+
+
Shares

सडक दुर्घटनाको ‘हटस्पट’मा ट्रमा सेन्टर खोल्न भवन बन्यो, सञ्चालनमा आएन

पछिल्लो तीन वर्षमा बैतडीमा भएका ३४ सवारी दुर्घटनामा ४७ जनाले ज्यान गुमाए । १२७ जना घाइते भए । कतिपय घाइतेले समयमै उपचार नपाउँदा ज्यान गुमाएका छन् ।  

कृष्ण बिष्ट कृष्ण बिष्ट
२०८३ असार २० गते १८:३१

२० असार, बैतडी । बैतडीको पाटन नगरपालिका–८ सिद्धेस्वर स्वास्थ्य चौकी परिसरमा निर्माण गरिएको ट्रमा सेन्टर चार वर्षदेखि सञ्चालनमा आउन सकेको छैन । दुर्घटना र विपद्का घाइतेलाई तत्काल उपचार उपलब्ध गराउने उद्देश्यले निर्माण गरिएको ट्रमा सेन्टर सञ्चालनमा ढिलाइ हुँदा यस क्षेत्रमा हुने विभिन्न दुर्घटनाका घाइतेहरूले समयमै उपचार नपाएर ज्यान गुमाइरहेका छन् ।

गत पुस २८ गते पाटन नगरपालिका–८ विजयपुरमा भएको जिप दुर्घटनामा सिगास गाउँपालिका–१ की २७ वर्षीया बसन्ती ऐर गम्भीर घाइते भएकी थिइन् । स्थानीयवासी र प्रहरीले तत्काल उद्धार गरे पनि उनलाई डडेलधुरा अस्पताल  पुर्‍याउन करिब दुई घण्टा लाग्यो । अस्पताल पुगेको आधा घण्टापछि उनको मृत्यु भयो ।

मृतकका आफन्त जगदीश ऐरका अनुसार अस्पतालले थोरै समयअघि मात्रै उनले उपचार पाएको भए ज्यान जोगिनसक्ने बताएको थियो । ‘सायद त्यो बेला यो ट्रमा सेन्टर सञ्चालनमा भएको भए उहाँको ज्यान जोगिन्थ्यो होला,’ उनी भन्छन् ।

उनले भनेजस्तै उक्त दुर्घटनास्थल र ट्रमा सेन्टर स्थापना गर्न बनाइएको भवन रहेको स्थानको दूरी चार किलोमिटर मात्रै थियो ।

शुक्रबार पाटन नगरपालिका–८ गैराखानमा बस दुर्घटना भयो । धन्न यो दुर्घटनामा हालसम्म कसैको ज्यान गएको छैन । तर, घाइतेमध्ये पाँच जनालाई धनगढी रिफर गर्नुपरेको छ । १७ जनाको उपचार सिद्धेस्वर स्वास्थ्य चौकीमै गरिएको छ ।

यसअघि बैतडीको पुर्चौडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको थियो, ४९ जना घाइते भएका थिए । उनीहरूलाई डडेलधुरा अस्पताल पुर्‍याउन चार घण्टाभन्दा बढी समय लागेको थियो ।

ट्रमा सेन्टर बनाउने भनिएकै ठाउँ नजिकै तीन वर्षअघि गोकुलेश्वरबाट महेन्द्रनगर जाँदै गरेको बस दुर्घटना हुँदा ८ जनाको मृत्यु र २२ जना घाइते भएका थिए ।

जोखिम क्षेत्रलाई हेरेर ट्रमा सेन्टर, तर सञ्चालन हुन्न

बैतडीको खोडपे क्षेत्रलाई सवारी दुर्घटनाको उच्च जोखिमयुक्त क्षेत्र मानिन्छ । यही कारण तत्काल उपचार उपलब्ध गराउने उद्देश्यले २०७९ मा पाटन नगरपालिकाको १० लाख र संघीय सरकारको ५० लाख रुपैयाँ गरी ६० लाख रुपैयाँको लागतमा ट्रमा सेन्टर स्थापना गर्ने भन्दै सिद्धेश्वरमा भवन निर्माण गरिएको थियो ।

भवनसँगै स्पाइनल ब्याकबोर्ड, एईडी मेसिन, अक्सिजन कन्सन्ट्रेटर, प्यासेन्ट मोनिटर र १५ वटा बेडसिटलगायतका सामग्री पनि राखिएका छन् । तर, आवश्यक थप उपकरण र जनशक्तिको व्यवस्थापन भने हुन सकेको छैन ।

पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराका अनुसार एक्सरे मेसिन, अर्थोपेडिक चिकित्सक, रेडियोग्राफर, स्टाफ नर्स र हेल्थ असिस्टेन्टको व्यवस्था भए ट्रमा सेन्टर तत्काल सञ्चालन गर्न सकिन्छ ।

पाटन नगरपालिका–८ का वडाध्यक्ष हरिश विष्टले आवश्यक उपकरण र जनशक्ति व्यवस्थापनका लागि प्रदेश सरकारसँग पटकपटक लिखित तथा मौखिक रूपमा आग्रह गरेपनि सुनुवाइ नभएको बताउँछन् ।

‘मुख्यमन्त्रीदेखि सामाजिक विकास मन्त्रीसम्मलाई पटकपटक जानकारी गराएका छौं ।, तर अहिलेसम्म कुनै ठोस पहल भएको छैन,’ उनी भन्छन् ।

वडाध्यक्ष विष्ट गतवर्ष सुदूरपश्चिम प्रदेश सरकार मुख्यमन्त्री कमलबहादुर शाहलाई भेटेरै ट्रमा सेन्टर सञ्चालनमा ल्याइदिन ज्ञापनपत्र बुझाएको बताउँछन् । ‘तर, हालसम्म सुनुवाइ भएन । नगरपालिकाको आफ्नै हैसियत छैन,’ उनले थपे ।

प्रहरीका अनुसार पछिल्ला तीन वर्षमा बैतडीमा ३४ वटा सवारी दुर्घटना भएका छन् । यस अवधिमा भएका दुर्घटनामा परी ४७ मृत्यु भएको छ, भने १२७ जना घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?