+
+
Shares
पुस्तक समीक्षा :

युद्ध लडेँ क्यान्सर जितेँ : युद्धका विविध आयामको लीलानुभूति

बम, बारुद र हतियारसँग खेल्ने, रातमा चल्ने र दिनमा सुस्ताउने, लडाइँको तयारी, लडाइँ, फेरि तयारी र फेरि लडाइँको दिनचर्यामा रहने आफूहरूलाई सरकारले ‘आतंककारी’, ‘जंगली’, ‘निर्दयी’ विशेषणले प्रचार गर्ने गरेता पनि उनीभित्र मानवीय संवेदना कति प्रचुर छ र त्यो बेलाबेलामा कसरी मैनजस्तै पग्लन्थ्यो भन्ने कुरा पुस्तकका पानापानाले बताउँदछन् ।

केशव शर्मा घिमिरे केशव शर्मा घिमिरे
२०८३ मंसिर १ गते ९:०३

नेपाली व्यञ्जनमा ‘म’ लाई ‘राम्रो म’ भनी चिनाइन्छ, पढाइन्छ । आफूलाई चिन्न थाल्ने उमेरदेखि नै ‘म राम्रो’ भन्ने भावबाट प्रशिक्षित हुँदा बाल मस्तिष्कभित्र साँच्चै आत्मस्वीकृतिले घर बसाउँदो हो । त्यही ‘राम्रो म’ जस्तै राम्री, परिवारका ८ सन्तानमध्येकी छैटौँ, गोरी, सुडौल र चुलबुले लीलाको एसएलसीपछि अनमी पढ्ने सपना राप्ती नदीले बगाइदिएपछि आफ्नो जीवनको मूल लक्ष्यबाट विमुख उनी त्यसपछि उही राप्तीको छालजस्तै देशमा आएको जनयुद्धको छालमा कसरी पर्छिन् । र त्यस छालमा आफूलाई कसरी अन्तत: ‘बलियो म’ को परिचयमा उभ्याउँछिन् भन्ने व्यहोराको रोचक वर्णन हो ‘युद्ध लडेँ क्यान्सर जितेँ’ संस्मरण ।

देख्ने र बुझ्ने भएदेखि नै आफ्नो मध्यमवर्गीय परिवारमा अभाव र कष्ट मात्र देखेकी उनले त्यसकारण पनि ठूलो सपना देख्न सक्तिनन् । आफ्नो त्यही सामान्य सपना पनि तुहिएपछि ०५४ सालमा आईए पढ्न दाङको सदरमुकाम गएकी उनी कसरी भूमिगत माओवादीहरूको सम्पर्कमा पुग्छिन् भन्ने प्रसङ्ग पनि रोचक लाग्दछ । थोरै कौतूहलता र धेरै डर बोकी जनयुद्ध ‘हेरौँला’ भनी करङ्गेको पहाड चढेकी उनी त्यहाँ जनयुद्ध हेर्दिनन्, बरु गर्छिन् । उही करङ्गेमा आयोजित एरिया पार्टी मिटिङ तथा प्रशिक्षणमा उनलाई माओवादीको ‘पूर्णकालीन कार्यकर्ता’ घोषणा गरिँदा उनी दाङ जिल्लाकै पहिलो भूमिगत महिला छापामार बन्न पुग्छिन् र त्यसपछि पार्टीले सुम्पेको एकपछि अर्को भूमिका निभाउँदै अन्तत: आधार इलाकीय ब्रिगेडअन्तर्गतको तेस्रो बटालियनको कम्पनी कमिसार हुँदै सहायक कमान्डरसम्मको यात्रा तय गर्छिन् ।

