यो एक–दुई पटकको बढी असुली होइन, व्यवस्थित शोषण थियो। नौ वर्षसम्म द्विपक्षीय सम्झौताले मलेसियाली रोजगारदातामाथि राखेको खर्च नेपाली कामदारको खल्तीबाट असुलियो, र यसलाई रोक्न सक्ने श्रम मन्त्रालय र नेपाल राष्ट्र बैंकले रोक्नुको सट्टा १७ पटक सही गरे।
पूर्वश्रममन्त्रीसहितको समूहमाथि एउटा गम्भीर आरोप लागेको छ । स्वास्थ्य परिक्षणबापत तोकिएको भन्दा बढी रकम लिएर मलेशिया जाने श्रमिकमाथि आर्थिक शोषण भयो । तर, अनुसन्धान गर्दा पुष्टि के भएको छ भने स्वास्थ्य परीक्षणका लागि एक रुपैयाँ पनि रकम तिर्नुनपर्नेमा नेपाली श्रमिकबाट धमाधम उठाइएको थियो ।
नेपाल र मलेशियाबीच भएको श्रम सम्झौतामा स्पष्ट लेखिएको छ- श्रमिकको टिकट, भिसा र वायोमेट्रिक्ससहितको स्वास्थ्य परिक्षणको रकमको जिम्मेवारी रोजगारदाता कम्पनीको हुनेछ । श्रमिकले स्वास्थ्य परीक्षणका लागि नेपालमा रकम भुक्तान गरिहालेमा पनि पहिलो महिनाको तलबसहित सोधभर्ना पाउनुपर्छ । तर उताबाट रकम नेपाली श्रमिकको खातामा आउनुपर्नेमा यताबाट पैसा उठाएर धमाधम मलेशिया पठाइएको थियो ।
श्रमिकबाट अनधिकृत रकम उठाएर मलिशया पठाउन मन्त्रीहरु रामेश्वर राय यादव र शेरबहादुर कुँवरले निर्णय नै गरेका थिए भने डोलप्रसाद (डीपी) अर्याल र शरतसिंह भण्डारीका पाला पनि श्रमिकलाई आर्थिक शोषण गरेर रकम मलेशिया पठाइएको थियो । चार वर्षमा चार मन्त्रीको कार्यकालमा साढे ७ लाख श्रमिकबाट लुटिएको १ अर्ब ६९ करोड मलेशिया पठाइएको थियो । पूर्वमन्त्री यादव र कुँवर अहिले सीआईबीको हिरासतमा छन्।
नेपाल र मलेसियाबीच २०७५ कात्तिक १२ मा भएको सम्झौताले कामदारलाई शून्य लागतमा लैजाने र स्वास्थ्य परीक्षणसमेतको खर्च रोजगारदाताले बेहोर्ने स्पष्ट व्यवस्था गरेको छ। तर काठमाडौंमा ३६ स्वास्थ्य संस्थाको सिन्डिकेट खडा गरी हरेक कामदारबाट सम्झौतामा उल्लेखै नभएको १०० रिङ्गिट अर्थात् ३ हजार १६४ रुपैयाँ ‘बायोमेडिकल’ शुल्क असुलियो। सरकारी अभिलेखअनुसार सन् २०२० फेब्रुअरीदेखि २०२४ मेसम्म ७ लाख ५० हजार ९८८ कामदारबाट उठेको रकममध्ये १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ बराबरको डलर र पाउण्ड १७ पटक गरी मलेसियाली कम्पनी बेस्टिनेट एसडीएन बीएचडीको खातामा पुग्यो। हरेक रकमान्तरमा श्रम मन्त्रालयको सिफारिस र नेपाल राष्ट्र बैंकको स्वीकृति थियो।
यो एक-दुई पटकको बढी असुली होइन, व्यवस्थित शोषण थियो। नौ वर्षसम्म द्विपक्षीय सम्झौताले मलेसियाली रोजगारदातामाथि राखेको खर्च नेपाली कामदारको खल्तीबाट असुलियो, र यसलाई रोक्न सक्ने श्रम मन्त्रालय र नेपाल राष्ट्र बैंकले रोक्नुको सट्टा १७ पटक सही गरे।
