+
+
Shares

शौचालयको फोहोरबाट कम्पोस्ट मल उत्पादन, संरक्षण खोज्दै उद्यमी

दैनिक ३२ हजार लिटर दिसाजन्य फोहोर व्यवस्थापन गरी मासिक १० टन प्रांगारिक मल उत्पादन गरिरहेको यो प्रशोधन प्लान्ट देशका विभिन्न पालिकाका लागि अध्ययन केन्द्र बन्दै गएको छ ।

टोपराज शर्मा टोपराज शर्मा
२०८३ मंसिर १० गते १५:०७

१० मंसिर, बुटवल । शहरको फोहोर व्यवस्थापन चुनौतीपूर्ण बन्दै गइरहेका बेला बुटवलमा शौचालयबाट निस्कने फोहोर प्रशोधन गरी प्रांगारिक मल उत्पादन थालिएको छ ।

व्यवस्थापन गर्न कठिन र जोखिमपूर्ण मानिने दिसा–पिसाबजन्य फोहोरलाई बुटवल सेनिटरी प्रालिअन्तर्गत नेपाल बायो कम्पोस्टले उपयोगी कृषि सामग्रीमा रूपान्तरण गर्न थालेको हो ।

कम्पनीले घरघरका शौचालयबाट संकलन हुने दिसा–पिसाबजन्य फोहोरमा गाईवस्तुको गोबर, झारपात, पिनालगायत पदार्थ मिसाएर प्रशोधन गरी मासिक करिब १० मेट्रिक टन कम्पोस्ट मल उत्पादन गर्दै आएको छ ।

दैनिक करिब ३२ हजार लिटर दिसा–पिसाबजन्य फोहोर संकलन तथा व्यवस्थापन गर्दै आएको कम्पनीले फोहोरलाई समस्याका रूपमा मात्रै नभई उपयोगी स्रोतका रूपमा समेत प्रयोग गर्न सकिने उदाहरण प्रस्तुत गरेको छ ।

‘शौचालयजन्य फोहोरको सुरक्षित व्यवस्थापन आफैंमा ठूलो चुनौती हो । तर यही चुनौतीलाई अवसरमा बदल्दै निजी क्षेत्रले करोडौं रुपैयाँ लगानी गरेर फोहोर प्रशोधन र प्रांगारिक मल उत्पादनको काम गरिरहेको छ,’ कम्पनीका नेतृत्वकर्ता यमबहादुर थापाले भने, ‘यसले एकातिर शहरी सरसफाइ र वातावरण संरक्षणमा योगदान पुर्‍याएको छ भने अर्कोतिर प्रांगारिक कृषि उत्पादनका लागि आवश्यक मल उपलब्ध गराउने कामसमेत भएको छ ।’

पाँच व्यवसायीको तीन करोड बढी लगानी

नेपाल बायो कम्पोस्टको नेतृत्व यमबहादुर थापाले गरेका छन् । सेनिटरी व्यवसाय गर्दै आएका थापाले कृष्णप्रसाद पन्थी, शान्ति बलाल मगर, राजकुमार श्रेष्ठ र अशोक नेपालीलाई साझेदार बनाएर यो परियोजना सञ्चालन गरेका हुन् ।

सेनिटरी व्यवसायबाट आर्जित आम्दानीलाई फोहोर प्रशोधन तथा व्यवस्थापनको पूर्वाधार निर्माणमा लगानी गरेर उनीहरूले नयाँ उद्यम सुरु गरेका हुन् ।

सञ्चालक अशोक नेपालीका अनुसार सेनिटरी व्यवसायबाट प्रत्येक महिना पाँचै जना साझेदारले औसत ७५ हजार रुपैयाँका दरले आम्दानी गर्दै आएका थिए । तर त्यसबाट प्राप्त आम्दानी व्यक्तिगत उपभोगमा खर्च गर्नुको सट्टा फोहोर प्रशोधन केन्द्र निर्माणमा लगानी गरिएको उनले बताए ।

राज्यले गर्नुपर्ने फोहोर व्यवस्थापनको काम आफूहरूले निजी क्षेत्रबाट गरिरहेको भए पनि आवश्यक संरक्षण र प्रोत्साहन नपाएको नेपालीको गुनासो छ । वर्षौंको मिहिनेत र आम्दानीबाट तीन करोड रुपैयाँभन्दा बढी लगानी गरेर प्रशोधन केन्द्र निर्माण गरिएको उनले बताए ।

