११ मंसिर, काठमाडौं । सेयर बजारमा हाल सूचीकृत कुल सेयर संख्या २० अर्ब ८७ करोड ८९ लाख ६३ हजार ६६६ कित्ता रहेको छ । तर त्यो सेयरमध्ये ८४ करोड ६८ लाख ४९ हजार २१५ कित्ता सेयरको अत्तोपत्तो छैन । अर्थात् सूचीकृतमध्ये ४ प्रतिशत सेयर न कारोबारमा आउँछ, न त्यो सेयरले लाभांश नै लैजान्छ ।
सीडीएस एन्ड क्लियरिङका अनुसार हालसम्म सूचीकृतमध्ये २० अर्ब ३ करोड २१ लाख १४ हजार ४५१ कित्ता सेयर डिम्याट भएको छ बाँकी सेयरको अत्तोपत्तो छैन । डिम्याट अनिवार्य गरी कार्यान्वयनमा ल्याएको एक दशक बितेको छ, तर यति लामो अवधिसम्म पनि सूचीकृतको ४ प्रतिशत सेयर डिम्याट हुन सकेको छैन ।
अझ रोचक त यसरी अत्तोपत्तो नभएको सेयर संख्या बर्सेनि बढ्दो छ । ठिक दुई वर्षअघि डिम्याट हुन नसकेको सेयर संख्या ७५ करोड थियो । दुई वर्षपछि करिब १० करोड कित्ता सेयर डिम्याटबाहिर थपिएका छन् । डिम्याट खाता खोल्नेको संख्या भने दैनिक बढ्दै गएको छ । हालसम्म ८१ लाख ४० हजार १३६ जनाको डिम्याट खाता खुलेको छ । तर कतिपय खाता दोहोरिएको, तेहरिएको हुन सक्ने भएकाले डिम्याट खाता खोल्नेको संख्या बढे पनि डिम्याट नभएको सेयर संख्या घट्न सकेको छैन ।
सीडीएससीका डेपुटी म्यानेजर सुरेश न्यौपानेले कतिपय कम्पनीका संस्थापक सेयर सूचीकृत भए पनि डिम्याट नभएको बताए । ‘सेयर सूचीकृत भए पनि कतिपय अवस्थामा संस्थापक सेयर तत्कालै डिम्याट नहुने भएकाले यस्तो सेयर संख्या बढेको हो’ उनले भने ।
कम्पनीहरूले संस्थापक सेयरधनीलाई प्रमाणपत्र वा अन्य प्रमाणित पत्र प्रदान गर्दछन् । जब लकइन अवधि खुल्छ तब मात्रै ती सेयर बेच्न पाइने भएकाले लकइन अवधि खुल्ने बेला मात्रै डिम्याट खातामा जम्मा हुने गरेको छ ।
सर्वसाधारणलाई बाँडफाँट भएपछिको ३ वर्षसम्म संस्थापक सेयरमा लकइन अवधि रहने गरेको छ । कतिपय संस्थापक सेयर डिम्याट नभएकै कागजी प्रमाणपत्रको सेयर संख्या बढेको सीडीएससीको दाबी छ ।
तर थुप्रै सेयर प्रमाणपत्र विगतमा नष्ट भएको, हराएको हुन सक्ने अनुमान गर्न सकिन्छ । अहिले पनि कतिपय सेयरधनी आफूहरूको प्रमाणपत्र हराएको भन्दै आउने गरेको कृषि विकास बैंकका कम्पनी सचिव हिमलाल पौड्याल बताउँछन् ।
‘हामीले विगतमा गाउँगाउँका किसानलाई सेयरधनी बनायौँ, त्यतिबेला कतिपयलाई सेयरको विषयमा राम्ररी जानकारी र चासो थिएन, तिमध्ये अझै कतिपय सेयर डिम्याट भएका छैनन्’ उनले भने ‘तर डिम्याटमा लैजाने क्रम भने अझै पनि चलिरहेको छ, हाम्रो बैंकको हकमा डिम्याट नभएका सेयर संख्या घट्दै गएको देखिन्छ ।’
अझै पनि कतिपय सेयरधनीले सेयर प्रमाणपत्र हराएको वा नष्ट भएको भन्दै आउने गरेको उनले स्पष्ट पारे । यदि कोही सेयरधनी प्रमाणपत्र हराएको वा क्षति भएको भनी दाबी गर्न आएमा सेयर रजिस्टार कम्पनीले रेकर्डमा राखेको विवरणसँग सेयरधनीको विवरण रुजु गर्ने गर्दछन् ।
रुजु गरेर विवरण मिलेको खण्डमा सेयर प्रदान हुन्छ । सो सेयर माग दाबीका लागि सार्वजनिक सूचना जारी गरिन्छ । कसैको माग दाबी नपरेपछि रुजु विवरणका आधारमा सेयर प्रदान गरिन्छ ।