सीआईबीका अनुसार यसमा काठमाडौंस्थित मलेसियाली दूतावासका तत्कालीन अधिकारीदेखि श्रम मन्त्रालयका सचिव, कर्मचारी, मन्त्री र राष्ट्र बैंकका कर्मचारीसम्म संलग्न छन्, र कूटनीतिक सुविधाको समेत दुरुपयोग भएको छ। पक्राउ परेकाहरूमाथि ठगी तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत अनुसन्धान भइरहेको छ; अदालतले अझै कसैलाई दोषी ठहर गरेको छैन।
सम्झौताले के भन्छ: खर्च रोजगारदाताको
२०७५ कात्तिक १२ (२९ अक्टोबर २०१८) मा तत्कालीन श्रममन्त्री गोकर्ण विष्टको पालामा नेपाल र मलेसिया सरकारबीच कामदारको भर्ना, रोजगारी र फिर्तीसम्बन्धी सम्झौता भयो। सम्झौताको एपेन्डिक्स बीको बुँदा ७(जी) ले नेपालमा हुने स्वास्थ्य परीक्षणको खर्च रोजगारदाताले तिर्नुपर्ने र कामदारले तिरेको भए पहिलो महिनाको तलबसँगै फिर्ता गर्नुपर्ने स्पष्ट व्यवस्था गरेको छ।
सोही दिन बसेको पहिलो संयुक्त कार्यदल (जेडब्लुजी) बैठकले नेपाली कामदार भर्नाको अनुमानित खर्चको तालिका (एनेक्स–५) पारित गर्यो। त्यसमा बायोमेडिकल सिस्टमका लागि १०० रिङ्गिट र स्वास्थ्य परीक्षणका लागि २६० रिङ्गिट दुवै मलेसियाली रोजगारदाताको कोलममा राखिएका छन्; कामदारको कोलम खाली छ। मलेसियाली दूतावासकै सन् २०२२ मार्च ७ को सार्वजनिक सूचनामा पनि ‘बीएमएसको खर्च रोजगारदाताको जिम्मा’ भनिएको छ।

तैपनि व्यवहारमा उल्टो भयो। रोजगारदाताबाट लिनुपर्ने मेडिकल शुल्क रु. ६ हजार ५०० र सम्झौतामा कामदारले तिर्ने कुनै उल्लेखै नभएको थप १०० रिङ्गिट गरी झन्डै रु. ९ हजार ५०० नेपाली श्रमिककै खल्तीबाट असुलियो। दूतावासको सूचनाअनुसार यो १०० रिङ्गिटको नेपाली रूप रु. ३ हजार १६४ थियो: सेवा शुल्क रु. २ हजार ८०० र १३ प्रतिशत भ्याट रु. ३६४। सिन्डिकेटमा रहेका स्वास्थ्य संस्थाबाहेक अरूमा परीक्षण गराउनै नपाइने भएकाले कामदारसँग अर्को विकल्प थिएन। कुनै रोजगारदाताले यो शुल्क तिरेको वा कुनै कामदारले पहिलो तलबसँग फिर्ता पाएको कुनै कागजात अनुगमन टोलीले भेट्टाउन सकेन।
सिन्डिकेटको सुरुवात: कैलाश खड्काको योजना
मलेसिया जाने कामदार ठगीको केन्द्रमा रामेछापका कैलाश खड्का छन्। २०७० सालअघिसम्म सरकारले मलेसिया जाने श्रमिकको मेडिकलका लागि कुनै निश्चित स्वास्थ्य संस्थालाई जिम्मा दिएको थिएन; सरकारबाट स्वीकृत २०५ संस्थामध्ये जुनसुकैबाट परीक्षण गराएर कामदार मलेसिया जान सक्थे।
२०७० सालमा यो व्यवसायमा प्रवेश गरेका खड्काले नेपाल स्वास्थ्य व्यवसायी महासंघमाको आफ्नो पदको फाइदा उठाउँदै २०७० असार ६ मा मलेसियाली कम्पनी बेस्टिनेटका प्रमुख कार्यकारीसँग बायोमेट्रिक प्रणाली सञ्चालनसम्बन्धी समझदारीमा हस्ताक्षर गरे। सरकारी अनुगमन प्रतिवेदनअनुसार त्यसबेला महासंघका अध्यक्ष प्रविण तिवारी र वरिष्ठ उपाध्यक्ष कैलाश खड्का थिए। जानकार स्रोतहरूका अनुसार खड्का आफैं मलेसिया पुगेर बेस्टिनेटसँग ‘सेटिङ’ मिलाएका थिए।