सपना

उनी युद्धमा जानुको पछाडि कुनै ठूलो सपना हुँदैन । बरु त्यो तात्कालिक परिस्थितिको उपज हुन्छ तर यसको प्रभाव भने दूरगामी महत्त्वको हुन्छ । सफल भए यसले मूल रूपमा पुँजीवादी संसदीय व्यवस्थाको अन्त्य गर्न सक्थ्यो र सट्टामा गणतान्त्रिक समाजवादी अर्थव्यवस्था प्रतिस्थापन गर्न । अझ सरल शब्दमा भन्दा गरिब, दीनदु:खीहरूको शासन ल्याउन र सर्वहारा वर्गको मुक्ति गराउन सक्थ्यो । तर वास्तवमा यस्तो भइदिँदैन । उनी बिस्तारै विचारले परिपक्व हुँदै जाँदा उनले यस सम्बन्धी छनक नपाएको पनि होइन । तर लडाइँको मोर्चामा, सेल्टरमा, सामूहिक बसाइँमा अर्कोतिर सोच्ने फुर्सद थिएन र अझ कमान्डर नै भइसकेपछि त आफू मातहतका लडाकुहरूको आत्मबल उँचो राखिराख्ने अभिभाराले पनि उनले आफ्ना अनुत्तरित प्रश्नहरू आफैँभित्र दबाएर आफ्ना टुकडीलाई जितमा विश्वस्त दिलाउनु सिवाय अरू सोच्न सकिनन् ।

विवाहपश्चात् जब पहिला कहिल्यै चाहिँदैन जस्तो गरी छोडेर गएको घरमा दस वर्षपछि सीप र शिक्षाविहीन भई फर्केर आउँछिन्, बाबुआमा बितिसकेको रुग्ण र जर्जर घरको स्याहार फेरि उनैले गर्नुपर्ने हुन्छ, बाआमा र आफ्नो नियति सम्झेर उनी भक्कानिन्छिन्, पाठकलाई समेत भक्कानिने गराउँछिन् ।

तैपनि उनमा र उनीजस्ता सबैमा बेलाबेलामा घरको र आफ्नो व्यक्तिगत जीवनको चिन्ता नआउने होइन । तर यसो एकछिन सोच्न थाल्यो, जनमुक्ति सेना, सतकर्् ! जनमुक्ति सेना, गोडा फाट् !… कासनको चर्को आवाजले सोच्नेको ध्यान भङ्ग गरिहाल्थ्यो । अझ जनमुक्ति सेना, रेड सेलुट गर्ला, रेड सेलुट् गर् ! भन्दै करिब दुई हजार फौजका जङ्गी आवाज ‘उठ जाग हे भोका नाङ्गा, जाग संसारका दु:खी…’ अन्तर्राष्ट्रिय गीतमा गुञ्जिन्थ्यो, तब त्यसले उनीहरूलाई अर्कै लोकमा लैजान्थ्यो । गाउँबस्ती, जंगलका बोटबिरुवा, भीरपाखा, लेकबेसी सबैले परिवर्तनको गीत गाए जस्तो, जनताको पुरानो सत्ताप्रतिको आक्रोश अत्यन्तै बढेकाले जनवाद आइसक्यो जस्तो र जित्यौँ जित्यौँ जस्तो लाग्थ्यो । यही जितको सपनामा उनको जीवनको अत्यन्त ऊर्जामय कालखण्ड बितेको यिनलाई पत्तै भएन ।

तीन लडाइँ एकसाथ

घरमा स्वयं लैङ्गिक विभेदको परिवेशमा हुर्केकी थिइन् लीला । त्यसकारण आफूले बीचमा स्कुले पढाइ छोड्नु परेको पनि थियो । उनले सशस्त्र लडाइँमा सहभागी भई तीनवटा लडाइँ एकसाथ लडेको बताएकी छन् । पहिलो, लैङ्गिक विभेदविरुद्धको (मानव सिर्जित) लडाइँ । दोस्रो, पितृसत्तात्मक राज्य व्यवस्थाविरुद्धको (राजनीतिक) लडाइँ र तेस्रो, जैविक लडाइँ जो एक महिलाले आफ्नो विशिष्ट शारीरिक विशेषताजन्य प्रतिकूलताको बाबजुद लड्दछे ।

