११ मंसिर, काठमाडौं । काठमाडौं उपत्यकाको मंसिरे चिसो बढेसँगै सहरका विशेष फलफूल पसल र डिजिटल सपिङ प्ल्याटफर्महरूमा सुन्तला रङको टल्किने फल ‘जापानिज पर्सिमन’ अर्थात् हलुवाबेदको माग र मूल्य उच्च छ ।
मुख्य सिजन सुरु भएसँगै यतिबेला राजधानीको खुद्रा फलफूल बजारदेखि अनलाइन स्टोरसम्म यसको कारोबार बढेको छ ।
हाल काठमाडौं उपत्यकाका खुद्रा फलफूल पसल तथा अनलाइन स्टोरहरूमा उत्पादनको स्रोत र गुणस्तर अनुसार जापानिज हलुवावेद किलोको ३ सय ८० देखि ७ सय रुपैयाँसम्ममा किनबेच भइरहेको छ ।
उपत्यका वरपर तथा नुवाकोट, काभ्रे लगायत पहाडी भेगमा उत्पादित स्वदेशी हलुवाबेद कृषि फार्म तथा स्थानीय आउटलेटमा किलोको ३ सय ८० देखि ५ सय रुपैयाँ हाराहारीमा बिक्री भइरहँदा बाहिरबाट आयात गरिएका प्रिमियम ग्रेडका फल भने डोकोफुड, लोफाम लगायत अनलाइन प्ल्याटफर्ममा किलोको ५ सय ६० देखि ६ सय रुपैयाँसम्ममा सूचीकृत छन् ।
परम्परागत स्थानीय हलुवाबेद भन्दा फरक स्याउ जस्तै कडा र कुरमुरे छँदै गुलियो हुने भएकाले सहरी उपभोक्तामाझ लोकप्रिय बनेको यो फल फलफूल पसल र डिजिटल बजारमा भने महँगो मूल्यमा किनबेच भइरहेको छ ।
उपभोक्ताले किलोको ६-७ सय रुपैयाँ तिरेर पनि यो फल खोजिरहँदा नेपालका मध्यपहाडी जिल्लामा फल्ने हलुवाबेदको उत्पादन पछिल्ला वर्ष लगातार ओरालो लागेको सरकारी तथ्यांकले देखाउँछ ।
स्वदेशी उत्पादन खुम्चिँदा सहरबजारको प्रिमियम मागमा भने आयातित र त्यसमा पनि चिनियाँ हलुवाबेदले कब्जा जमाइरहेको छ ।
कृषि प्राविधिक र फलफूल व्यवसायीका अनुसार यतिबेला अर्थात् मंसिर महिना हलुवावेदको ठ्याक्कै मुख्य सिजन हो । पात झर्ने (पतझड) प्रकृतिको यो फल नेपालको हावापानीमा सामान्यतया असोज अन्त्यदेखि कात्तिकमा पाक्न सुरु भई मंसिर-पुससम्म बजारमा रहन्छ ।

नेपालमा हलुवाबेदको बजार चक्र दुई चरणमा चल्ने गर्छ । कात्तिकमा स्थानीय तथा छिटो पाक्ने जातका हलुवाबेद बजार आउँछन् ।
विशेषगरी काठमाडौं उपत्यकाको नेवारी समुदायमा स्वन्ति (तिहार) र म्ह:पूजाका अवसरमा सगुनका रूपमा स्थानीय हलुवाबेद अनिवार्य मानिने भएकाले कात्तिकमा यसको सांस्कृतिक माग उच्च रहन्छ ।
मंसिर र पुस लागेपछि भने ढिलो पाक्ने, पात झरिसकेपछि पनि बोटमै रहने र चिस्यान केन्द्रमा भण्डारण गरिएका जापानिज जातका गुलिया हलुवाबेदले बजार लिने गर्छन् ।