२०७० माघ ८ मा टेकबहादुर गुरुङ श्रममन्त्री भएपछि खड्काको दिन फिर्यो। व्यवस्थापिका-संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको प्रतिवेदनपछि श्रम मन्त्रालयले २०७२ असार २१ गते मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण बायोमेट्रिक प्रणालीबाट गर्ने निर्णय गर्यो। असार २२ गते सचिवले टिप्पणी उठाए र असार २३ गते राज्यमन्त्रीस्तरबाट ‘सदर’भयो।

असार २५ गते मन्त्रालयले उही महासंघलाई पत्र लेख्यो, जसमा बायोमेट्रिक परीक्षणलाई बढीमा छ महिनाका लागि मात्र अनुमति दिइएको थियो, र कामदारको हितविपरीत भए खारेज हुन सक्ने शर्त राखिएको थियो। छ महिने परीक्षण र निःशुल्क सेवाको नाममा सुरु भएको बायोमेडिकल निरन्तर चल्यो, रकम उठाउने काम पनि जारी रह्यो। बायोमेट्रिक जाँचको अनुमति दिने भन्दै बेस्टिनेटले स्वास्थ्य संस्थासँग निवेदन मागेको थियो र ३९ वटा छानिएका थिए। खड्काले तिनै संस्थासँग रकम उठाएको, र मागेअनुसारको कमिसन नदिएका ३ वटा संस्था हटाएर संख्या ३६ मा झारिएको आरोप छ। मलेसियाकै भनाइअनुसार यी ३६ संस्थाले सन् २०१५ देखि निरन्तर परीक्षण गरिरहे।
२०७५ जेठ २ मा तत्कालीन श्रममन्त्री गोकर्ण विष्टले आफूखुसी रकम उठाउनेलाई कारबाही हुने भन्दै यस्तो रकम नउठाउन निर्देशन दिए र गृह मन्त्रालयलाई पत्र लेखे। त्यो पत्र प्रहरी प्रधान कार्यालय हुँदै जिल्ला प्रहरी परिसर काठमाडौं पुग्यो, र प्रहरीले राम श्रेष्ठसहित करिब ४० जनालाई पक्राउ गर्यो। खड्का भने फरार थिए। पक्राउ परेकाहरूले अदालतबाट सफाइ पाए; छ महिने अनुमति खारेज नभएको र सिन्डिकेटलाई ठगी नमानिएको तर्कमा सफाइ दिइएको थियो। त्यो फैसला विवादित बन्यो र फैसला गर्ने न्यायाधीश न्यायपरिषद्मा तानिए।
कामदारमाथि थोपिएको भार नहटेसम्म मलेसिया कामदार नपठाउने अडान लिँदै विष्टले सोही दिन मलेसिया रोजगारी नै बन्द गरे। झन्डै दुई वर्ष बन्द रहेको मलेसिया रोजगारी सम्झौतापछि खुल्यो, तर कामदारले पुरानै प्रक्रियाबाट जानुपर्यो।
म्याक्रोटेकको जन्म र दूतावासको पत्र
सम्झौताले कामदारलाई शून्य लागतमा लैजाने भने पनि खड्काको संजाल रोकिएन। सीआईबीका अनुसार खड्काले मुकुन्द भट्टराई र शालिग्राम क्षेत्रीलाई अघि सारेर २०७५ फागुन ६ मा म्याक्रोटेक प्रा.लि. स्थापना गराए। कम्पनीको दर्ता नम्बर २०८८९७/०७५/०७६ हो, र कार्यालय महाराजगन्जको नबिल गल्लीमा छ। २०७५ चैत १८ (१ अप्रिल २०१९) मा यसले बेस्टिनेटसँग ‘बिजनेस प्रोसेस र आईटी हेल्प डेस्क: बायोमेडिकल मोड्युल (एफडब्लुसीएमएस)’ सेवाको नाममा सम्झौता गर्यो, र आफूलाई बेस्टिनेटको नेपाली साझेदारका रूपमा चिनायो। सरकारलाई पेश गरिएका कागजातमा खड्का कम्पनीका सञ्चालक अध्यक्षका रूपमा हस्ताक्षर गर्छन्।