पछिल्लो प्रकारको लडाइँमा मासिकस्राव, गर्भावस्था, सुत्केरी र शिशुको स्तनपानको अवस्था पर्दछ । युद्धको मोर्चामा आफूले गर्भावस्था, सुत्केरी र स्तनपानको अवस्था नव्यहोरे पनि आफ्ना साथीहरूले त्यसका बाबजुद लडेको अवस्था देखिन् र आफूले भने मासिकस्रावमा असह्य पेट दुखाइको अवस्थामा पनि युद्ध लडिन् । हो, यिनै तीनवटा लडाइँ एकसाथ लड्न सकेकोमा कति बलियो म भन्दै आफूले आफैँलाई धाप मारिन् ।

मानवीय संवेदना

बम, बारुद र हतियारसँग खेल्ने, रातमा चल्ने र दिनमा सुस्ताउने, लडाइँको तयारी, लडाइँ, फेरि तयारी र फेरि लडाइँको दिनचर्यामा रहने आफूहरूलाई सरकारले ‘आतंककारी’, ‘जंगली’, ‘निर्दयी’ विशेषणले प्रचार गर्ने गरेता पनि उनीभित्र मानवीय संवेदना कति प्रचुर छ र त्यो बेलाबेलामा कसरी मैनजस्तै पग्लन्थ्यो भन्ने कुरा पुस्तकका पानापानाले बताउँदछन् । ‘कस्तो अभियानको साक्षी म ? उनी (प्रहरी) हरूको पनि के दोष ? सरकारको नुन खाएका छन् । ड्युटीको कसम खाएका छन् । हाम्रो पनि के दोष ? सरकारसँग खाना नपाएकालाई खाना मागेका छौँ । रोजगारी नपाएकालाई रोजगार मागेका छौँ । यो अभियानमा सबै छौँ तर मर्न आज हामीलाई परिरहेको छ । उसोभए दोष कसको ? यस माटोमा जन्मनु नै दोष ? कि हामीलाई जन्माउने बाआमाको दोष ?’ (पृष्ठ ९६)

‘एउटै माटो, एकै रहनसहन, उही पँधेराको पानी खाएका सबै घरगाउँले हामी किन आपसमा काटमार गरिरहेका हौँला ? यो परिस्थितिको नियति हो कि कसैको सनक ?’ (पृष्ठ १२३)

अन्ठाउन्न जेठ १९ को दरबार हत्याकाण्ड सुनेपछि त लेखक आफू देशमा गणतन्त्र ल्याउनकै निम्ति लडिरहेको समेत बिर्सेर व्यक्तिका रूपमा शाही परिवारको एकएक मुहार सम्झँदै अरूले नदेख्ने गरी एक्लै रोएको बताएकी छन् ।

निराशा

युद्धकालको मध्यतिर आइपुग्दा लेखकमा बिस्तारै निराशाले घर गर्न थाल्दछ । यसका विविध कारणहरूमध्ये हतियारको कमी, लडाकुहरूको आत्मबलको लागि उत्प्रेरणाको अभाव, महिला छापामारहरूको विवाह (जुन लडाइँमा समस्या हो थाहा छ, तर यसको समाधान छैन) र महिला नेता र कमान्डरमा तालमेल नमिल्नुलाई लेखकले प्रमुख कारकका रूपमा उजागर गरेकी छन् । अझै अगाडि बढेर भन्नुपर्दा आफ्नो समाजको पितृसत्ताविरुद्ध लड्न माओवादीमा प्रवेश गरेकी लेखक स्वयंले आफ्नै पार्टीभित्र पनि पितृसत्तात्मक दृष्टिकोण हाबी भएको देख्छिन् र यो तीतो सत्य नि:संकोच पोख्छिन्– ‘यस्तो (मासिकस्रावको) दुखाइमा पनि हामी पुरुषसरह लडेका छौँ । तर हाम्रो शरीरमा हुने हर्मोनल परिवर्तनको पार्टीले हेक्का राख्दैन । पार्टीले त जहिलेसुकै बम, बारुद र घाइतेको रिपोर्ट मात्र कोरेको हुन्छ । महिलाले कुन जैविक अप्ठेरोको बाबजुद लडे होइन, कति लडे र जिते कि जितेनन् भन्ने लेखाजोखा मात्र राखेको हुन्छ ।’ (पृष्ठ १३६)

