आँखाले टुंगो लगाउन नसक्ने निलो समुद्र । समुद्रको छेउमै झकिझकाउ मण्डप । वरिपरि आफन्त र नजिकका साथीभाइ । अनि त्यही मण्डपमा नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेल ।
थाइल्यान्डको समुद्री किनारमा रोहितले प्रेमिका सिम्रन खड्कासँग लगनगाँठो कसे । आफ्नो संस्कारअनुसार विवाहका सम्पूर्ण विधि पूरा गरे । समुद्रको छालसँगै वैवाहिक जीवनको नयाँ अध्याय सुरु गरे ।
रोहितको विवाहका तस्वीर र भिडियो सार्वजनिक भएसँगै उनको वैवाहिक समारोहले धेरैको ध्यान खिच्यो । तर, रोहितको बिहेले एउटा अर्को बदलिँदो चलनतर्फ पनि ध्यान तान्यो, विवाहका लागि आफ्नो घर, आफ्नो सहर वा आफ्नै थातथलोभन्दा टाढाको मनपर्ने ठाउँ रोज्ने चलन ।
यसलाई भनिन्छ, ‘डेस्टिनेसन वेडिङ’ ।
विवाहका लागि आफूलाई मन परेको विशेष ठाउँ रोज्ने, त्यहीँ मण्डप सजाउने, आफन्त र साथीभाइलाई त्यही ठाउँमा बोलाउने अनि त्यहीँ विवाहका सम्पूर्ण विधि पूरा गर्ने शैली हो, डेस्टिनेसन वेडिङ ।
अर्थात्, विवाह केवल एक दिनको समारोह हुँदैन । विवाहसँगै एउटा यात्रा पनि जोडिन्छ । पाहुना विवाहमा सहभागी हुन अर्को ठाउँ पुग्छन् । त्यही ठाउँमा केही दिन बस्छन् । विवाहका विभिन्न कार्यक्रम हुन्छन् ।
अनि विवाह सकिँदा एउटा समारोहसँगै सँगै बिताएको समय र यात्राको सम्झना पनि जोडिन्छ ।
घरको आँगनबाट मन परेको गन्तव्यसम्म
एक समय विवाह भन्नासाथ घरको आँगन, टोलको पार्टी प्यालेस वा आफ्नै सहरको विवाहस्थल सम्झिइन्थ्यो । आफन्त र छिमेकी बोलाउने, भोज गर्ने र परम्पराअनुसार विवाह सम्पन्न गर्ने चलन थियो ।
तर अहिले विवाह गर्ने शैली विस्तारै बदलिँदै छ ।
‘विवाह कहाँ गर्ने ?’
यो प्रश्नको उत्तर अब घर वा पार्टी प्यालेसमै सीमित छैन ।
कसैलाई हिमाल देखिने ठाउँ मन पर्छ । कसैलाई तालको किनार । कसैलाई हरियालीबीचको रिसोर्ट । कसैलाई ऐतिहासिक ठाउँ । कसैलाई समुद्रको किनार ।
आफूलाई मन परेको ठाउँलाई नै विवाहको गन्तव्य बनाउने सोच डेस्टिनेसन वेडिङको मूल आकर्षण हो ।
यसमा ठाउँ मात्र फेरिँदैन, विवाहको अनुभव नै फेरिन्छ । मण्डपदेखि सजावटसम्म त्यही ठाउँको वातावरणअनुसार तयार गरिन्छ । विवाहका विभिन्न कार्यक्रम पनि त्यहीँ आयोजना गर्न सकिन्छ ।
विवाहसँगै यात्रा पनि
डेस्टिनेसन वेडिङको रमाइलो यहीँ छ ।
विवाहमा सहभागी हुन पुगेका आफन्त र साथीभाइ केही घण्टाका लागि मात्र भेटिँदैनन् । उनीहरू एउटै ठाउँमा केही दिन सँगै बस्छन् । विवाहका कार्यक्रमसँगै घुमघाम, खानपान र पारिवारिक जमघट पनि हुन्छ ।

काठमाडौंमा बस्ने परिवार पोखरा पुगेर विवाह गर्छ भने विवाहसँगै पोखरा घुम्ने अवसर पनि जोडिन्छ । कुनै रिसोर्टमा विवाह भयो भने त्यहाँ पुगेका पाहुनाले आसपासका ठाउँ पनि घुम्न सक्छन् ।
यसरी विवाह एउटा कार्यक्रमबाट अनुभवमा बदलिन्छ ।
यो शैली नेपालमा मात्रै देखिएको भने होइन । बलिउडका चर्चित कलाकारले वर्षौँदेखि भारतका विभिन्न रमणीय तथा ऐतिहासिक गन्तव्यमा विवाह गर्दै आएका छन् । त्यसले पनि डेस्टिनेसन वेडिङलाई विवाहको एउटा आकर्षक शैलीका रूपमा स्थापित गर्न मद्दत गरेको छ ।