त्यसपछि मलेसियाली दूतावासबाट पत्र आयो। सन् २०१९ जुन १७ मा दूतावासका कामवाहक राजदूत अहमद फदिल इस्माइलले नेपाल सरकारलाई होइन, म्याक्रोटेकका सञ्चालक मुकुन्द भट्टराईलाई पत्र लेखेर ‘तत्काल लागू हुने गरी’ बीएमएस शुल्क ३ हजार १६४ रुपैयाँ तोके र ३७ स्वास्थ्य संस्थामा लागू गराउन निर्देश दिए। अर्को देशको दूतावासले नेपाली रुपैयाँमा, नेपालको मूल्य अभिवृद्धि करसमेत जोडेर तोकेको यही शुल्क नै सिंगो सङ्कलनको आधार बन्यो। अनुसन्धान अधिकारीहरूका अनुसार दूतावासबाटै पत्र तयार पार्न लगाएर स्वास्थ्य जाँच, रकम उठाउने र विदेश लैजाने आधार बनाइयो।
सन् २०१९ सेप्टेम्बर १०–११ मा बसेको दोस्रो जेडब्लुजी बैठकमा मलेसियाले नै सन् २०१५ देखि काम गरिरहेका ३६ स्वास्थ्य संस्था ‘पर्याप्त’ भएको र तिनैले काम जारी राख्ने कुरामा जोड दियो। यसले बजार बन्द गरिदियो। सूचीकृत स्वास्थ्य संस्था धेरै हुँदाहुँदै ३६ वटाको सिन्डिकेटका कारण कामदार लामो समय होटलमा बसेर पर्खनुपर्ने भएको अनुगमन टोलीले पाएको छ। संस्थाहरूले अनुमतिबिना म्याक्रोटेकको भ्याट बिल काटेर ३ हजार १६४ रुपैयाँ उठाए र म्याक्रोटेकको सनराइज बैंक खातामा जम्मा गरे। भट्टराईका अनुसार प्रतिकामदार उठेको १०० रिङ्गिटमध्ये १० रिङ्गिट म्याक्रोटेकले राख्थ्यो र ९० रिङ्गिट बेस्टिनेटलाई पठाइन्थ्यो।
रकम कसरी गयो: दूतावास, मन्त्रालय र राष्ट्र बैंक
विदेशी मुद्रा बाहिर पठाउन नेपाल राष्ट्र बैंकको स्वीकृति चाहिन्छ, र राष्ट्र बैंकले सम्बन्धित मन्त्रालयले रकम वैध रहेको भनी सिफारिस गरेपछि मात्र स्वीकृति दिन्छ। यस मामिलामा हरेक पटक उही क्रम दोहोरियो। म्याक्रोटेकले निवेदन दिन्थ्यो, कम्तीमा एक पटक खड्काले आफ्नै नाममा। मलेसियाली दूतावासले परीक्षण गरिएका कामदारको संख्या खुलाएर राष्ट्र बैंकलाई भुक्तानी ‘सहजीकरण’गर्न पत्र लेख्थ्यो।
श्रम मन्त्रालयले मन्त्रीस्तरीय निर्णयका आधारमा सिफारिस गर्थ्यो, राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले स्वीकृति दिन्थ्यो, र लक्ष्मी सनराइज बैंकको खाता नं. ००२०५८४७७२०७०००१ बाट टिटी (टेलिग्राफिक ट्रान्सफर) मार्फत बेस्टिनेटको मलयन बैंकिङ बर्हाडस्थित खाता नं. ५६८४-७२६०-१८९२ मा रकम पुग्थ्यो।
सीआईबीका अनुसार राष्ट्र बैंकमा १६ पटक निवेदन दिइयो र १७ पटक टिटीमार्फत रकम मलेसिया पुग्यो। सीआईबीको पत्रको जवाफमा राष्ट्र बैंकले पनि ये रकमान्तर भएको र तिनले ७ लाख ५० हजार ९८८ कामदारको स्वास्थ्य परीक्षण समेटेको पुष्टि गरेको छ। रकम “Charge for Business Process and IT Help Desk/Tech Support: Biomedical Module (FWCMS)” शीर्षकमा पठाइएको थियो। सीआईबीका एक अनुसन्धान अधिकृतका अनुसार राष्ट्र बैंकले कागजातको सत्यतथ्य जाँच नगरी अर्बौं रुपैयाँ बराबरको विदेशी मुद्रा पठाउन स्वीकृति दियो।