यही सिजनल विशेषताका कारण यतिबेला स्वदेशी बगैँचाका ताजा फल र विदेशबाट भित्रिएका प्रिमियम फल दुवैको व्यापार उत्कर्षमा पुगेको हो ।
नेपालका दुई दर्जन बढी पहाडी जिल्लामा हलुवाबेद खेती
समुद्र सतहदेखि ८ सयदेखि १ हजार ८ सय मिटर उचाइसम्मको उपोष्ण र समशीतोष्ण हावापानी हलुवाबेद खेतीका लागि उपयुक्त मानिन्छ ।
यस हिसाबले पूर्वदेखि पश्चिमसम्मको मध्यपहाडी क्षेत्र यो फलका लागि उपयुक्त स्थान हुन् ।
राष्ट्रिय फलफूल विकास केन्द्र, नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) का अध्ययन प्रतिवेदन केलाउँदा नेपालका झन्डै दुई दर्जन बढी पहाडी जिल्लामा हलुवाबेद फल्ने गरेको देखिन्छ ।
नेपालको मध्यपहाडी भूगोल हलुवाबेद खेतीका लागि उपयुक्त भए पनि स्थानीय जातमा हुने टर्रोपनका कारण यो फल लामो समयसम्म अपेक्षित रूपमा लोकप्रिय हुन नसकेको कृषि विज्ञले बताएका छन् ।
तर, पछिल्लो समय जापानबाट ल्याइएको टर्रो नहुने जातको हलुवाबेदको माग भने बजारमा प्रशस्त देखिएको छ ।
राष्ट्रिय प्लान्ट क्वारेन्टिन तथा बायोसेक्युरिटी केन्द्र प्रमुख महेशचन्द्र आचार्यका अनुसार नेपालमा स्थानीय हलुवाबेद मध्यपहाडको सुन्तला र स्याउ फल्ने क्षेत्रको बीच भेगमा प्राय: सबैजसो ठाउँमा उत्पादन हुन्छ ।

केही समयअघिसम्म राष्ट्रिय फलफूल बाली विकास केन्द्रको नेतृत्व समेत सम्हालिसकेका आचार्य भन्छन्, ‘नेपालमा स्थानीय हलुवाबेद करिब–करिब मध्यपहाडको सुन्तला हुनेभन्दा माथिको र स्याउ हुनेभन्दा तलको बीचको भेगमा प्राय: सबै ठाउँमा हुन्छ, तर मान्छेले मन नपराउने त्यो टर्रोपनाका कारण यो त्यति धेरै लोकप्रिय हुन नसकेको फलफूल हो ।’
पछिल्लो चरणमा भने परम्परागत टर्रो जातको सट्टा टर्रो नहुने खालको जापानी हलुवाबेदप्रति आकर्षण बढेको आचार्य बताउँछन् ।
कीर्तिपुरस्थित बागवानी फार्मबाट यस्ता टर्रो नहुने जातका बिरुवा उत्पादन तथा बिक्री–वितरण हुँदै आएको उल्लेख गर्दै उनले त्यस्ता बिरुवा काठमाडौं उपत्यका आसपास र विभिन्न मध्यपहाडी जिल्लामा विस्तार भइरहेको जानकारी दिए ।
‘अहिले पछिल्लो चरणमा जापानबाट ल्याएर कीर्तिपुरमा राखिएको टर्रो नहुने खालको हलुवाबेदका जातहरूको माग प्रशस्त छ,’ आचार्य भन्छन्, ‘काठमाडौं उपत्यका वरिपरि र थुप्रैजसो मध्यपहाडी जिल्लाहरूमा त्यो जात गइरहेको देखिन्छ ।’
