापा पनि आइतबार छठ मनाउन सर्लाही पुगेका छन् ।
सिमरा विमानस्थलमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिंदै थापाले छठले सबैलाई सकारात्मक बन्न प्रेरित गरोस् भन्ने अपेक्षा राखेको बताए ।
उनले भने, ‘छठले सबै नेपालीलाई सकारात्मक हुने प्रेरणा मिलोस् । यतिधेरै नकारात्मकताले नेपाली समाज चल्न सक्दैन । त्यसैले नेपाललाई सकारात्मकता चाहिएको छ ।’
थापा गत निर्वाचनमा सर्लाही–४ बाट उठेका थिए । उनी आइतबार दिनभरी सर्लाहीमै व्यस्त रहने कार्यक्रम रहेको थापाको सचिवालयले जानकारी दिएको छ ।
पत्नी डा. अञ्जना केसी थापासँग सहित मधेश झरेका सभापति थापाले वीरगन्ज–१० स्थित घडिअर्वा घाटमा सोमबार पूजापाठ गर्ने कार्यक्रम रहेको छ ।

त्यसपछि स्थानीयसँग अनौपचारिक संवाद, पार्टी कार्यकर्तासँग भेटभाट र पिपरामा आयोजना हुने प्रदीप गिरी फेलोसिप शुभारम्भ कार्यक्रम सहभागी हुने सचिवालयले जनाएको छ ।
छठ पर्वलाई नेताहरूले राजनीतिक भेटघाटको अवसर समेत बनाएको कतिपयको टिप्पणी छ । खरना पूजामा सहभागी हुँदा सभापति लामिछानेलाई रास्वपाका सांसदद्वय मनिष झा र पुरुषोत्तम यादव लगायतले साथ दिएका थिए ।
सभापति लामिछानेले छठलाई पार्टीको आन्तरिक राजनीति व्यवस्थापनको अवसर बनाएको हुन सक्ने बताएका छन् ।
हुन पनि रास्वपाले मधेस प्रदेशको अधिवेशन नसकी चिवतनमा केन्द्रीय महाधिवेशन गरेको थियो । मधेसका आठ जिल्लामा पर्सामा मात्रै अधिवेशन गरेर नयाँ नेतृत्व चयन गरिएको थियो ।
अन्य जिल्लामा अधिवेशनको उद्घाटन सत्र सुरु भएर पनि निर्वाचन प्रक्रिया सुरु हुन नसकी अधिवेशन स्थगित गरिएको छ । पालिका तहमा भएका अधिवेशन पनि विवादित बने ।
अधिवेशन नगरी तदर्थ समितिको नेतृत्वले गरेका सिफारिसका आधारमा केन्द्रीय महाधिवेशनका लागि प्रतिनिधिहरू चयन गरिएको थियो । असारमा भएको रास्वपाको पहिलो महाधिवेशनमा प्रतिनिधिहरूमा सर्वाधिक विवादित मधेसको रह्यो । मधेसका प्रतिनिधि निश्चित हुन नसक्दा महाधिवेशनको मतदान प्रक्रिया नै एकदिन ढिलो सुरु हुन पुगेको थियो ।
प्रतिनिधि छनोटमा किचलो र पार्टी संरचनामा समस्या देखेपछि सभापति रवि लामिछाने स्वयं मधेस झरेर अधिवेशनको वातावरण बनाउन तदारुकता लिने प्रयत्न गरेका थिए । यद्यपी, उनी मधेसका जिल्ला भ्रमण गरेरन् । पार्टीका नव निर्वाचित केन्द्रीय सदस्यहरूलाई प्रशिक्षण गराउने क्रममा सभापति लामिछानेले मधेसका जिल्ला भ्रमण गर्ने जानकारी गराएका थिए । उनी मधेसका जिल्ला भ्रमण नगरेर त्यहाँको समस्या र समाधान निकाल्न सभापति लामिछानेले अर्को बाटो रोजे ।

सहमहामन्त्री हरि ढकालको संयोजकत्वमा ‘मधेस अडिट’ समिति गठन गरे । उक्त समितिका अन्य सदस्यहरूमा प्रमोद न्यौपाने, पुनम अग्रवाल, जगदिश खरेल (दोलखा), सुरेन्द्र चौधरी र अशोक चौधरी थिए । उक्त समितिले पार्टी केन्द्रीय समितिमा आफ्नो रिपोर्ट बुझाइसकेको छ । पालिका, जिल्ला र प्रदेश समितिले विधि भन्दा बाहिर रहेर भूमिका निर्वाह गरेको निर्क्यौल उक्त समितिले निकालेको छ ।
विधि भन्दा बाहिर रहेर गरिएका अधिवेशन भंग गरी सहमतिमा नयाँ तदर्थ समिति बनाउन उक्त समितिले सिफारिस गरेको छ । उक्त समितिको सदस्य रहेकी अग्रवालको अनुसार आठै जिल्लामा उस्तै प्रकृतिका समस्या छन् ।
तहगत संरचनामा रहेका पदाधिकारीले संगठनमा आफू अनुकूलका व्यक्तिलाई पदीय जिम्मेवारी दिनु, सांसदहरूले समेत संगठनमा राखिने व्यक्तिको चासो राख्नु, पुराना र नयाँ सदस्य बीचको आन्तरिक द्वन्द्वले सांगठनिक समस्या आएको मधेसका नेताहरूले बताउँदै आएका छन् ।
विगतमा फरक फरक दलमा रहेका व्यक्ति रास्वपामा प्रवेश गर्नु र अवसरको खोजीमा पुगेका दलका स्थानीय नेताहरू एउटै पार्टीमा हुँदा त्यसले पनि आपसी तिक्तता बढाएको बुझाई पार्टीमा छ ।
स्थानीय र प्रदेशको चुनाव उम्मेदवार हुने आकांक्षी बग्रेल्ती हुँदा समस्या सांगठनिक समस्या आएको अध्ययन टोलीको बुझाइ छ । उम्मेदवार बनाउने पार्टीको विधि भएपनि त्यसलाई बुझाउन नसकिएको निष्कर्षमा समितिका सदस्यहरू छन् ।

मधेसमा सांगठनिक समस्या आउनुमा अर्को कारण रवि–वालेन पक्षको टकराव पनि रहेको छ । पुराना कार्यकर्ता सभापति रवि पक्षका बढी छन् ।
गत चुनावको मुखमा रास्वपा प्रवेश गर्ने सदस्यहरूमा अधिकांश प्रधानमन्त्री बालेन शाह पक्षधर छन् । मधेसको संगठनमा पकड जमाउन दुबै पक्षको ध्याउन्न छ ।
मधेसमा सांगठनिक समस्या उत्पन्न भइरहेको बेला सभापति लामिछानेले आफू निकटका पुरुषोत्तम यादवलाई सहमहामन्त्री बनाएर संस्थापनलाई मधेसमा बलशाली बनाउने प्रयत्न गरेका छन् ।
रविले यसअघि तय भइसकेको मधेश भ्रमण स्थगित गरेका थिए । तर अहिले अवसर पारेर सभापति लामिछाने जनकपुरधाम झरेका छन् । छठमा मधेसमा जानुको ध्येय सांगठनिक अवस्था बुझ्नु र सहानुभूति प्राप्त गर्नु समेत रहेको विश्लेषकहरू बताउँछन् ।
प्रतिक्रिया 4