‘राज्यले गर्नुपर्ने फोहोर व्यवस्थापनको काम हामीले निजी क्षेत्रबाट गरिरहेका छौँ । तर यस्तो काम गर्ने लगानीकर्तालाई प्रोत्साहन गर्नुको सट्टा कतिपय पक्षबाट निरुत्साहित गर्ने प्रवृत्ति देखिएको छ,’ नेपालीले भने, ‘वर्षौंको आम्दानीबाट तीन करोड बढी लगानी गरेका छौँ । हाम्रो लगानीको संरक्षण र परियोजना दिगो सञ्चालनको सुनिश्चितता राज्यले गर्नुपर्छ ।’

उनका अनुसार फोहोर प्रशोधनका लागि कम्पनीले जमिनमुनि एक लाख लिटर क्षमताको प्रशोधन ट्यांकी निर्माण गरेको छ । ठूलो परिमाणमा दिसाजन्य फोहोर संकलन, प्रशोधन र व्यवस्थापन गर्न आवश्यक पूर्वाधार निर्माणमा कम्पनीले उल्लेख्य लगानी गरेको छ ।

दिसा–पिसाबजन्य फोहोर प्रशोधनको अध्ययन केन्द्र

शौचालयजन्य फोहोर प्रशोधन गरेर प्रांगारिक मल उत्पादन गर्ने यो केन्द्र अहिले देशका विभिन्न स्थानीय तहका लागि अध्ययन र सिकाइको केन्द्रसमेत बन्दै गएको छ । कम्पनीका अध्यक्ष यमबहादुर थापाका अनुसार देशका विभिन्न प्रदेशका स्थानीय तहका प्रमुख, उपप्रमुख तथा सम्बन्धित क्षेत्रका सरकारी अधिकारीहरू प्रशोधन प्रविधि र यसको व्यवस्थापनबारे अध्ययन गर्न केन्द्रमा आउने गरेका छन् ।

हरेक महिनाजसो विभिन्न पालिकाका जनप्रतिनिधि र सरकारी अधिकारीहरू प्रशोधन केन्द्रको अवलोकन तथा अध्ययनका लागि आउने गरेको थापाले बताए । उनका अनुसार शौचालयजन्य फोहोरलाई सुरक्षित रूपमा प्रशोधन गरेर प्रांगारिक मल उत्पादन गर्न सकिने र त्यसबाट आम्दानीसमेत लिन सकिने अभ्यासले अन्य स्थानीय तहलाई पनि आकर्षित गरेको छ ।

‘शौचालयजन्य फोहोर व्यवस्थापन स्थानीय सरकारका लागि सधैं टाउको दुखाइको विषय बन्दै आएको छ । तर यसलाई प्रशोधन गरेर प्रांगारिक मल उत्पादन गर्नुका साथै आम्दानीको स्रोतसमेत बनाउन सकिन्छ भन्ने हामीले व्यवहारमै देखाएका छौं,’ थापाले भने, ‘स्थानीय सरकारले व्यवस्थापन गर्नुपर्ने फोहोर निजी कम्पनीले संकलन र प्रशोधन गरिदिँदा उनीहरूको ठूलो समस्या समाधान भएको छ । यही अभ्यास सिक्न विभिन्न पालिकाका जनप्रतिनिधि र सरकारी अधिकारीहरू आउने गर्नुभएको छ ।’

उनका अनुसार यो केन्द्रको अभ्यासलाई अन्य स्थानीय तहमा पनि विस्तार गर्न सके शौचालयजन्य फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान खोज्न सहज हुनेछ । फोहोरलाई खर्च र समस्याको विषयका रूपमा मात्र नहेरी त्यसबाट उपयोगी उत्पादन र आम्दानी लिन सकिने सम्भावना पनि यसले देखाएको छ ।

यस्तो छ प्रांगारिक मल उत्पादनको प्रक्रिया

कम्पनीले घरघरका शौचालयबाट संकलन गरेको फोहोरलाई गाईवस्तुको गोबरसँग मिसाएर प्रशोधन गर्ने गरेको छ । मेसिनको सहायताले फोहोरबाट डस्ट निकालिन्छ । त्यसमा वनमारा (झारपात), पिना, हड्डीको धुलो, निम तथा सुर्तीको धुलो र ब्याक्टेरियाको विकासमा सहयोग गर्ने ईएम मिसाइन्छ ।