परम्परागत रूपमा उपत्यकाका काठमाडौं, ललितपुर (कीर्तिपुर, गोदावरी आदि) र भक्तपुर (नगरकोट आसपास) का करेसाबारीमा प्राचीनकालदेखि नै स्थानीय टर्रो हलुवाबेद लगाउने चलन छ ।
पछिल्लो समय व्यावसायिक र अर्ध-व्यावसायिक बगैँचाका रूपमा बागमती प्रदेशका काभ्रेपलाञ्चोक, नुवाकोट, सिन्धुपाल्चोक, धादिङ, रसुवा, दोलखा, रामेछाप, सिन्धुली र मकवानपुर जिल्लामा यसको खेती विस्तार भएको छ ।
यस्तै कोशीका इलाम, धनकुटा, तेह्रथुम, भोजपुर, संखुवासभा र ताप्लेजुङ, गण्डकीका गोरखा, लमजुङ, तनहुँ, कास्की, स्याङ्जा, पर्वत र बागलुङ तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पाल्पा, गुल्मी, अर्घाखाँची, रोल्पा, रुकुम, बैतडी, डोटी, बझाङ र दार्चुलाका पहाडी भेगमा समेत हलुवाबेद फल्ने गरेको छ ।
नेपालमा परम्परागत स्थानीय टर्रो जातबाहेक कीर्तिपुरस्थित समशीतोष्ण बागवानी केन्द्र र पोखराको मालेपाटनस्थित बागवानी अनुसन्धान केन्द्रमा परीक्षण भई जापानबाट भित्र्याइएका गुलिया (टर्रो नहुने) जात ‘फुयु’ र ‘जिरो’ का कलमी बिरुवा व्यावसायिक किसानमाझ लोकप्रिय छन् । यसबाहेक हिरातनेनासी, हाचिया र जेन्जिमरु जातको समेत खेती हुँदै आएको छ ।
बढ्दो बजार तर घट्दो उत्पादन
उपभोक्ताको रुचि र बजार भाउ दुवै आकर्षक रहँदा पनि स्वदेशी उत्पादनको ग्राफ भने ओरालो झरेको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयको ‘स्ट्याटिस्टिकल इन्फर्मेसन अन नेप्लिज एग्रिकल्चर २०८१/८२’ उद्धृत गर्दै राष्ट्रिय फलफूल विकास केन्द्रले प्रकाशन गरेको ‘फलफूल तथा पुष्प व्यवसाय सम्बन्धी तथ्यांक पुस्तिका २०८३’ ले ११ वर्षमा हलुवाबेदको क्षेत्रफल र उत्पादनमा तीव्र उतारचढाव देखाउँछ ।
तथ्यांक विश्लेषण गर्दा आर्थिक वर्ष २०७१/७२ मा कुल ४ सय ५१ हेक्टरमा लगाइएको हलुवाबेदमध्ये ३ सय ११ हेक्टर उत्पादनशील क्षेत्रफलबाट २ हजार ४ सय १ टन उत्पादन भएको थियो, त्यतिबेला उत्पादकत्व प्रतिहेक्टर ७.७ टन थियो ।

आव २०७२/७३ मा कुल क्षेत्रफल ४ सय ६३ हेक्टर र उत्पादनशील ३ सय १६ हेक्टर पुग्दा उत्पादन बढेर २ हजार ८ सय ४६ टन पुग्यो भने प्रतिहेक्टर ९ टनसहित ११ वर्षकै सर्वाधिक उत्पादकत्व रेकर्ड भयो ।
त्यस्तै २०७३/७४ मा ५ सय ४२ हेक्टर कुल र ३ सय ५५ हेक्टर उत्पादनशील क्षेत्रफलबाट २ हजार ८ सय २३ टन (उत्पादकत्व ८), २०७४/७५ मा ५ सय ६८ हेक्टर कुल र ३ सय ७४ हेक्टर उत्पादनशील क्षेत्रफलबाट ३ हजार १३ टन (उत्पादकत्व ८) तथा २०७५/७६ मा ५ सय ७१ हेक्टर कुल र ३ सय ८५ हेक्टर उत्पादनशील क्षेत्रफलबाट ३ हजार ८५ टन (उत्पादकत्व ८.०२) उत्पादन भएको देखिन्छ ।