सीआईबीको प्रारम्भिक अनुसन्धानअनुसार मलेसियाली दूतावासका पत्र कूटनीतिक मर्यादाभन्दा बाहिर गएर पठाइएका थिए, र सरकारी निकायलाई झुटा विवरण दिई पुँजी पलायन गरियो। दूतावासका भनिएका पत्रको आधिकारिकतासमेत अझै यकिन हुन बाँकी रहेको सीआईबीको भनाइ छ। २०८२ को अनुगमन प्रतिवेदनले पनि विदेशी दूतावासले नेपालमा शुल्क तोक्ने र केन्द्रीय बैंकलाई निजी कम्पनीको भुक्तानीका लागि अनुरोध गर्ने कानूनी आधारमाथि प्रश्न उठाएको थियो।
सबै कामदारले पूरा शुल्क तिरेको मान्दा ७ लाख ५० हजार ९८८ कामदारबाट ३ हजार १६४ रुपैयाँका दरले करिब २३७.६ करोड रुपैयाँ उठ्यो। त्यसमध्ये करिब १ अर्ब ६९ करोड रुपैयाँ मलेसिया पुग्यो, जुन प्रतिकामदार करिब २ हजार २५० रुपैयाँ हुन्छ, अर्थात् ९० रिङ्गिटबाट कर कट्टा गरेपछिको रकमसँग मिल्छ। बाँकी रकम म्याक्रोटेकको कमिसन, कर र भ्याटमा गएको हुनसक्छ।
कसका पालामा कति रकम गयो मलेसिया?
सीआईबीका प्रवक्ता एसएसपी अनुपमशमशेर जबराका अनुसार कामदारबाट गैरकानुनी रूपमा उठाइएको रकम २०७६ सालदेखि मलेसिया लैजान थालिएको थियो, र यसको सुरुवात तत्कालीन श्रममन्त्री रामेश्वर राय यादवले गरे। ‘यादव श्रममन्त्री भएका बेला पहिलो पटक २०७६ माघ १५ मा मन्त्रीस्तरीय निर्णय गरी रकम मलेसिया लैजान स्वीकृति दिएको देखिएको छ,’ सीआईबीका एक अनुसन्धान अधिकृत भन्छन्। मन्त्रालयका पछिका सिफारिस पत्रहरूमा यही निर्णय (मिति २०७६/१०/१५) लाई आधार मानिएको छ।
यादवको पालामा चार पटक रकम मलेसिया गयो: २०७६ फागुन १५ मा ६ लाख ९३ हजार पाउण्ड, चैत १० मा २ लाख ४८ हजार पाउण्ड, २०७७ जेठ १९ मा २ लाख ४५ हजार ९४६ पाउण्ड र साउन १२ मा २ लाख १३ हजार ६५८ अमेरिकी डलर। अन्तिम रकमान्तर दूतावासको सन् २०२० जुन १६ को पत्रसँग जोडिएको छ, जसमा फेब्रुअरी १३ देखि २९ सम्म मात्र ११ हजार ८२८ कामदारको परीक्षण भएको भनिएको थियो।
त्यसपछि मन्त्री भएका गौरीशङ्कर चौधरी, विमलप्रसाद श्रीवास्तव र कृष्णकुमार श्रेष्ठको पालामा भने रकम विदेश गएको देखिँदैन; कोभिड र कामदार भर्ना घटेका यस अवधिमा कुनै रकमान्तर भएन।
यही बीच २०७९ जेठ ६ मा म्याक्रोटेककै सञ्चालक तथा शेयरधनी मुकुन्द भट्टराईले अर्थमन्त्रीसमक्ष निवेदन दिए। उनले करिब ६० हजार मेडिकलबाट उठेको १८ करोड ९८ लाख ४० हजार रुपैयाँ सनराइज, गैरीधारा, मेघा, कलंकी र एनसीसी बैंकमा थुपिएको, मलेसियाबाट नयाँ माग नआए पनि मेडिकल जारी रहेको, र साझेदार खड्काले आफ्नो सहमतिबिना त्यो रकम मलेसिया पठाउन लागेको भन्दै रकम रोक्का गर्न माग गरे। रकम रोकिएन; तीन महिनापछि रकमान्तर फेरि सुरु भयो।
