+
+
Shares

स्थानीय र प्रदेश चुनाव एकै पटक कि फरक-फरक मितिमा ?

एक ठाउँ छैनन् दलहरू

सत्तारुढ रास्वपाले स्थानीय र प्रदेश चुनाव एकैपटक गर्ने प्रस्ताव ल्याउँदै गर्दा विपक्षीहरु भने एक ठाउँ छैनन् । संवैधानिक व्यवस्था पछ्याउने कि राजनीतिक आवश्यकता अनुसार चुनाव मिति तय गर्ने भन्नेमा दलहरुबीच समझदारी बन्न बाँकी छ ।

लिलु डुम्रे लिलु डुम्रे
२०८३ मंसिर ७ गते ८:३०

६ मंसिर, काठमाडौं । सत्तारुढ रास्वपा प्रदेश र स्थानीय तहको चुनाव एकैसाथ गर्ने पक्षमा उभिएको छ । दुई विपक्षी वाम दल एमाले र नेकपाले संवैधानिक व्यवस्था अनुसार यी दुई चुनाव फरक फरक मितिमा हुनुपर्ने अडान लिँदै गर्दा प्रमुख प्रतिपक्षी कांग्रेस चाहिँ रास्वपाको धारणासँग नजिक देखिएको छ ।

राप्रपा सत्तारुढ दल रास्वपाकै लाइनमा उभिएको छ भने श्रम संस्कृति पार्टी अझै छलफलमै छ ।

जेठ पहिलो साता स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिँदैछ भने प्रदेश सभा सदस्यको पदावधि आगामी मंसिरमा पहिलो साता सकिने छ । स्थानीय तह निर्वाचन ऐन २०७३ अनुसार, दुई महिनाअघि निर्वाचन गर्नुपर्ने कानूनी व्यवस्था छ ।

उक्त कानूनको पालना गर्दा चैतको पहिलो सातासम्म स्थानीय तहको चुनाव हुनुपर्दछ । स्थानीय र प्रदेश सभा सदस्यको चुनाव गर्ने हो भने ३० फागुनमा स्थानीय तहको निर्वाचन हुनुपर्छ । दुई तहका जनप्रतिनिधिको कार्यकाल सकिने अन्तराल कम्तिमा पनि छ महिना छ ।

स्थानीय र प्रदेशको चुनाव सँगसँगै गर्नुपर्ने र एक साथ गर्न नहुनेमा दलहरुका आ–आफ्ना तर्क छन् । सत्ता पक्षले चुनावी खर्च, निरन्तर चुनाव हुँदा सरकारको काम कारबाहीमा पार्ने असर लगायतले एकैपटक चुनाव हुनुपर्ने तर्क राखेको छ । २०८४ सालमा स्थानीय र प्रदेशको चुनावका अतिरिक्त राष्ट्रिय सभा, राष्ट्रपति, उपराष्ट्रपति लगायतका पदमा चुनाव गर्नुपर्ने हुन्छ ।

रास्वपाका प्रवक्ता जगदिश खरेल स्थानीय र प्रदेशको चुनाव एकैपटक गर्नुपर्ने तर्क अघि सार्दै भन्छन्,‘चैतमा स्थानीय, मंसिरमा प्रदेश सभा सदस्यका लागि, माघतिर राष्ट्रिय सभा सदस्य, त्यसपछि राष्ट्रपति, उपराष्ट्रपतिको चुनाव हुँदा हाम्रो ध्यान वर्षैभरि चुनावमा जाने भयो ।’

लगातार चुनाव हुँदा त्यसले सरकारको विकास खर्चमा पर्ने प्रभावको समेत विश्लेषण गरिएको छ । फरक फरक समय चुनाव गर्दा आचार संहिताका कारणले सरकारले गर्नुपर्ने निर्णयहरु समेत थाती रहने हुँदा एकैपटक चुनाव गर्नुपर्ने दृष्टिकोण सत्तापक्षको छ ।

सामान्यतयाः मतदान भन्दा ४५ दिनअघि आचारसंहिता लगाउने प्रचलन छ । फरक फरक समयमा चुनाव हुँदा तीन महिना (४५–४५ दिन गरी) संघीय सरकारले निर्णयहरु नगरी बस्नुपर्ने हुन्छ ।

‘चुनाव लागेको एक डेढ महिना अगाडि त ठूला ठूला खर्च गर्न पाइँदैन । बजेटहरुको विनियोजनमा कयौँ कुराहरुमा समस्या पर्छ । मंसिरमा चुनाव हुने भए असोजदेखि निर्णय लिन मिलेन,’ रास्वपा प्रवक्ता खरेल भन्छन्,‘उसै हामीले विकास खर्च गर्न सकिरहेका छैनौँ । वर्षैभरि चुनाव भयो भने विकास खर्च कसरी गर्ने ? संविधानको मर्म नमेटिने गरी र राष्ट्रिय सहमति जुट्यो भने एकैपटक निर्वाचन गर्न सकिने विकल्प छ ।’

एकैपटक चुनाव गर्दा खर्चमा उल्लेखनीय कमी हुने सत्ता पक्षको बुझाई छ । २०७९ बैशाख ३० गते भएको स्थानीय तहको चुनावमा ११ अर्ब बढी खर्च भएको थियो । त्यही वर्ष प्रतिनिधि र प्रदेश सभा सदस्यको चुनाव एकसाथ हुँदा १६ अर्ब बढी खर्च भएको थियो । स्थानीय र प्रदेशको चुनावसँगै गर्दा सरकारी खर्च घट्ने सरकारी पक्षको भनाई छ ।