आव २०७६/७७ मा हलुवाबेदको कुल क्षेत्रफल ११ वर्षकै उच्च अर्थात् ५ सय ९० हेक्टर पुगे पनि उत्पादनशील क्षेत्रफल ३ सय ३४ हेक्टरमा सीमित हुँदा उत्पादन घटेर २ हजार ५ सय ७४ टन (उत्पादकत्व ७.७१) मा झर्यो ।
त्यसपछि २०७७/७८ मा कुल क्षेत्रफल ४ सय ८७ हेक्टर र उत्पादनशील ३ सय ६२ हेक्टरबाट २ हजार ९ सय ७४ टन (उत्पादकत्व ८.२२) उत्पादन भयो ।
२०७८/७९ मा ५ सय ७२ हेक्टर कुल र ४ सय ५१ हेक्टर उत्पादनशील क्षेत्रफलबाट उत्पादन ह्वात्तै बढेर ३ हजार ५ सय ३९ टन (उत्पादकत्व ७.८९) पुग्यो । २०७९/८० मा त कुल क्षेत्रफल ५ सय ६२ हेक्टर र उत्पादनशील क्षेत्रफल ११ वर्षकै सर्वाधिक ४ सय ५८ हेक्टर पुग्दा कुल उत्पादन पनि हालसम्मकै उच्च ३ हजार ५ सय ४२ टन (उत्पादकत्व ७.७३) रेकर्ड भएको थियो ।
तर, कीर्तिमानी उत्पादन भएको ठिक अर्को वर्षदेखि नै स्वदेशी हलुवाबेदमा गिरावट सुरु भयो । २०८०/८१ मा कुल क्षेत्रफल ४ सय ९० हेक्टर र उत्पादनशील क्षेत्रफल ३ सय ७२ हेक्टरमा झर्दा उत्पादन २ हजार ६ सय २७ टन (उत्पादकत्व ७.०७) मा खुम्चियो ।
झन् २०८१/८२ आइपुग्दा कुल क्षेत्रफल ११ वर्षकै न्यून अर्थात् ४ सय ३७ हेक्टर र उत्पादनशील क्षेत्रफल ३ सय ४१ हेक्टरमा झरेको छ भने कुल उत्पादन २ हजार ४ सय २० टन (उत्पादकत्व ७.१० टन प्रतिहेक्टर) मा सीमित भएको छ । २०८०/८१ को तुलनामा आव २०८१/८२ को उत्पादन ३१.६८ प्रतिशत घटेको छ ।
सवा ५ करोडको आयात, बजारमा चिनियाँ फलको दबदबा
स्वदेशी उत्पादनले सहरी माग र प्रिमियम गुणस्तर धान्न नसक्दा व्यापारको ठूलो हिस्सा आयातित फलले ओगटेको छ । सरकारी वैदेशिक व्यापार तथ्यांक अनुसार २०८२/८३ मा नेपालमा कुल ४ लाख ९२ हजार ९ सय ५६ किलो (करिब ४ सय ९३ टन) ताजा हलुवाबेद आयात भएको छ ।
यसका लागि देशबाट ५ करोड १९ लाख ८६ हजार रुपैयाँ बाहिरिएको छ भने भन्सार राजस्व बापत राज्यले १ करोड २६ लाख ९२ हजार रुपैयाँ संकलन गरेको छ ।

आयातको मुलुकगत विवरण हेर्दा नेपाली बजारमा चिनियाँ हलुवाबेदको एकछत्र दबदबा देखिन्छ । गत आव २०८२/८३ मा चीनबाट मात्रै ४ लाख १७ हजार ५ सय ६२ किलो हलुवाबेद भित्रिएको छ, जुन कुल आयात परिमाणको करिब ८४.७१ प्रतिशत हो ।