शेरबहादुर कुँवरको पालामा पाँच पटक रकम मलेसिया गयो: २०७९ भदौ १४ मा १ लाख ३५ हजार ३७५ डलर, असोज ११ मा ६ लाख ६६ हजार ९३६ डलर, कात्तिक २४ मा ७ लाख ३५ हजार ८०३ डलर, मंसिर १६ मा ७ लाख ८० हजार ९८९ पाउण्ड र पुस ११ मा १७ लाख ४९ हजार ३०९ पाउण्ड। अन्तिम रकमान्तर कुँवरको मन्त्रीका रूपमा अन्तिम दिन, देउवा नेतृत्वको सरकार हटेर पुष्पकमल दाहाल प्रधानमन्त्री बनेकै दिन गरिएको थियो। ‘आउने मन्त्रीले यो सेटिङ थाहा पाएर रकम विदेश लैजान नदिन सक्ने जोखिमका कारण हतारहतार अन्तिम दिन पनि मन्त्रीलाई स्वीकृत गर्न लगाएर रकम मलेसिया लगेको देखिन्छ,’ सीआईबीका एक अधिकृत भन्छन्। सीआईबीका अनुसार यादव र कुँवर दुवैले दुईदुई पटक मन्त्रीस्तरीय निर्णय गरेर रकम पठाउने स्वीकृति दिएका थिए।

कुँवरपछि २०७९ माघ ३ मा श्रममन्त्री बनेका हालका सभामुख डीपी अर्यालको पालामा दुई दिनपछि नै, माघ ५ मा, ९ लाख २५७ डलर मलेसिया गयो। पत्रमा यो रकम कुँवरकै पालाको निर्णयअनुसार भनिएको छ। अर्याल २२ दिनमै पदबाट हटे।
सीआईबीका अनुसार शरतसिंह भण्डारीको पालामा पाँच पटक रकम मलेसिया गयो: २०७९ फागुन १५ मा १७ लाख १ हजार ५८२ डलर, २०८० वैशाख ११ मा १५ लाख ९९२ डलर, साउन २ मा ७ लाख ८८ हजार ८४ डलर, कात्तिक २ मा ५ लाख ५२ हजार २१५ डलर र माघ ९ मा ४ लाख ८४ हजार ५४४ डलर। उनले अलग्गै निर्णय नगरे पनि अघिल्ला मन्त्रीको निर्णयकै आधारमा रकम पठाइरहेको सीआईबीका अधिकारीहरूको भनाइ छ ।
अर्याल २०८० फागुन २३ देखि २०८१ असार ३१ सम्म दोस्रो पटक श्रममन्त्री हुँदा थप दुई पटक रकम गयो: २०८१ वैशाख २४ मा ६ लाख ५४ हजार ३९० डलर र जेठ ९ मा ३६ हजार ५९९ डलर। अन्तिम रकमान्तर सन् २०२४ अप्रिलमा परीक्षण गरिएका २,२३९ कामदारबापतको थियो; म्याक्रोटेकले यसको स्वीकृति माग्दा २,२३९ × ९० = २ लाख १ हजार ५१० रिङ्गिटबाट १५ प्रतिशत कर कट्टा गरी १ लाख ७१ हजार २८३.५० रिङ्गिट हिसाब देखाएको थियो।
सोही दिन दूतावासले राष्ट्र बैंकलाई पत्र लेखेर त्यही संख्या पुष्टि गर्यो र मे २०२४ देखि मलेसियाले कामदार भर्ना रोकेको जानकारी दियो। अर्यालको पालामा गएका तीनै रकमान्तर अघिल्ला मन्त्रीको निर्णयअनुसार भएको सीआईबीका अधिकारी बताउँछन्।
एक व्यक्ति, चार संस्था
अनुगमन टोलीले ३६ वटै संस्थाको सूची सञ्चालकको नाम र मोबाइल नम्बरसहित तयार पारेको छ। त्यसमा सिनामंगलको अनमोल मेडिकल सेन्टर, सिनामंगलकै प्रशान्ती हेल्थ केयर, चाबहिलको डाइनास्टी मेडिकल सेन्टर र कोटेश्वरको हिमालयन डायग्नोस्टिक क्लिनिक, यी चार संस्थाको सञ्चालकको रूपमा कैलाश खड्काकै नाम छ, र चारैको मोबाइल नम्बर एउटै छ। तालिकाअनुसार यी चार संस्थामा कुल १ लाख ३६ हजार३१६ एक्स-रे भएका छन् (अनमोल ५६ हजार ९८४, प्रशान्ती ४५ हजार ८९, डाइनास्टी १८ हजार ५४३, हिमालयन १५ हजार ७००), जुन संख्या उल्लेख भएका ३४ संस्थाको कुल करिब ९.१ लाख एक्स-रेको करिब १५ प्रतिशत हो।
