+
+
Shares
पुस्तक समीक्षा :

समाजवाद कहिल्यै आउँदैन

नयाँ चिन्तन गर्न चाहनेले ‘समाजवाद’ नामको शब्दमोह त्याग गर्नैपर्दछ। तर यो शब्दमोह मात्र होइन, यो त निर्धारणवादी चिन्तनको भ्रमजाल हो। यो भ्रमजालबाट बाहिर आउँदा मात्र चिन्तनमा मौलिकता दिन सकिन्छ।

मोहन तिम्सिना मोहन तिम्सिना
२०८३ असार २० गते १७:०२

फागुन २१ को चुनावी पराजयपछि नेपालका कांग्रेस–कम्युनिस्टहरू ठूलो सङ्कटमा फसेका छन्। जनमत त स्वाहा भयो नै, उनीहरूभित्र आन्तरिक कलह पनि गहिरो बन्दै गएको छ। तैपनि फेरि उनीहरू ‘कसरी शक्ति हासिल गर्ने’ भनेर उपाय खोज्न थालेका छन्। वाम एकता, पार्टी एकता, वाम–लोकतान्त्रिक गठबन्धन जस्ता पदावलीमाथि चर्चा हुन थालेको छ। फेरि ‘समाजवाद’ बारे व्याख्या-विश्लेषण हुन थालेको छ।

त्यसो त नेपालमा अहिले ‘समाजवादी’ बन्ने फेसन नै चलेको छ। नेपालको संविधानमा नै ‘समाजवादोन्मुख’ पदावली छ। नयाँ–पुराना सबै खाले राजनीतिक समूह समाजवाद शब्दमा अनेक फुर्को जोड्दै गौरवका साथ आफूलाई समाजवादी घोषणा गरिरहेका छन्। जस्तो कि- प्रजातान्त्रिक–समाजवादी, पर्यावरणीय–समाजवादी, हरियो–समाजवादी, संवैधानिक–समाजवादी, सामुदायिक–समाजवादी, समुन्नत–समाजवादी आदि।

‘पुराना नेताले समाजवाद ल्याएनन्, बेइमानी गरे, अब हामी ल्याउँछौं’ भन्दै अनेक खालका पात्रहरू दैनिक भाषण गरिरहेका छन्। ‘समाजवादबारे नयाँ व्याख्या जरूरी छ’ भन्दै केही विद्वानहरू पुस्तक प्रकाशन गरिरहेका छन्। तर संविधानको ‘समाजवादोन्मुख’ पदावलीले के अर्थ दिन्छ ? कसैलाई थाहा छैन। समाजवादमा पुगिसकेपछिको नेपाली समाजको चित्र कस्तो हुन्छ ? कसैले बताउँदैन।

रोचक कुरा त के छ भने, यो अस्पष्टताका पछाडि कसैको वैयक्तिक दोष छैन। स्वयं समाजवादी अवधारणा नै यसको दोषी हो। वास्तवमा अमूक नेताको बेइमानीका कारणले समाजवाद नआएको होइन, समाजवाद ल्याउन नै सम्भव नभएर नआएको हो। जे-जे फुर्को जोडे पनि संसारमा समाजवाद कहिल्यै आउँदैन। समाजवाद स्वयंमा अस्पष्ट, अव्यावहारिक र अवैज्ञानिक विचार हो।

यो तथ्य ठम्याउन नसक्दा धेरै नेता तथा विद्वानहरू चिन्तनको भुलभुलैयामा फसेका छन्। लेखक सोमत घिमिरे यस सन्दर्भका एक प्रतिनिधि पात्र हुन्। लेखकको ‘सामुदायिक–समाजवाद’ (२०८१) पुस्तक प्रकाशित छ। यो आलेख घिमिरेको पुस्तककै वरिपरि केन्द्रित छ।

अवैज्ञानिक समाजवाद

उन्नाइसौं शताब्दीसम्म निर्धारणवादी सोचलाई नै वैज्ञानिक चिन्तन मानिन्थ्यो। आज यसैलाई अवैज्ञानिक मानिन्छ। मार्क्सवाद–समाजवाद सम्बन्धी विचार निर्धारणवादी सम्प्रदायमा आबद्ध छ। यसकारण समाजवादी विचारलाई अवैज्ञानिक भनिएको हो।