उनी युद्धमा बिहे गर्नु ठूलो समस्या नभई त्यसपछिको व्यवस्थापन कसरी चुनौती हुन्थ्यो भन्ने कुरालाई पितृसत्तात्मक दृष्टिकोणसँग जोड्दछिन् । गर्भवती महिलालाई हिँड्दा आफ्नै शरीर भारी हुने, दिनहुँ सेल्टर बदल्दै हिँड्न गाह्रो । बच्चा जन्माउन कहाँ जाने भन्ने अर्को समस्या । घर वा माइतमा जाँदा राज्यले मुद्दा लगाइसकेको हुन्छ । कतै सुत्केरी भएर २/३ महिना बसेर युद्धमोर्चामा फर्किंदा सँगैका साथीहरू कमान्डर बनिसकेका हुने र बच्चा जन्माउँदाको २/३ महिनाको बिदाले मूल्यांकनमा असर परी आफू जहाँको त्यहीँ हुने अवस्था देखेर पनि आफूले आफ्नो यौवनावस्था घर्काएको सम्झँदै भन्छिन्– ‘महिलाले सहनु पनि कति !’

उनको निराशा तब झन् चरमोत्कर्षमा पुग्दछ जब पार्टी लडाइँको लाइन छोडी शान्ति प्रक्रियामा आउँछ । निराशा यसकारण होइन कि यिनी युद्ध नै चाहन्छिन्, बरु निराशा यसकारण कि पार्टी उही पुरानो संसदीय भासमा नराम्रोसँग जाकिएको देखिन्छ । संविधानसभा चुनावको जितपछि पार्टी सहरमा, कुर्सी, पद र प्रतिष्ठामा रमाउन थालेको, हिजो एउटै मोर्चामा लडेका, कुनैबेला एकबिना अर्को रहनै नसक्ने गरी मनमुटु मिलेका साथीहरूबीच जितले भेट गराउन नसकेको, २०६५ सालको कार्तिकको खरीपाटी सम्मेलनबाट मेसिनगनले छिनाउन नसकेका सखीका मनहरू छिनाउन सुरु गरेको देख्छिन् ।

उनले त्यो आत्मविश्वास फेरि फर्काउने हिम्मत गर्छिन्, तर कसरी ? आफ्नो ३ वर्षे छोराको मुहार हेर्छिन्, त्यही निर्दोष मुहारले उनलाई यो अर्को ठूलो लडाइँ नजिति नहुने आत्मबल दिन्छ । आफ्नो छोराको मुहार हेर्दा निस्कने आत्मबलको अजस्र स्रोतले उनले क्यान्सर जित्छिन् ।

२०६९ सालका वैद्य र प्रचण्डपक्षीय अलगअलग भेलाले हिजो फलामे साङ्लासरी जोडिएका मनहरू छिन्नभिन्न बनाइदिएको, जनताको सुनौलो राज्यसत्ता स्थापना गर्ने सपना सिसाझैँ टुक्राटुक्रा भएको, रगत र पसिनाको मूल्य सुकेको, जनयुद्धका पुरै वर्ष माहुरीको गोला जस्तै एकढिक्का भई बसेका सखीहरू पार्टीको दुई चिराले दुई किनार भएको, बोली बाराबार हुने मात्र नभई एकले अर्कोलाई संशोधनवादी र जडसूत्रवादी भन्दै सत्तोसराप गर्न थालेको सम्झँदा उनको मन बेसरी कुँडिन्छ ।