खड्काको आर्थिक उकालो पनि अनुगमनको ध्यानमा छ। २०७३ असार १० मा कैलाश विकास बैंकले वेलकेयर हस्पिटल एण्ड रिसर्च सेन्टरलाई, जसका अख्तियारप्राप्त व्यक्ति खड्का थिए, ४ लाख ५४ हजार ८५२.८० रुपैयाँ बक्यौता कर्जा पाँच दिनभित्र नतिरे कालोसूचीमा राख्ने चेतावनी दिएको थियो। अहिले उनी कम्तीमा चार संस्था चलाइरहेका र विभिन्न ठाउँमा सम्पत्ति जोडेका देखिएकाले अनुगमन प्रतिवेदनले नातेदारका नाममा रहेको सम्पत्तिसमेत अनुसन्धान गर्न सिफारिस गरेको छ।
प्रतिवेदनअनुसार खड्का, धनबहादुर गिरी र रविन्द्र केसीले सिनामंगलको क्रिस्टल डायग्नोस्टिक सेन्टर भएको भवनमा “मलेसियन भिसा सेन्टर” चलाएका छन्। दूतावासले भिसा शुल्क ७०० रुपैयाँ मात्र लिन्छ, तर यो केन्द्रले कामदारसँग रु. ७ हजार ७०० लिएको उजुरी परेको छ। त्यसैगरी बेस्टिनेटले स्वास्थ्य संस्थालाई फिङ्गरप्रिन्ट स्क्यानर, कम्प्युटर, वेबक्याम र एफडब्लुसीएमएस सफ्टवेयरबापत ५ हजार डलर, फिर्ता हुने धरौटी २ हजार डलर र सेवा शुल्क १ हजार डलर गरी जम्मा ८ हजार अमेरिकी डलरमा सिस्टम बेचेको र धरौटी अहिलेसम्म फिर्ता नगरेको प्रतिवेदनमा उल्लेख छ।
स्वास्थ्य संस्थाभित्रको बेथिति
बायोमेडिकल शुल्क मात्र होइन, कामदार स्वास्थ्य संस्थामै कैयौं तहमा ठगिएको श्रम मन्त्रालयको अनुगमन प्रतिवेदनले देखाउँछ। स्वास्थ्य परीक्षण शुल्क ६ हजार ५०० रुपैयाँ कायम रहे पनि संस्थाहरूले अझै ९ हजार ५०० रुपैयाँ लिइरहेको पाइयो। म्यानपावर कम्पनीले कामदार आउनासाथ कुनै बुझाइ नदिई सिधै मेडिकल पठाउने, एकै व्यक्तिलाई पटक-पटक परीक्षण गराउने र बिल एक पटकको मात्र दिने गरेको पाइयो। सरकारको “फ्री भिसा, फ्री टिकट” नीति हुँदाहुँदै म्यानपावरले सेवा शुल्कका नाममा कामदारसँग १० हजार रुपैयाँसम्म असुलेको प्रतिवेदनमा उल्लेख छ।

केही संस्थाले तोकिएका सबै परीक्षण नगरी हचुवाको भरमा रिपोर्ट दिए, कतिपयले एउटा पनि परीक्षण नगरी रिपोर्ट दिए, र कतिपय कामदार संस्थामा उपस्थित नहुँदै उनीहरूको नाममा रिपोर्ट जारी भयो। कर छल्ने नियतले संस्थाहरूले आफूले गरेका मेडिकलभन्दा कम संख्या लेखा परीक्षण प्रतिवेदनमा देखाए। धेरैजसो संस्थामा तोकिएकोभन्दा कम जनशक्ति थियो; डाक्टरसहितको हाजिरी रजिष्टर, ईसिजी, एक्स–रे र ल्याबको अभिलेख, गुणस्तर नियन्त्रणका कागज थिएन, र वैदेशिक रोजगार विभाग तथा मन्त्रालयलाई नियमित प्रतिवेदन पठाइएको थिएन। केहीले पूर्वस्वीकृति नम्बर (लट नम्बर) बिना नै परीक्षण गरे। अनुगमनले कुल २४ वटा यस्ता कैफियत सूचीकृत गरेको छ।
प्रतिवेदनमा ठोस घटना पनि छन्। कपिलवस्तुका २२ वर्षीय सचिन चौधरीले न्यू एसओएस एचआर म्यानपावर र अमिताभ बुद्ध मेडिकल सेन्टरको मिलेमतोमा बढी शुल्क असुलिएको भिडियो प्रमाणसहित उजुरी दिएका छन्। धुम्बाराहीको साउथ एसियन मेडिकल सेन्टरले गलत ‘फिट’ रिपोर्ट दिएकाले कामदार मलेसियाबाट अनफिट भई फर्किएको र क्षतिपूर्ति माग्दा डरत्रास दिइएको उजुरी कपिलवस्तुका अनिरुद्धप्रसाद बरईले दिएका छन्।