अनुष्का-विराटदेखि प्रियंका-निकसम्म
सन् २०१७ मा अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर विराट कोहलीले इटालीको टस्कनीमा विवाह गरे । सीमित आफन्त र साथीभाइको उपस्थितिमा भएको उनीहरूको विवाहको तस्बिर सार्वजनिक भएपछि यो समारोह निकै चर्चित बन्यो ।
त्यसको एक वर्षपछि अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंहले इटालीकै लेक कोमोमा विवाह गरे । उनीहरूले कोंकणी र सिन्धी परम्पराअनुसार छुट्टाछुट्टै समारोह गरेका थिए ।
अभिनेत्री प्रियंका चोपडा र अमेरिकी गायक निक जोनसले पनि सन् २०१८ मा भारतको जोधपुरस्थित उम्मेद भवनमा विवाह गरे । हिन्दू र क्रिश्चियन परम्पराअनुसार भएको उनीहरूको विवाहमा भारतीय र पश्चिमी शैलीको मिश्रण देखिएको थियो ।
सन् २०२१ मा अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशलले राजस्थानको सवाई माधोपुरस्थित सिक्स सेन्सेस फोर्ट बरवारामा विवाह गरे ।
यी विवाहमा एउटा समानता थियो, आफ्नो घर वा नियमित समारोहस्थलभन्दा फरक ठाउँलाई विवाहको गन्तव्य बनाउनु ।
त्यसैले, बलिउडका यी विवाहले पनि ‘विवाह कहाँ गर्ने ?’ भन्ने प्रश्नलाई ‘कस्तो अनुभव बनाउने ?’ भन्ने प्रश्नसँग जोडिदिए ।
नेपालमा पनि खोजिँदैछन् यस्ता ठाउँ
डेस्टिनेसन वेडिङका लागि विदेश नै पुग्नुपर्छ भन्ने छैन । नेपालमै पनि यस्ता गन्तव्यको सम्भावना उत्तिकै छ ।
पोखरा यसको राम्रो उदाहरण हो । ताल, हिमाल र प्राकृतिक सौन्दर्यका कारण पोखरामा विवाहसँगै घुमघामको अनुभव पनि जोड्न सकिन्छ ।
काठमाडौं उपत्यकाका ऐतिहासिक तथा सांस्कृतिक स्थल, नगरकोट, धुलिखेल तथा विभिन्न रिसोर्ट पनि विवाहका लागि रोज्न सकिने गन्तव्य हुन् ।
विशेषगरी विदेशमा बस्ने नेपाली परिवारका लागि नेपालमा विवाह गर्नु भनेको केवल विवाह गर्नु मात्र होइन, आफ्नो परिवार र संस्कृतिसँग जोडिने अवसर पनि बन्न सक्छ ।
विदेशमा जन्मिएका वा हुर्किएका नेपालीले नेपाल आएर विवाह गर्दा आफ्नै संस्कारअनुसार विवाह गर्ने र त्यससँगै आफन्त तथा साथीभाइसँग समय बिताउने अवसर पाउँछन् ।
त्यसैले , नेपालका प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक गन्तव्यलाई विवाहसँग जोड्न सकिने सम्भावना ठूलो छ ।
सामाजिक सञ्जालले थपेको आकर्षण
विवाहको बदलिँदो शैलीमा सामाजिक सञ्जालको प्रभाव पनि छ ।
सुन्दर ठाउँमा सजाइएको मण्डप, दुलाहा–दुलहीको फोटोसुट, समुद्र, ताल वा हिमालको पृष्ठभूमि, ड्रोनबाट खिचिएका दृश्य, यी सबैले विवाहलाई अझ दृश्यात्मक बनाएका छन् ।
एउटा विवाहको तस्बिर र भिडियो अर्को जोडीका लागि प्रेरणा बन्न सक्छ ।
‘उनीहरूले यस्तो ठाउँमा विवाह गरेछन्, हामी पनि त्यस्तै ठाउँमा गरौँ’ भन्ने सोचले पनि डेस्टिनेसन वेडिङको आकर्षण बढाएको छ ।
तर, सुन्दर ठाउँ रोज्नु मात्रै डेस्टिनेसन वेडिङ होइन । त्यसका लागि पाहुनाको यात्रा, बसाइ, खानपान, सजावट र विवाहका कार्यक्रमको व्यवस्थापन पनि जोडिन्छ । त्यसैले, यसको खर्च पनि गन्तव्य, पाहुनाको संख्या र कार्यक्रमको शैलीअनुसार फरक हुन्छ ।
प्रतिक्रिया 4