११ मंसिर, काठमाडौं । हुंकार मधेशले अघि सारेको ‘हुंकार हुलाकी यात्रा’ शुक्रबारदेखि सप्तरीबाट सुरु भएको छ ।
पहिलो चरणअन्तर्गत शुक्रबार राजविराजस्थित शिव मन्दिरबाट सुरु भएको यात्राले विभिन्न स्थानमा पुगेर किसान, विद्यार्थी, शिक्षक तथा शैक्षिक क्षेत्रका सरोकारवालासँग अन्तरक्रिया गरेको छ ।
राजविराजबाट सुरु भएको यात्रा राजगढ गाउँपालिकाको नर्घो पुगेर किसानहरूसँग संवाद गरेको प्रवक्ता केशवकुमारले बताए । संवादमा किसानहरूले सिँचाइ, मलखाद, बाली बिमा, कृषि उपजको मूल्य निर्धारण, कृषि शिक्षा, कृषि सडक तथा विद्युत् सुविधाको अभावलगायतका समस्या सुनाएको उनले बताए ।
संवादपछि यात्रा तिलाठीस्थित पब्लिक माध्यमिक विद्यालय लौनियाँ पुगेको थियो । लौनियाँमा सामुदायिक विद्यालयको अवस्था, विद्यार्थी तथा शिक्षकका समस्या, पठनपाठन, पाठ्यक्रम र शिक्षा नीतिबारे विशेष अन्तरक्रिया गरिएको थियो ।
अन्तरक्रियाका क्रममा सामुदायिक विद्यालयमा सरसफाइको अभाव, प्रयोगात्मक शिक्षाका लागि आवश्यक सुविधा नहुनु, भवन अभाव, विद्यार्थीको अनियमित उपस्थिति, शिक्षक समयमै विद्यालय नआउने तथा अतिरिक्त क्रियाकलापको कमी जस्ता समस्या उठेका थिए ।
विद्यालय व्यवस्थापन समिति, अभिभावक र स्थानीय तहले समेत विद्यालयको शैक्षिक गुणस्तरप्रति पर्याप्त चासो नदिएको गुनासो सहभागीहरूले गरेका थिए ।
यात्राकै क्रममा राजविराजस्थित लालिगुँरास बोर्डिङ स्कुल पुगेर सरकारी र निजी विद्यालयबीचको अवस्थाबारे तुलनात्मक अध्ययनसमेत गरिएको प्रवक्ता केशवकुमारले बताए ।
हुंकार मधेशले आफ्ना २३ सूत्रीय माग यसअघि नै प्रधानमन्त्रीसमक्ष बुझाइसकेको जनाएको छ । ती माग र नागरिकका वास्तविक समस्या पहिचान गर्ने उद्देश्यले हुलाकी यात्रा सुरु गरिएको हो ।
प्रतिक्रिया 4