खास ‘कारण’ ले खास ‘परिणाम’ पैदा गर्दछ भन्ने विश्वास नै निर्धारणवाद हो। निर्धारणवादीले ‘प्रक्रिया’ र ‘गन्तव्य’ मा भेद गर्दछन्। समाजलाई सचेतन प्रयासबाट निर्देशित गर्न सकिन्छ भन्ने मान्दछन्। मार्क्सवादी निर्धारणवादका विशेषता पनि यिनै हुन्। मार्क्सवादले भन्छ– समाज भनेकै आधार र उपरिसंरचनाको खेल हो। खास प्रक्रिया (क्रियाकलाप) ले खास परिणाम (गन्तव्य) निर्धारण गर्दछ। आर्थिक प्रणाली समाजको जग (आधार) हो, यसैले सामाजिक सत्ता (उपरिसंरचना) को चरित्र निर्धारण गर्दछ।

लेखकले आफ्नो पुस्तकमा समाजवादका नाममा भएका कम्युनिस्ट अभ्यासको आलोचना गरेका छन्। अनि समाजवाद शब्दको अगाडि ‘सामुदायिक’ फुर्को जोडेर ‘म अर्कै खालको समाजवादी हुँ’ भन्ने देखाउन खोजेका छन्। तर व्यवहारमा लेखक निर्धारणवादी चिन्तनको ढाँचाभन्दा बाहिर आउन सकेका छैनन्।

लेखकको बुझाइमा समाजवाद भन्ने एउटा पवित्र ढाँचा छ, हामीले त्यहाँ पुग्ने हो। पुस्तकमा त्यस्तो पवित्र समाजवादमा पुग्न गर्नुपर्ने थुप्रै क्रियाकलापको वर्णन छ। ती क्रियाकलाप सम्पन्न भएपछि समाजवाद आउँछ भन्ने लेखकको बुझाइ छ।

यथार्थमा लेखकले भनेका क्रियाकलाप सम्पन्न हुनेबित्तिकै उनको बुझाइको समाजवाद आउँछ भन्ने कुनै ग्यारेन्टी हुँदैन। कारण, समाजमा त एउटै क्रियाकलापले पनि बहुआयामिक परिणाम पैदा गर्न सक्छ। तर लेखक ‘ठोस कारणले ठोस परिणाम दिन्छ’ भन्ने निर्धारणवादी चिन्तनमा विश्वास गर्ने भएकाले यो अपेक्षा गर्दछन्।

लेखकको चिन्तनमा ‘प्रक्रिया’ र ‘गन्तव्य’ बीच स्पष्ट विभाजन छ। यद्यपि, गन्तव्य अस्पष्ट छ। अर्थात्, लेखकका लागि समाजवाद भनेको रेलको डब्बा जस्तो निश्चित संरचना हो, गन्तव्य हो, जुन त्योभन्दा पूर्ववर्ती डब्बालाई पार गर्दा आइपुग्छ। हालको काम पूर्ववर्ती डब्बा पार गर्न अनेक क्रियाकलाप गर्ने हो। तर लेखकले समाजवादी डब्बा कस्तो हुन्छ भन्नेबारे बोलेका छैनन्। अर्थात्, दीर्घकालीन परिणाम (आउटकम) देखाएका छैनन्, पूर्ववर्ती क्रियाकलापको सूची मात्र प्रस्तुत गरेका छन्।

लेखक इतिहास र भविष्यबारे पनि मौन छन्, जुन राजनीतिक विचारको अभिन्न अङ्ग हो। जसले वैज्ञानिक समाजवाद भन्यो, यसको त एउटा रेखीय–निर्धारणवादी प्याकेज छ। प्याकेजले धेरै कुरा भन्छ। जस्तो कि यसले भन्छ– समाजको इतिहास र भविष्य बोधगम्य छ। सामाजिक विश्लेषणबाट यो विषय जान्न सकिन्छ। समाजको गति गणितीय हिसाबले अघि बढ्छ, जसलाई क्रिया र प्रतिक्रियामा आधारित न्युटनीय नियमबाट विश्लेषण गर्न सकिन्छ। इतिहासलाई चलायमान बनाउने मूल तत्त्व आर्थिक हो। आर्थिक आधारले उपरिसंरचना निर्धारण गर्दछ।