त्यसपछि करिब ४५ दिनसम्म कुहाउने तथा प्रशोधन गर्ने प्रक्रिया अपनाइन्छ । यसरी तयार भएको मललाई सुनवलस्थित प्रयोगशालामा परीक्षण गरेपछि प्याकेजिङ गरी बजारमा पठाउने गरिएको छ ।

नेपाल बायो कम्पोस्टका अध्यक्ष थापाका अनुसार कम्पनीले पछिल्लो एक वर्षदेखि मासिक करिब १० टन प्रांगारिक मल उत्पादन गर्दै आएको छ । उत्पादित मल एक, पाँच र २५ किलोका प्याकेटमा बजारमा बिक्री भइरहेको छ ।

दिसाजन्य फोहोर र गोबरलाई प्रशोधन गरेर तयार गरिएको मल कृषि प्रयोजनमा उपयोग हुँदै आएको छ । यसले रासायनिक मलमाथिको निर्भरता घटाउन र प्रांगारिक खाद्यान्न, तरकारी तथा फलफूल उत्पादनलाई प्रोत्साहन गर्नसमेत सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।

सामुदायिक वनसँगको सहकार्यमा परियोजना

रामनगर सामुदायिक वनसँग सम्झौता गरी २०७८ सालदेखि यो परियोजना सञ्चालन गरिएको हो । तत्कालीन अध्यक्ष क्याप्टेन किशन थापाको कार्यकालमा सामुदायिक वनको साधारणसभाबाट निर्णय भएपछि परियोजना अघि बढाइएको थियो ।

तीन वर्षका लागि गरिएको सम्झौताअनुसार कम्पनीले सामुदायिक वनलाई मासिक ३५ हजार रुपैयाँ भाडा र मल बिक्रीबाट हुने नाफाको ५० प्रतिशत उपलब्ध गराउने सहमति गरेको थियो । पाँच कठ्ठा क्षेत्रफलमा सञ्चालन भइरहेको परियोजनामा एक लाख लिटर क्षमताको ट्रिटमेन्ट प्लान्ट निर्माण गरिएको छ ।

थापाका अनुसार प्लान्ट निर्माणमा करिब तीन करोड रुपैयाँ र सडक निर्माणमा २५ लाख रुपैयाँ खर्च भएको छ । लकडाउनका कारण परियोजना सञ्चालनमा विभिन्न समस्या आए पनि अहिले यसलाई उद्योगका रूपमा स्थापित गर्दै लगिएको उनको भनाइ छ ।

रामनगर सामुदायिक वनका अध्यक्ष रुद्र हमालले परियोजनाले प्रांगारिक मल उत्पादनसँगै वातावरण संरक्षण, प्रांगारिक खाद्यान्न, तरकारी तथा फलफूल उत्पादनमा योगदान पुर्‍याएको बताए ।

शौचालयजन्य फोहोरको उचित व्यवस्थापन नहुँदा खोलानाला, खुला क्षेत्र तथा वन क्षेत्रमा विसर्जन हुने जोखिम रहने उल्लेख गर्दै उनले व्यवस्थित संकलन र प्रशोधनले वातावरणीय प्रदूषण न्यूनीकरणमा सहयोग पुग्ने बताए ।

‘फोहोर व्यवस्थापनसँगै प्रांगारिक मल उत्पादन गरेर कृषि र वातावरण संरक्षणमा योगदान पुर्‍याउने काम आफैंमा महत्वपूर्ण छ,’ हमालले भने, ‘यस्तो चुनौतीपूर्ण काममा निजी क्षेत्रबाट लगानी गर्ने उद्यमीलाई स्थानीय, प्रदेश र संघीय सरकारले संरक्षण र प्रोत्साहन गर्नुपर्छ ।’

उनका अनुसार वन क्षेत्रसँग जोडिएको यस्तो परियोजनाले जैविक स्रोतको उपयोग, फोहोर व्यवस्थापन र वातावरणीय संरक्षणलाई एकसाथ अघि बढाउन सहयोग पुर्‍याएको छ ।

लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?