चिनियाँ हलुवाबेदका लागि ४ करोड ९५ लाख ४९ हजार रुपैयाँ (कुल आयात मूल्यको ९५.३१ प्रतिशत) खर्च हुँदा राज्यले १ करोड २१ लाख २६ हजार राजस्व प्राप्त गरेको छ ।
सोही अवधिमा भारतबाट ७५ हजार ३ सय ९४ किलो (कुल आयातको १५.२९ प्रतिशत) हलुवाबेद आयात भएको छ, जसको मूल्य २४ लाख ३७ हजार र राजस्व ५ लाख ६६ हजार छ ।
भन्सार मूल्यांकन हिसाब गर्दा भारतबाट सरदर किलोको ३२ रुपैयाँ हाराहारीको सस्तो फल आउँदा चीनबाट प्रतिकिलो करिब १ सय १९ रुपैयाँ भन्सार मूल्य पर्ने महँगो र प्रिमियम ग्रेडको हलुवाबेद भित्रिने गरेको देखिन्छ ।
चालु आव पहिलो तीन महिना (२०८३ साउनदेखि असोजसम्म) ६ हजार १ सय ६१ किलो ताजा हलुवाबेद आयात भएको छ, जसको मूल्य २ लाख ५६ हजार र भन्सार राजस्व ५९ हजार छ ।
साउनदेखि असोजसम्मको समय हलुवाबेदको मुख्य सिजन सुरु हुनुअघिको अवधि भएकाले आयात परिमाण न्यून देखिएको हो । कात्तिक–मंसिर लागेसँगै बजार माग अनुसार आयात ह्वात्तै बढ्ने गर्छ ।
विश्वमा कहाँ फल्छ धेरै हलुवाबेद ?
वानस्पतिक नाम ‘डायोसपाइरस काकी’ रहेको हलुवाबेदको उत्पत्ति करिब ३ हजार वर्षअघि चीनमा भएको मानिन्छ । त्यहाँबाट कोरिया हुँदै जापान पुगेपछि टर्रो नहुने गुलिया जात विकास गरिए, जसका कारण यो अहिले जापानको राष्ट्रिय फलसमेत बनेको छ ।
संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) को विश्वव्यापी तथ्यांक (सन् २०२३) अनुसार विश्वभरि वार्षिक करिब ५० लाख ७० हजार टन हलुवाबेद उत्पादन हुन्छ ।
विश्व उत्पादनमा चीनको हिस्सा एकछत्र छ । चीन एक्लैले वार्षिक ४० लाख ६० हजार टन अर्थात् विश्व कुल उत्पादनको ८० प्रतिशतभन्दा बढी हलुवाबेद फलाउँछ ।
चीनपछि दक्षिण कोरिया (२ लाख ४० हजार टन), जापान (१ लाख ९० हजार टन), अजरबैजान (१ लाख ९० हजार टन) र ब्राजिल (करिब १ लाख ७० हजार टन) प्रमुख उत्पादक राष्ट्रमा पर्दछन् । युरोपमा स्पेन ठूलो उत्पादक र मूल्यका आधारमा विश्वकै शीर्ष निर्यातकर्ता मुलुकका रूपमा स्थापित छ ।
नेपालको मध्यपहाडी भूगोलमा अन्य हिउँदे फलफूलको तुलनामा कम रोगकिरा लाग्ने, पाखो जमिनमा पनि हुर्कने र एक पटक लगाएपछि दशकौंसम्म आम्दानी दिने हलुवाबेद किसानका लागि गतिलो नगदे बाली बन्न सक्छ ।
भिटामिन ‘ए’, ‘सी’, ‘के’ र फाइबरले भरिपूर्ण यो फलको ताजा बिक्रीमात्र नभई सुकाइएको चाना, वाइन, जाम, जेली र पातको हर्बल चियासमेत बनाउन सकिने सम्भावना छ ।
प्रतिक्रिया 4