भौतिक सुख–सुविधाले पूर्ण गरियो भने मानिस सुखी हुन्छ। आवश्यकता पूरा भएपछि मात्र स्वतन्त्रताको पालो आउँछ। असभ्यता–बर्बरता–सभ्यताको रेखीय परिपथ भएर इतिहास आजसम्म आएको हो। ३०० वर्षअघिसम्म विज्ञान थिएन। विज्ञानको सुरुआत युरोपेलीले गरेका हुन्। युरोपेलीले अरू ‘असभ्य’ जातिलाई पनि ‘सभ्य’ बनाएका हुन्। समाजवादभन्दा अगाडि क्रमशः पूँजीवाद, सामन्तवाद, दासयुग र आदिम साम्यवाद थियो। समाजवादभन्दा पछाडि साम्यवाद छ। समाजवाद एउटा अस्थायी बिसौनी मात्र हो।

एक दिन यस्तो अवस्था आउनेछ, सम्पत्ति सबै सामूहिक हुनेछ, निजी धन उन्मूलन हुनेछ। अझ अगाडि बढ्दा राज्यहरू नै लोप हुनेछन् र संसारमा पुनः साम्यवाद आउनेछ। त्यो बेला बल्ल मानव जाति मुक्त (स्वतन्त्र) हुनेछ।

समाजवादी विचार त यहाँसम्म विस्तार हुन्छ। लेखक यहाँसम्म आउन चाहँदैनन्, तर ‘समाजवादमा पुग्ने’ भन्न पनि छोड्दैनन्। त्यसैले लेखकको विचार अधुरो र अस्पष्ट छ।

अव्यावहारिक समाजवाद

इतिहासमा समाजवाद भन्नेबित्तिकै त्यसले दुई खालका सम्प्रदायलाई बुझाउँथ्यो। एकथरी काल्पनिक समाजवादी र अर्कोथरी मार्क्सवादी समाजवादी। यी दुई सम्प्रदाय बीचको मुख्य भिन्नता लक्ष्यमा होइन, त्यस लक्ष्यमा पुग्ने विधिमा थियो। काल्पनिक समाजवादीहरू समाजवादको स्थापना, नैतिक आग्रह, मानवीय सद्भाव, दान, सहयोग तथा धनी वर्गको विवेक जागृत गराएर सम्भव हुन्छ भन्ने विश्वास राख्थे। वैज्ञानिक समाजवादीहरूले भने वर्गसङ्घर्ष, राजनीतिक शक्ति र क्रान्तिकारी प्रक्रिया मार्फत मात्र सम्भव हुन्छ भन्दथे।

चलनचल्तीका समाजवादीहरू कसैले पनि ‘म काल्पनिक समाजवादी हुँ’ भनेका छैनन्। त्यसैले जुनसुकै फुर्को जोडे पनि उनीहरूको वैचारिक धारा मार्क्सवादी नै हो। कम्युनिस्ट दलमा कार्यरत व्यक्तिहरू यो कुरा खुलेआम स्वीकार गर्दछन्। तर केही विद्वान्‌हरू चाहिं अनौठो कुरा गर्दछन्। उनीहरू भन्दछन्– ‘समाजवाद मान्छु, मार्क्सवाद मान्दिनँ।’ लेखक यही कोटिमा पर्दछन्।

जसले ‘मार्क्सवाद र समाजवाद दुवै मान्छु’ भन्दछ, उसको बारेमा केही भन्नु परेन। यो उसको स्वतन्त्र छनोटको अधिकारभित्रको कुरा भयो। तर जसले ‘समाजवाद मान्छु, मार्क्सवाद मान्दिनँ’ भन्दछ, यो हास्यास्पद कुरा हो। यो त पद्धति–विज्ञान मान्दिनँ, त्यसले सिफारिस गरेको समाधान–सूत्र मात्र मान्दछु भनेको हो। यसको अर्थ ‘वृक्षको जरालाई मान्दिनँ, त्यसको पातलाई मात्र मान्दछु’ भने जस्तै हो। मूलतः यो वैचारिक विभ्रम हो। समाजवाद मान्नेबित्तिकै त्यसको पद्धति–विज्ञान (मार्क्सवाद) जोडिएरै आउँछ। लेखकको लेखनमा यो प्रकट भएकै छ।