पार्टीमा दुईबाट थप अनेकन् चिरा परेपछि त झन् लेखकमा बढ्ता निराशाले घर गर्न थाल्दछ र उनलाई केही सोच्नै नसक्ने गरी मानसिक थकान बढिरहेको भान हुन थाल्दछ । अब उनलाई हिजोको सपना पूरा हुने आशा होइन, हिजोको कालखण्ड नै पूरा सपना झैँ लाग्दछ । हो, यही बिन्दुमा उनी अब निरपेक्ष हुन्छिन् । उनलाई कसैबाट न आशा छ, न अपेक्षा । देश र जनताको माया त छ तर चौँसट्ठीको चुनाव जितेर पनि युद्ध लडेकाहरूको मुहार कहिल्यै उजिल्याउन नसकेका आफ्नै नेताहरूप्रति तीव्र रोष छ । आफूलाई कहीँ नपुर्‍याई बीच बाटोमा अलपत्र छोडिदिने, न दिन, न रातको परवाह हुने बारीको बुख्याँचा जस्तो अवस्थामा ल्याई छोडेका नेताहरूप्रति उनलाई भन्नु केही छैन । छ त केवल निरपेक्षा । बरु अब यिनलाई सरोकार छ त केवल खारा कारबाहीको तयारीको दौरानमा रोल्पाको हान्डिङमा बिहे नभएकाले बिहे नगर्ने र भइसकेकाले केही समय बच्चा नजन्माउने (पेज १०१) भनी गरेको प्रतिबद्धताबाट आफैँले घर्काएको आफ्नो बैँसमा सक्दो रङ भर्ने । अर्थात् बिहे, जो उनी युद्धमा नलागेको भए उहिल्यै गरिसकेकी हुन्थिन् ।

अन्तत: उनले २०६४ सालमा विवाह गर्छिन् र एक सामान्य गृहस्थ जीवनमा फर्कन्छिन् । विवाहपश्चात् जब पहिला कहिल्यै चाहिँदैन जस्तो गरी छोडेर गएको घरमा दस वर्षपछि सीप र शिक्षाविहीन भई फर्केर आउँछिन्, बाबुआमा बितिसकेको रुग्ण र जर्जर घरको स्याहार फेरि उनैले गर्नुपर्ने हुन्छ, बाआमा र आफ्नो नियति सम्झेर उनी भक्कानिन्छिन्, पाठकलाई समेत भक्कानिने गराउँछिन् ।

फेरि अर्को लडाइँ

अब जीवन सामान्य लयमा फर्कियो भन्ने लाग्दा नलाग्दै उनलाई क्यान्सरजस्तो भयानक रोगले समाउँछ । बेस्मारी हुँडलिएर सङ्लो हुँदै गरेको उनको मनोदशा यसले फेरि बेस्मारी हल्लाइदिन्छ । तर उनी सम्हालिन्छिन् र क्यान्सरप्रति जम्मा दुईवटा धारणा बनाउँछिन्– एक, यो युद्धकालको असन्तुलित खानपान र जीवनशैलीको उपज हो । र दुई, उनले जुन साहस र आत्मविश्वासले रुकुम, रोल्पा, प्यूठान, अर्घाखाँची, पाल्पा, कपिलवस्तु र गुल्मीका लडाइँ लडिन्, त्यही स्तरको आत्मविश्वासको फेरि यहाँ परीक्षण गर्न समयले माग गर्दैछ । उनले त्यो आत्मविश्वास फेरि फर्काउने हिम्मत गर्छिन्, तर कसरी ? आफ्नो ३ वर्षे छोराको मुहार हेर्छिन्, त्यही निर्दोष मुहारले उनलाई यो अर्को ठूलो लडाइँ नजिति नहुने आत्मबल दिन्छ । आफ्नो छोराको मुहार हेर्दा निस्कने आत्मबलको अजस्र स्रोतले उनले क्यान्सर जित्छिन् ।

यसले युद्धकालमा उनले लामो समय पन्छाएको र झन्डै घर्काइसकेको विवाह र सन्तानको महत्त्वलाई दर्शाउँदछ ।

कैयन् ठाउँमा पुस्तकले हँसाउँछ, कैयन् ठाउँमा रुवाउँछ । आक्रोशमा दाह्रा किटाउँछ र करुणामा सम्मै डुबाइदिन्छ । ७ कक्षामा पढ्दापढ्दै भूमिगत भएकी लिवाङ–९ रोल्पाकी बुढीतरा (मुना) र प्युठान गोठीबाङकी सम्झना किताब थन्क्याएको धेरै पछिसम्म पनि मनमस्तिष्कबाट हट्दैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?