+
+
Shares
कबिन्द्र बुर्लाकोटीसँग वार्ताः :

‘चीनको चाहना नेपालबाट उच्चस्तरीय भ्रमण छिटो भइदिए हुन्थ्यो भन्ने छ’

‘विवादित अडियोबारे ‘यस्तो गर्न हुँदैनथ्यो’ भनेर मौखिक सचेत गरायौँ’

सरकारी तर्फबाट उच्चस्तरीय भ्रमणको सम्भावनाबारे थोरै अनौपचारिक कुराहरू भए। चीनको चाहना हेर्दा नेपालबाट उच्चस्तरीय भ्रमण छिटो भइदिए हुन्थ्यो भन्ने देखिन्छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ११ गते १७:०८

रास्वपा महामन्त्री विपिन आचार्यको नेतृत्वमा चीन गएको प्रतिनिधिमण्डल विहीबार राति काठमाडौँ फर्केको छ। चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा ११ दिने भ्रमण सकेर रास्वपा टोली फर्किएको हो।

भ्रमण टोलीमा रहेका रास्वपा संसदीय दलका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीसँग चिनियाँ नेताहरूसँग भएको संवाद, भ्रमण गरिएका क्षेत्र र नेताहरूले त्यहाँ दिएको विवादित अडियो लगायतका विषयमा अनलाइनखबरकर्मी लिलु डुम्रेले गरेको संक्षिप्त कुराकानी :

२० जनाको प्रतिनिधिमण्डलले ११ दिन चीनको भ्रमण सकेर फर्कनुभयो। कस्तो रह्यो भ्रमण ?

सरकार र सरकारबीच हुने कुराहरू अलि बढी टेक्निकल हुन्छन्। पार्टी–पार्टीबीच सौहार्दता हुनु राम्रो कुरा रह्यो।

चिनियाँ कम्युनिस्ट पार्टीका एकजना पोलिटब्युरो सदस्य र पार्टीका एकजना प्रदेश प्रमुखसँग छलफल गर्ने अवसर मिल्यो। अन्य तहका नेताहरूसँग पनि छलफल र भेटघाट भयो। भ्रमण फलदायी रह्यो।

उद्योगी–व्यवसायीसँग पनि भेटघाट गर्‍यौँ। केही उद्योगहरूको अवलोकन भ्रमणसमेत गर्‍यौँ। गाडी उत्पादन गर्ने कम्पनीको उत्पादन युनिट र होङ्सी सिमेन्ट (होङ्सी ग्रुप) को भिजिट गर्‍यौँ। बाँसबाट धागो बनाएर कपडा बनाउने कम्पनी हेर्‍यौँ।

विपद्‌पछिको पुनर्निर्माण कसरी गर्न सकिन्छ भन्नेबारे सिचुआनमा चीनले गरेका कार्यहरू हेर्‍यौँ। विपद्‌पूर्व सावधानी अपनाउने तरिका पनि हेर्‍यौँ। समग्रमा भ्रमण फलदायी रह्यो।

उच्च तहमा राजनीतिक संवाद हुन सकेन ?

हामीले भेटेको चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य उच्च तहका ७–८ जना नेतामध्ये एक हुनुहुँदो रहेछ। ली शुलेईसँग भेट भयो।

रास्वपाप्रति चिनियाँ कम्युनिस्ट पार्टीको बुझाइ कस्तो पाउनुभयो ?

नयाँ सोच लिएर आएको नयाँ पार्टी भन्ने उहाँहरूको बुझाइ रहेछ। चुनावबाट दुईतिहाइ (नजिक) सिट ल्याएर सरकार बनाएको दल कस्तो होला भन्ने हामीलाई लागेको थियो भन्नुभयो। रास्वपाका नेताहरूसँग कुरा गरेपछि ‘तिमीहरू परिपक्व पार्टी रहेछौ’ भन्नुभयो। सीपीसी १०५ वर्षको इतिहास भएको पार्टी हो; चार वर्ष मात्रै व्यतीत गरेको रास्वपाका नेताहरूसँग भेटेपछि ‘तिमीहरू प्रोफेसनल पनि रहेछौ’ भन्नुभयो।

डाक्टर, इन्जिनियर र पेसागत रूपमा क्षमता भएका व्यक्तिहरू मिलेर बनाएको परिपक्व पार्टी भएको सीपीसीका नेताहरूले बताउनुभयो। हामीसँगको भेटबाट खुसी भएको प्रतिक्रिया थियो।

वर्तमान सरकारप्रति चिनियाँ सरकार सशङ्कित रहेको बेला–बेलामा टिप्पणी हुने गरेको छ। तपाईंहरूले चिनियाँ नेताहरू भेटेपछि सरकारप्रतिको बुझाइ कस्तो पाउनुभयो ?