तैपनि किन लेखक ‘समाजवाद मान्छु, मार्क्सवाद मान्दिनँ’ भन्छन् ? यसको मूल कारण, मार्क्सवादी विचारको अव्यावहारिकता बोध भएर नै हो। लेखकलाई यो बोध भएको छ कि निजी धन निषेध हुन नसक्ने रहेछ। समाजवादको मूल कन्टेन्ट (विषयवस्तु), समर्थन नै गर्न नसकिने, अव्यावहारिक रहेछ।

यदि यसो हो भने त लेखकले समाजवादी विचारकै विकल्प खोज्नुपर्ने हो। तर लेखक फेरि पनि समाजवादकै वकालत गर्दछन्। किन ? किनकि लेखक निर्धारणवादी चिन्तनको ढाँचाभन्दा बाहिर छैनन्। उनलाई मार्क्सवादी–समाजवादी विचारभित्रको समस्या ‘चिन्तनगत’ होइन, ‘संरचनागत’ (प्राविधिक) हो भन्ने भ्रम छ। त्यसैले अलि-अलि संरचना (सामाजिक–प्रविधि) फेरबदल गर्‍यो भने त समाजवादी–निर्धारणवादी विचारले नै काम गर्छ भन्ने उनको ठम्याइ हो। यसरी हेर्दा लेखकको ‘सामुदायिक–समाजवाद’ पुरानै विचारको निरन्तरता हो।

अस्पष्ट समाजवाद

उदारवाद वा समाजवाद, दुवै विचार, राष्ट्र–राज्यलाई सपाट अर्थ–राजनीतिक एकाइका रूपमा बुझ्ने सङ्कीर्ण दृष्टिकोण हुन्। यो दृष्टिकोणले राजनीतिक चिन्तनको मूल विषय सुरुआतबाट नै छुटाउँछ, त्यो हो– हरेक समाज आफैंमा मौलिक र सार्वभौम अस्तित्व हो। मुक्ति, समृद्धि वा स्वतन्त्रताको परिभाषा सम्बन्धित समाजको मौलिक मूल्यमान्यताको सापेक्षतामा निर्मित हुन्छ।

समाजवादीहरू यो मूल विषयबाट पर हटेर केवल एउटै कुरामा केन्द्रित हुन्छन्– पूँजीवादी निजीकरणका विरुद्ध शक्ति र सम्पत्तिलाई सामुदायिकीकरण गर्नुपर्दछ। यसरी शक्ति र सम्पत्तिको सामुदायिकीकरण गर्दा वर्गीय समस्या र आजको वैश्विक सङ्कट समाधान हुन्छ।

लेखकले समाजवाद शब्दको अगाडि ‘सामुदायिक’ नामको फुर्को जोडेर यही आशय व्यक्त गरेका हुन्। अर्थात् उनको आशय हो– समाजवादका नाममा विगतमा शक्ति र सम्पत्ति केन्द्रीकृत गरियो, पर्यावरण संवेदनशीलता देखाइएन। अब शक्ति र सम्पत्तिको सामुदायिकीकरण गर्नुपर्दछ, विकासका क्रियाकलापमा पर्यावरणीय संवेदनशीलता राख्नुपर्दछ। यति गरियो भने नयाँ खालको समाजवाद आउँछ, आजको वैचारिक सङ्कट पनि समाधान हुन्छ।

यथार्थमा सम्पत्तिको स्वामित्व प्रणाली परिवर्तन गर्दैमा राज्यसत्ताको चरित्रमा परिवर्तन आउँदैन। उत्पादन र सङ्ग्रहका दृष्टिले समाजवाद भनेको राज्य पूँजीवाद वा सामुदायिक पूँजीवाद नै हो। जेलाई समाजवाद भनिन्छ, त्यहाँ सम्पत्ति संस्थाको स्वामित्वमा जान्छ। संस्थाको नेतृत्व व्यक्तिले नै गर्दछ। यसरी अन्ततः समाजवादमा पनि व्यक्ति नै हावी हुन्छ।

