२९ कात्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले राष्ट्रिय एकता अभिवृद्धि, मौलिक संस्कृतिको संरक्षण तथा सामाजिक सद्भाव सुदृढ बनाउन योगदान पु¥याउने विश्वास व्यक्त गरेका छन् ।
छठ पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन् ।
उनले सूर्य, जल र पृथ्वीप्रति श्रद्धा व्यक्त गर्दै मनाइने छठ पर्वले प्रकृतिप्रतिको सम्मान, पर्यावरणीय चेतना तथा पारिवारिक र सामाजिक एकताको सन्देश प्रवाह गर्ने बताएका छन् ।
तराई तथा मधेश क्षेत्रमा मनाइँदै आएको छठ पर्व पछिल्लो समय काठमाडौं उपत्यकासहित पहाडी तथा हिमाली जिल्लाहरूमा समेत श्रद्धा र भक्तिपूर्वक मनाउने क्रम बढ्दै जानु खुसीको विषय भएको राष्ट्रपतिको सन्देशमा उल्लेख छ ।
राष्ट्रपति पौडेलले छठ पर्वलाई प्रकाश र ऊर्जा प्रदान गर्ने सूर्य देवको आराधना गर्ने पर्वका रूपमा व्याख्या गर्दै यसले स्वच्छता, सात्विकता, संयमता, सद्भाव र समृद्धिको कामना गर्ने परम्परालाई अघि बढाएको बताएका छन् ।
उनले छठ पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरीति र विसङ्गति अन्त्य गर्न प्रेरणा प्रदान गर्ने विश्वास पनि व्यक्त गरेका छन् ।
‘यस पर्वले सम्पूर्ण नेपालीहरूमा राष्ट्रिय एकता अभिवृद्धि गर्न, मौलिक संस्कृतिको संरक्षण तथा संवद्र्धन गर्न र आपसी सद्भाव थप सुदृढ पार्न प्रेरणा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु,’ राष्ट्रपति पौडेलले सन्देशमा भनेका छन् ।
उनले छठ पर्वले समाजमा विद्यमान सबै प्रकारका सामाजिक विभेद र विसङ्गतिको अन्त्य गर्दै दिगो शान्ति, सुशासन, विकास र समृद्धि हासिल गर्न प्रेरणा प्रदान गरोस् भन्दै छठी माता र सूर्य भगवानसँग कामनासमेत गरेका छन् ।
प्रतिक्रिया 4