त्यस्तो पाइएन। सायद योभन्दा अगाडि त्यस्तो थियो होला। त्यस्तो हुनुमा भेटघाट र संवाद नभएर पनि हुन सक्छ। नगरदेखि सङ्घीय कमिटीमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूले राम्रो रेस्पोन्स गर्नुभयो। सबैजसो मिटिङहरू पार्टीकै कार्यालयमा गराउनुभयो।

अन्तर्राष्ट्रिय विभागको छुट्टै कार्यालय रहेछ। २१ वटा ब्युरोमध्ये ब्युरो वानका प्रमुख नेतासँग पनि भेटघाट गर्‍यौँ। त्यो दुई पक्षको औपचारिक भेटघाट थियो। लन्च पनि उहाँसँगै गर्‍यौँ। पोलिटब्युरो सदस्यसँग पार्टी केन्द्रीय कार्यालयमा भेट्यौँ।

यो भ्रमणले एउटा त दुई पक्षको सम्बन्धको कुरा रह्यो, अर्कोचाहिँ चिनियाँ कम्युनिस्ट पार्टी कसरी चलिरहेको छ भन्ने सिक्ने अवसर पनि बन्यो।

चिनियाँ कम्युनिस्ट पार्टीबाट पार्टी सञ्चालनमा तपाईंहरूलाई के सिकाइ भयो ?

अनुशासनमा बाँधिएको पार्टी रहेछ। त्यसबाट धेरै चिजहरू लिन सक्छौँ। पार्टीको चेन अफ कमान्ड र निर्णय प्रक्रियाका कुराहरू सिक्नका लागि असाध्यै महत्त्वपूर्ण छन्। हामी नयाँ पार्टीले मात्रै होइन, पुराना पार्टीहरूले पनि सायद त्यो अनुभव गर्नुभएको होला।

पार्टीले गर्ने निर्णयहरू जनमुखी हुनुपर्ने, राष्ट्रकेन्द्रित हुनुपर्ने र त्यसका लागि पार्टी बलियो भएर अगाडि बढ्ने भन्ने हिसाबको धारणा रहेको बुझ्यौँ।

तपाईंहरूको यो भ्रमणमा पार्टी र सरकारको उच्चस्तरीय भ्रमण गराउने कुराहरू पनि उठे कि ?

सरकारी तर्फबाट उच्चस्तरीय भ्रमणको सम्भावनाबारे थोरै अनौपचारिक कुराहरू भए। यसमा औपचारिक कुरा भने भएन। चीनको चाहना हेर्दा नेपालबाट उच्चस्तरीय भ्रमण छिटो भइदिए हुन्थ्यो भन्ने देखिन्छ।

उच्चस्तरीय भ्रमण सरकारबाट कि पार्टीबाट चीनले चाहना राखेको हो ?

सीपीसीले रास्वपाको सभापति र सरकारको पनि उच्चस्तरीय भ्रमण होस् भन्ने चाहना राखेको देखिन्छ। दुई देश र दुई पार्टीबीचको भेटघाट बाक्लो होस् भन्ने चिनियाँ चाहना देखिन्छ। निकट छिमेकी भएकाले दुई देशबीचका भेटघाटहरू बाक्लो हुनुपर्छ भन्ने उहाँहरूको धारणा थियो। भेटघाटबाट दुई देशको हितमा र नागरिक तहमा मद्दत पुग्छ भन्ने चिनियाँ नेताहरूको बुझाइ पायौँ। भ्याकुम नरहोस् भन्नेमा उहाँहरूको चाहना देखियो।

तपाईंहरू चीन भ्रमण गरिरहेको बेला त्यहाँ रहेका रास्वपाका नेताहरूको बोली विवादित भयो। चीन भ्रमणमा गएका रास्वपाका नेताहरूले पार्टीकै चाहना बोले भन्छन् नि ! यसमा तपाईंको के प्रतिक्रिया छ ?

साथीहरू वा पार्टी नेताहरू भेट्दा कहिलेकाहीँ अनौपचारिक कुराहरू हुन्छन्। कतिपय गफहरू अनौपचारिक हुन्छन्। साथीहरूको अनौपचारिक छलफलमा देशको राजनीतिक परिस्थितिको कुरा हुन्छ। एउटा संवाद त्रुटिवश सामाजिक सञ्जालमा गएको देखियो।

त्यस्ता विषयमा छलफल हामी सबै सदस्य बसेर गर्दैनौँ। रास्वपाले गर्दैन।

रास्वपाले चाहेको त्यही हो, जुन विषयलाई चीन गएर रास्वपा सांसदले बाहिर ल्याइदिए भन्छन् नि ?

व्यक्तिगत छलफल गर्दा सयौँ साथीहरूका सयौँ विचार होलान्। अरू पार्टीलाई हेर्ने विचार, पार्टीभित्रै नेताहरूलाई हेर्ने विचार फरक–फरक होलान्। २–३ जना बसेर कतै कुरा गर्नुभएको थियो। त्यतिखेर त्यो त्रुटिवश बाहिर आयो। त्रुटि भएर आयो भनेर उहाँहरूले भन्नुभयो।

उहाँहरूलाई सचेत बनाउने कार्य पनि पार्टीले गर्‍यो कि ?

‘तपाईंहरूले यस्तो कार्य गर्न हुँदैनथ्यो’ भनेर मौखिक रूपमा भन्यौँ। यस्तो कुराकानी गर्न नहुने र बाहिर ल्याउन नहुने त भनियो। एक प्रकारले उहाँहरू आफैँ सचेत हुनुभएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?