अझ समाजवादमा त जनतालाई मुक्ति दिने ‘राजनीतिक ठेकेदार’ हुन्छन्। तिनीहरूको ढोङ र पाखण्ड त झन् खपिनसक्नुको हुन्छ। सामूहिक प्रणालीमा व्यक्ति कसरी हावी हुन्छन् भन्ने उत्तम उदाहरण नेपालका सहकारी काण्ड हुन्। यसको सार, समाजवाद र पूँजीवाद तात्त्विक दृष्टिले एउटै हुन्। पूँजीवाद जति घातक छ, समाजवाद त्यति नै घातक हो।

आजको जमानामा समुदाय भनेको राज्यको स्थानीय एकाइ हो। राज्य भनेको समुदायको केन्द्रीकृत एकाइ हो। यी अवयव परिपूरक छन्। आजको सामाजिक विभेद र वैश्विक सङ्कट स्वामित्व प्रणालीको कमजोरीका कारणले मात्र पैदा भएको होइन। मूल कारण त राजनीतिको गलत दृष्टिकोण र मूल्यमान्यता हो।

एकदम सङ्क्षिप्तमा भन्दा, समाजको स्थानीय मौलिकता स्वीकार नगर्ने, सबै खाले समाजलाई एउटै (अर्थ–राजनीतिक) आँखाले हेर्ने प्रवृत्ति सङ्कटको एउटा कारक हो। प्रकृति निर्जीव भौतिक वस्तु हो, यसलाई जति सकिन्छ दोहन गर्नुपर्दछ भन्ने मान्यता सङ्कटको दोस्रो कारक हो। सम्पत्ति जति बढायो, त्यति धेरै मानवीय सुख हासिल हुन्छ भन्दै असीमित वृद्धिको वकालत गर्नु सङ्कटको तेस्रो कारक हो। पूँजीवाद होस् वा समाजवाद, यो विषयमा समान छन्।

नेपालका उदारवादी र समाजवादी राजनीतिकर्मीले यस्तै यान्त्रिक विचारको पछाडि कुदेर नेपाललाई पराधीन बनाएका हुन्। ‘समुदायलाई शक्तिशाली बनाउनुपर्दछ’ भन्ने लेखकको धारणा पनि अर्थ–राजनीतिक दृष्टिकोणमै सीमित छ। यसको सार, लेखकले पनि पुरानै यान्त्रिक विचारलाई नै मलजल गरिरहेका छन्।

नेपाली समुदायको मौलिक जीवन पद्धति र विश्वदृष्टिकोण त उनीहरूको आ–आफ्नो धर्मद्वारा निर्देशित छ। नेपाली समुदायको पहिचानको मूल स्रोत नै धर्म हो। तर लेखक समुदायको धर्मलाई युरोप–केन्द्रित आँखाले हेर्दछन्, धर्मबारे कुरै गर्दैनन्। अनि बढीमा ‘समुदायको संस्कृति जोगाउनुपर्छ’ भन्दछन्। परिणामतः लेखकको ‘सामुदायिक–समाजवाद’, मार्क्सवादी समाजवादकै नयाँ संस्करणका रूपमा प्रकट भएको छ।

अन्त्यमा; लेखकले पुस्तकको धेरै ठाउँमा समुदायबाट सिक्नुपर्ने कुरा गरेका छन्। जस्तो कि– कृषि नीति, प्राकृतिक स्रोत व्यवस्थापन, जङ्गल व्यवस्थापन, शिक्षा नीति र शैक्षिक संस्था व्यवस्थापन, विकास दृष्टिकोण, स्वास्थ्य नीति, खानेपानी व्यवस्थापन, भूमि नीति, सामुदायिक परम्पराको संरक्षणदेखि शासन प्रणालीसम्ममा लेखकले समुदायलाई केन्द्रमा राखेर सोच्न र समुदायबाट सिक्न जोड गरेका छन्। यस विषयमा लेखकले एकदमै मसिनो गरी कुरा गरेका छन्। लेखकको पुस्तकको सबल र शक्तिशाली पाटो यही हो।