‘कोही सेयरधनी प्रमाणपत्र हराएको वा नष्ट भएकै आधारमा मालिक हुनबाट वञ्चित हुँदैन, उसको विवरण रुजु गरी विगतमा दिइएका बोनस र नगद लाभांशसहित सेयर प्रदान गरिन्छ’ पौड्यालले भने ।
डिम्याट हुन नसकेका सेयर धेरैजसो बैंक तथा वित्तीय संस्थाका छन् । कतिपय अवस्थामा मर्जर तथा एक्वीजिसनले पनि सर्वसाधारणमा अलमल भएको हुन सक्छ । मर्ज तथा एक्वीजिसनमा गएर नाम हटिसकेका कम्पनीको हकमा कम्पनी नै नभएको शंका कतिपयलाई लाग्न सक्छ । तर मर्जर तथा एक्वीजिसन जुन कम्पनीले गरेको त्यहीं कम्पनीको सेयर प्रदान गरिन्छ ।
धेरै व्यक्तिले सेयर प्रमाणपत्र नभएकै कारण बेवास्ता गर्ने गरेका हुन सक्छन् । तर कुनै समय सेयर प्रमाणपत्र लिएको भएमा त्यसको रेकर्ड सेयर रजिस्टार कम्पनीसँग हुने भएकाले व्यक्ति आफ्नो विवरण खुल्ने प्रमाणित कागजातका आधारमा सेयर पाउनेछन् ।
सीडीएससीले २०६९ साउन १ गतेदेखि डिम्याट सेवा सञ्चालनमा ल्याएको थियो । सुरुमा लगानीकर्ताले कागजी सेयर प्रमाणपत्रलाई विद्युतीय अभिलेखमा रूपान्तरण गर्दै डिम्याट खातामा जम्मा गर्न सक्ने व्यवस्था गरियो ।
२०७२ माघदेखि दोस्रो बजारमा डिम्याट सेयरको मात्र कारोबार गर्ने व्यवस्था लागु गरियो । त्यस्तै २०७३ साउन १ गतेदेखि काठमाडौं उपत्यकाभित्र र उपत्यकाबाहिर २०७३ माघ १ गतेदेखि सार्वजनिक निष्कासनमा आवेदन दिन डिम्याट खाता अनिवार्य गरिएको थियो ।
डिम्याट नहुँदा के हुन्छ असर ?
डिम्याट नभएका सेयर दोस्रो बजारमा खरिदबिक्री गर्न सकिँदैन । अहिले सेयर कारोबारका लागि डिम्याट खाता अनिवार्य भएकाले कागजी प्रमाणपत्र भएका लगानीकर्ताले पहिले त्यसलाई डिम्याट खाता खोलेर खातामा जम्मा गराउनुपर्छ ।
विशेषगरी लामो समयदेखि सेयर प्रमाणपत्र होल्ड गरेर बसेका पुराना लगानीकर्तालाई यसले असर गरेको छ । उनीहरूले आवश्यक परेको समयमा सेयर बिक्री गर्न पाउँदैनन् ।
त्यस्तै, सेयरको स्वामित्व हस्तान्तरण गर्न पनि सकिँदैन । यदि बाबु वा आमाको नाममा सेयर प्रमाणपत्र छ भने त्यसलाई डिम्याट नगरी छोराछोरी वा हकवालालाई हस्तान्तरण गर्न सकिँदैन ।
धेरै कम्पनीले बर्सेनि बोनस सेयर तथा नगद लाभांश प्रदान गर्दै आएका छन् । सेयर डिम्याट नभएकाको हकमा ती लाभांश प्रदान गर्न सकिँदैन । ‘डिम्याट नभएका हकमा बोनस र नगद लाभांश प्रदान गर्न सकिँदैन, तर डिम्याट भइसकेपछि पुरानो बोनस र नगद लाभांश पनि एकैपटक प्रदान गरिन्छ’ पौड्यालले भने ।
यसरी सेयर डिम्याट नहुँदा कम्पनीहरूले वितरण गर्न नसकेको लाभांश रकम पनि बढ्दै गएको छ । ५ वर्षसम्म पनि लगानीकर्ताले लाभांश नलगेमा वा लगानीकर्ताको बैंक खातामा जम्मा हुन नसकेमा त्यो रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुन्छ ।
कोषमा यस्तो रकम बर्सेनि बढ्दै गएको छ । २०८१ असार मसान्तसम्म कोषमा यस्तो रकम ५७ करोड रुपैयाँ रहेकोमा २०८३ असार मसान्तसम्म आइपुग्दा १ अर्ब १९ करोड ९५ लाख रुपैयाँ पुगेको छ ।
अर्कोतर्फ डिम्याट नभएको सेयर सूचीकृत सेयर संख्यामा देखिन्छ तर कारोबारमा आउन सक्दैन । त्यसैले सूचीकृत र डिम्याटमा रहेको सेयरको संख्याबीच अन्तर रहँदा बजारको वास्तविक अभिलेख तथा स्वामित्वको विवरण मिलान गर्न चुनौती उत्पन्न हुन्छ ।
प्रतिक्रिया 4