News Summary
Generated by OK AI. Editorially reviewed.- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पारदर्शी नभएको भन्दै भन्सार विभाग मातहत २ सय ७२ अधिकृत र नायबसुब्बाको सरुवा रद्द गर्न निर्देशन दिएका छन् ।
- भन्सार विभागले २० कात्तिकमा गरेको ६९ अधिकृत र २ सय ३ नायबसुब्बाको सरुवा सोमबार लिखित निर्देशनपछि रद्द गरेको छ ।
- मन्त्रालयले प्रविधिमैत्री प्रणालीका आधारमा नयाँ सरुवा गर्ने र अपारदर्शी सरुवाबारे आन्तरिक छानबिन सुरु गरेको छ ।
१ मंसिर, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको निर्देशनपछि भन्सार विभाग मातहत २ सय ७२ अधिकृत र नायबसुब्बा (नासु) को सरुवा रद्द भएको छ ।
भन्सार विभागले २० कात्तिकमा ६९ अधिकृत र २ सय ३ नायबसुब्बाको विभाग अन्तर्गतका कार्यालयहरूमा सरुवा गरेको थियो ।
तर, सरुवा पारदर्शी नभएको भन्दै उजुरी परेपछि अर्थमन्त्री वाग्लेले सबै तहको सरुवा रद्द गर्न सोमबार निर्देशन दिएका थिए ।
‘सरुवा पारदर्शी र न्यायोचित नभएको भन्ने गम्भीर सूचना र उजुरी प्राप्त भएका कारण तत्काल उक्त सरुवा निर्णय रद्द गर्नू,’ अर्थमन्त्रीले मन्त्रालय र विभागको नेतृत्वलाई भने, ‘पारदर्शी र प्रविधिमैत्री प्रणाली विकास गरेर नयाँ विधिबाट सरुवा गर्नू ।’
अर्थमन्त्रीको निर्देशनपछि सोमबार नै निमित्त अर्थ सचिव डा. सुमन दाहालले सरुवा निर्णय रद्द गर्न भन्सार विभागलाई लिखित पत्राचार गरेका थिए । त्यसपछि भन्सार विभागले सरुवा रद्द गरेको हो ।
मन्त्रालयको लिखित निर्देशनपछि २० कात्तिकमा सरुवा भएका ६९ अधिकृत र २ सय ३ नायबसुब्बाको सरुवा रद्द भएको भन्सार विभागले जनाएको छ ।
अब मन्त्रालयले विकास गर्ने प्रविधिमैत्री प्रणाली टेकेर मापदण्डका आधारमा विभागले नयाँ सरुवा गर्ने छ । साथै, सरुवा अपारदर्शी भएको सन्दर्भमा छानबिन गर्न पनि अर्थमन्त्री वाग्लेले मन्त्रालयका उच्च अधिकारीहरूलाई निर्देशन दिएका छन् । मन्त्रालयले यस सन्दर्भमा आन्तरिक छानबिन समेत सुरु गरेको छ ।
प्रतिक्रिया 4