११ मंसिर, काठमाडौं । तलब वृद्धि, पेन्सन तथा स्वास्थ्य र शिक्षा क्षेत्रमा बजेट बढाउनुपर्ने माग गर्दै ग्रीसमा गरिएको २४ घण्टे राष्ट्रव्यापी हडतालका कारण यातायात तथा सार्वजनिक सेवा प्रभावित भएका छन् ।
ग्रीसको सबैभन्दा ठूलो सार्वजनिक क्षेत्रको ट्रेड युनियन एडेडवाई (ADEDY) तथा देशभरका दर्जनौँ श्रमिक केन्द्र र ट्रेड युनियनको आह्वानमा बुधवार हडताल भएको हो । हडतालका क्रममा राजधानी एथेन्ससहित देशका विभिन्न सहरमा प्रदर्शन भएका छन् ।
एथेन्समा प्रदर्शनकारीहरूले विभिन्न मागसहित नाराबाजी गर्दै संसद् भवनतर्फ र्याली निकालेका थिए । उनीहरूले तलब वृद्धि, पेन्सन तथा स्वास्थ्य र शिक्षा क्षेत्रमा पर्याप्त बजेट विनियोजन गर्न माग गरेका छन् ।
हडतालका कारण एथेन्समा मेट्रो, विद्युतीय रेल र ट्राम सेवा सीमित समयतालिकाअनुसार सञ्चालन भएका थिए । देशभरका बन्दरगाहमा फेरी सेवा ठप्प भएको थियो भने हवाई यातायातसमेत प्रभावित बनेको थियो ।
१५ वटा क्षेत्रीय विमानस्थलमा उडान सूचना सेवामा कार्यरत कर्मचारी हडतालमा सहभागी भएपछि एजियन एयरलाइन्स र एसकेवाई एक्सप्रेसले थुप्रै आन्तरिक उडान रद्द गरेका थिए । विद्यालय, सार्वजनिक अस्पताल र अन्य सरकारी सेवासमेत प्रभावित भएका थिए ।
हडतालको आह्वान गरेको एडेडवाईले देशका प्रमुख आर्थिक, श्रम तथा सामाजिक चुनौती समाधान गर्न प्रभावकारी नीति अवलम्बन गर्न सरकारसँग माग गरेको छ ।
प्रदर्शनमा सहभागी भायोलेटा गालानोपोलुले सार्वजनिक तथा निजी क्षेत्रका श्रमिकसँग ऐक्यबद्धता जनाउँदै आफूहरूले गुमाएको जीवनयापनको अधिकार पुन: प्राप्तिका लागि आवाज उठाएको बताइन् । उनले तलब वृद्धि, १३औँ र १४औँ महिनाको तलब तथा यसअघि कटौती गरिएका तलबमान पुन:स्थापना गर्नुपर्ने माग गरिन् ।
माध्यमिक शिक्षा सरकारी विद्यालय शिक्षक महासंघ (ओएलएमई) का अध्यक्ष आन्द्रियास कार्गोपोलोसले हजारौँ शिक्षक न्यून तलब, असुरक्षित विद्यालय भवन र शिक्षक अभावविरुद्ध हडतालमा उत्रिएको बताए । उनका अनुसार शिक्षकहरू न्यून पारिश्रमिकमा काम गर्न बाध्य छन् भने विद्यालय भवनको अवस्था पनि उपयुक्त छैन । विद्यालयमा शिक्षकको अभाव भइरहँदा व्यावसायिक संस्थाहरूको प्रायोजन भने बढिरहेको उनले टिप्पणी गरे ।
निर्माण, लेखा तथा खानी उद्योगलगायत निजी क्षेत्रका श्रमिक संगठन पनि हडतालमा सहभागी भएका थिए । प्रदर्शनकारीहरूले तलब वृद्धि, सार्वजनिक कर्मचारीका लागि कटौती गरिएका १३औँ र १४औँ महिनाको तलब पुन:स्थापना, विद्युत् तथा इन्धनको मूल्य घटाउन र अत्यावश्यक वस्तुमा मूल्य सीमा तोक्न माग गरेका छन् ।
त्यस्तै, आधारभूत उपभोग्य वस्तुमा मूल्य अभिवृद्धि कर (भ्याट) घटाउन तथा बढ्दो आवास संकट समाधान गर्न भाडा नियन्त्रणलगायतका उपाय अपनाउन पनि उनीहरूले सरकारसँग आग्रह गरेका छन् ।
ग्रीसमा आर्थिक मितव्ययितासम्बन्धी नीतिअन्तर्गत सार्वजनिक क्षेत्रका कर्मचारीले पाउँदै आएको १३औँ र १४औँ महिनाको तलब कटौती गरिएको थियो । पछिल्लो हडतालमा श्रमिक संगठनहरूले उक्त सुविधा पुन:स्थापनालाई प्रमुख माग बनाएका छन् ।
प्रतिक्रिया 4