लेखकका माथिका धारणाले एउटा स्वाभाविक निष्कर्ष दिन्छ– अब समुदायले कथित समाजवादतिर जाने होइन, समाजवादीहरूले चाहिं ‘सामुदायिक–समाज’ तर्फ फर्कनुपर्दछ। अनि लेखकको पुस्तकको नाम पनि ‘सामुदायिक–समाजवाद’ होइन, ‘सामुदायिक–समाज’ राख्नु उपयुक्त हुन्छ। तर लेखकको व्यावहारिक अभिमुखीकरण भने यसको ठिक उल्टो छ।

वास्तविक व्यवहारमा लेखक समुदायबाट सिक्ने होइन, समुदायलाई सिकाउन चाहन्छन्। त्यसैले, पुस्तकमा ठाउँ–ठाउँमा ‘समाजवादमा पुग्ने’ उपायमा जोड गर्दछन्। यो लेखकको पुस्तकको विरोधाभास हो।
समाजवाद पदावली, व्यक्तिवाद पदावली जति नै गलत हो। व्यक्तिवादको अर्थ समाज र व्यक्तिमध्ये ‘व्यक्तिको महत्त्व उच्च छ’ भन्ने हो। समाजवादको अर्थ यसको ठिक उल्टो, व्यक्ति र समाजमध्ये ‘समाजको मूल्य उच्च छ’ भन्ने हो।

यथार्थमा व्यक्ति र समाज, निजत्व र सामूहिकता परिपूरक हुन्छन्। व्यक्ति विना समाज हुँदैन, समाज विना व्यक्ति पनि हुँदैन। व्यक्ति र समाज, निजी धन र सामूहिक धन संयुक्त अस्तित्व हुन्। यिनीहरू एकले अर्कोलाई निषेध गर्नै सक्दैनन्। रहँदा दुवै सँगै रहन्छन्, नरहँदा दुवै रहँदैनन्। त्यसैले, व्यावहारिक र जरुरी कुरा त, निजत्व र सामूहिकताको गतिशील सन्तुलन मिलाउने हो, सभ्यताको सापेक्षतामा उन्नति र प्रगतिको परिभाषा गर्ने हो।

जसले यो रहस्य बुझ्छ, उसको समाज अपेक्षाकृत दिगो हुन्छ। जस्तो कि चीन, भियतनाम, क्युवाले थोरै भए पनि यो तथ्य बोध गरेका छन्। जसले यो रहस्य बुझ्दैन उसको समाज टिक्दैन, जस्तो कि सोभियत सङ्घ, भारत जस्ता देशमा यही भयो।

मार्क्सले भनेका थिए– पूँजीवादले आफ्नो चिहान खन्ने जनशक्ति आफैं जन्माउँछ। माथिको चर्चाले सङ्केत गरिसक्यो– समाजवादले पनि आफ्नो चिहान खन्ने जनशक्ति आफैं पैदा गर्दछ। यसकारण समाजवाद आउँदैन, आइहाले पनि टिक्दैन।

अहिलेको नेपालमा समाजवादको कुरा गर्दा, मात्र कांग्रेस–कम्युनिस्ट खुसी हुन्छन्। यसबाट सामाजिक परिवर्तनमा केही योगदान हुँदैन। नयाँ चिन्तन गर्न चाहनेले ‘समाजवाद’ नामको शब्दमोह त्याग गर्नैपर्दछ। तर यो शब्दमोह मात्र होइन, यो त निर्धारणवादी चिन्तनको भ्रमजाल हो। यो भ्रमजालबाट बाहिर आउँदा मात्र चिन्तनमा मौलिकता दिन सकिन्छ।

राष्ट्र–राज्यलाई हेर्ने अर्थ–राजनीतिक दृष्टिकोणबाट सर्वाङ्गीण तथा जैविक दृष्टिकोणतर्फको सङ्क्रमण नै अबको अन्तिम विकल्प हो। लेखकले अब यतातिर ध्यान दिने हो कि ?

लेखक
मोहन तिम्सिना

लेखक वैकल्पिक विचार र जैविक दर्शनको विषयमा कलम चलाउँछन् । उनको नियमित स्तम्भ 'मन्थन' प्रकाशित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?