चुनावी खर्चकै कारणले एकैपटक चुनाव गर्नुपर्ने सत्ता पक्षको तर्कमा विपक्ष दल नेकपा भने सहमत देखिँदैन । चुनावी खर्चको कारण देखाएर संविधान विपरित कार्य गर्न नहुने नेकपा नेता प्रकाश ज्वाला बताउँछन् ।

कुनै प्रदेशमा पाँच वर्ष सरकार चल्ने अवस्था नरहे र मध्यावधिमा गयो भने फरक समयमा चुनाव गर्र्नैपर्ने वाध्यता सुनाउँदै ज्वाला भन्छन्,‘प्रतिनिधि सभा वीचमा भंग भएर अहिले यो अवस्था आयो । कुनै प्रदेश सभा कुनै कारणले वीचमा विघटन भयो भने त्यो प्रदेश सभाको लागि फरक समयमा चुनाव गनैृपर्छ त ।’

सरकारले एकैपटक गर्न चाहेपनि कानुनी जटिलता छ । त्यसका लागि सरकारी पक्षले विपक्ष दलसँग संवादको प्रक्रिया अघि बढाएको छैन ।

स्थानीय र प्रदेशको चुनाव एक साथ गर्ने/नगर्नेमा सरकारले पहिले आफ्नो धारणा स्पष्ट गर्नुपर्ने प्रमुख प्रतिपक्ष दल कांग्रेसका सभापति सभापति गगन थापा बताउँछन् ।

‘यसरी सोच्न सकिन्छ कि भनेर सबैभन्दा पहिला त सरकारले भन्नु पर्‍यो । त्यसपछि हामी दलहरुका बीचमा पनि छलफल होला । राजनीतिक दलहरुको आफ्नो भित्र छलफल होला । दलहरुका बीचमा छलफल होला,’ सभापति थापा भन्छन् ।

फरक फरक समयमा चुनाव हुँदा त्यसले सबै तहका सरकारको प्रभावकारितामा असर गर्ने थापा बताउँछन् । कांग्रेस सभापति थापा भन्छन्,‘चुनाव भएपछि आचार संहिताले तिन तहका सरकार नै बाँधिन्छन् । यसले सबैभन्दा बढी प्रभाव केन्द्रीय सरकारलाई गर्छ ।’

एक साथ चुनाव गराउने हो भने संविधान र कानुनमा रहेका कठिनाई हटाउन अन्य दलसँग संवाद गर्ने मूल दायित्व सरकारको भएको थापाले बताए ।

अर्को विपक्ष दल एमाले संवैधानिक व्यवस्था अनुसार फरक फरक समयमा निर्वाचन हुनुपर्नेमा अडिग देखिन्छ । स्थानीय तहको चुनाव पर सार्नु वा प्रदेशको अघि सारेर गर्न अवस्था नरहेको एमाले उपाध्यक्ष गुरु बराल बताउँछन् ।

‘आफ्नो आफ्नो मिति पुगेपछि अलग–अलग समयमा चुनाव गर्नुपर्दछ गर्नुपर्छ,’ बरालले अनलाइनखबरसँग भने,‘राष्ट्रिय सहमति वा संविधान संशोधन गरेर एकैपटक गर्न सकिने यो कुरा होइन ।’

एमालेकै धारणासँग अर्को विपक्ष दल नेकपाको पनि दृष्टिकोण छ । दुबै तहका जनप्रतिनिधिले पाँच-पाँच वर्ष पुरा गरेपछि निर्वाचन अलग अलग समयमा हुनुपर्ने नेकपा नेता प्रकाश ज्वाला बताउँछन् । संविधान र कानुन भन्दा फरक ढंगले कार्य गरे चुनाव नहुने सम्भावना नेकपा नेता ज्वाला देख्छन् ।

नेकपा नेता ज्वालाले अनलाइनखबरसँग भने,‘बैशाखमा स्थानीय तह र मंसिरमा प्रदेश सभा सदस्यको चुनाव गराउनु पर्दछ । प्रदेशको कार्यकाल घटाउने र स्थानीय तहको कार्यकाल बढाउन संविधान र कानुनले दिँदैन ।’

प्रतिनिधि सभाको अर्को दल राप्रपा स्थानीय र प्रदेश चुनाव एकैपटक गर्नुपर्ने मान्यतामा छ । राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले फरक समयमा चुनाव हुँदा खर्च बढ्ने हुँदा एकैपटक गर्नुपर्ने तर्क राख्छन् ।

‘दुईपटक चुनाव हुँदा अनावश्यक खर्च बढ्छ । त्यत्रो खर्च धान्न सकिन्न,’ शाहीले अनलाइनखबरसँग भने,‘कानुनी जटिलता भए अध्यादेशबाट दुई तिहाइको सरकारले अप्ठ्यारो हटाए भो त ।’

श्रम संस्कृति पार्टीले स्थानीय र प्रदेशको चुनाव फरक फरक समय वा एकैपटक गर्ने विषयमा आफ्नो धारणा बनाइकेको छैन । उक्त पार्टीका महासचिव आरेन राईले पार्टीभित्र र अन्य दलहरुसँग पनि छलफल गरेर दृष्टिकोण बनाउने जानकारी गराए ।

लेखक
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?