फाइल गायब, पूर्वमन्त्रीसहित ११ जना हिरासतमा
उजुरी थपिँदै गएपछि श्रम मन्त्रालयले २०८२ माघ २३ गते सहसचिव लवराज जोशीको नेतृत्वमा प्रहरी अधिकृतसमेत रहेको अनुगमन टोली बनायो। टोलीले ३६ वटै संस्थाको फाइल हेरेर २०८२ फागुन ५ गते प्रतिवेदन बुझायो र कैलाश खड्कालगायतकाले कमिसनको रकम हुन्डीमार्फत मलेसिया पठाएको बुझिएको भन्दै संगठित अपराध, ठगी, विदेशी मुद्रा अपराध र सम्पत्ति शुद्धीकरणमा केन्द्रीय अनुसन्धान ब्युरोमार्फत अनुसन्धान गर्न सिफारिस गर्यो। २०८३ भदौमा सीआईबीले राष्ट्र बैंकसँग रकमान्तरको विवरण माग्यो।
अहिले सीआईबीले तत्कालीन मन्त्रीहरूलाई नै पक्राउ गरेर अनुसन्धान अघि बढाउँदा सम्बन्धित फाइल नै मन्त्रालयबाट गायब भएको सीआईबी स्रोत बताउँछ। ‘अहिले दुई मन्त्रीले रकम मलेसिया लैजान भनेर गरेको निर्णय नै फेला परेको छैन। अपराध लुकाउन सरकारी कागजात नै नष्ट गरेको हुनसक्ने आशंका छ,‘ एक अनुसन्धान अधिकारीले भने।

दुई पूर्वमन्त्री रामेश्वर राय यादव र शेरबहादुर कुँवरसहित ११ जना अहिले हिरासतमा छन्। पूर्वमुख्यसचिव तथा तत्कालीन श्रमसचिव एकनारायण अर्याललाई भारतमा पक्राउ गरी बिहीबार मात्र काठमाडौं ल्याइएको छ। तत्कालीन श्रमसचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुखद्वय उमेश ढुङ्गाना र राजीव पोखरेल तथा तत्कालीन कानुन अधिकृत निर्मला गुरुङ पनि हिरासतमै छन्।
यसअघि सीआईबीले चार जनालाई पक्राउ गरेको थियो: कागेश्वरी मनोहरा नगरपालिका–१ का ४२ वर्षीय कैलाश खड्का, चाँगुनारायण नगरपालिका–९ का ४० वर्षीय रविन्द्र केसी, गोरखा नगरपालिका–३ का ४२ वर्षीय प्रविण तिवारी र मलङ्गवा नगरपालिका–४ का ४५ वर्षीय रामपुकार तिवारी। अनुगमन प्रतिवेदनमा रविन्द्र के.सी. ए क्वालिटी हेल्थ केयर डायग्नोस्टिक सेन्टरका सञ्चालक र मलेसियन भिसा सेन्टरका सहसञ्चालकका रूपमा उल्लेख छन्। अमिताभ बुद्ध मेडिकल सेन्टरका सञ्चालकको नाम पनि रामपुकार तिवारी उल्लेख छ। सबैमाथि ठगी तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत अनुसन्धान भइरहेको छ। अदालतले अझै कसैलाई दोषी ठहर गरेको छैन।
सीआईबीका अनुसार यसमा काठमाडौंस्थित मलेसियाली दूतावासका तत्कालीन अधिकारीदेखि श्रम मन्त्रालयका सचिव, कर्मचारी, मन्त्री र राष्ट्र बैंकका कर्मचारीसम्म संलग्न छन्, र कूटनीतिक सुविधाको समेत दुरुपयोग भएको छ।
Login
+कृपया ध्यान दिनुहोस्:
- अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
- आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
- यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
- रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।
प्रतिक्रिया 4