+
+
Shares

लभलाई प्रियंका जग्गासँग दाँजेपछि विवादमा माही

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ११ गते १७:०७

‘बिग बोस २०’ को घरमा १० वर्षअघिको ‘बिग बोस’ विवाद फेरि चर्चामा ल्याएको छ । अभिनेत्री माही विजले लभ गिललाई ‘बिग बोस १०’ की प्रतियोगी प्रियंका जग्गासँग तुलना गरेपछि प्रियंका पनि यो चर्चामा जोडिएकी छन् ।

पछिल्लो एपिसोडमा माही र लभबीच चर्काचर्की भएको थियो । विवादका क्रममा माहीले लभलाई प्रियंकाको उदाहरण दिँदै आफ्नो कुरा राखेकी थिइन् ।

त्यसपछि घरका अन्य सदस्यबीच पनि प्रियंकाको चर्चा सुरु भएको थियो ।

माहीले घरका सदस्यहरूसँग कुरा गर्दै भनेकी थिइन्, ‘अहिले यसले मलाई १० हप्तामा जे भन्यो, मैले यसलाई एउटै लाइनमा तड्पाइदिएँ । यसलाई पनि थाहा होला प्रियंका को हुन् भनेर ।’

तर लभले भने प्रियंका को हुन् भन्ने थाहा नभएको संकेत गरिन् । उनले कनिका र गुल्लूतर्फ हेर्दै ‘प्रियंका को हुन् ?’ भनेर सोधेकी थिइन ।

कनिकाले पनि माहीको तुलना बुझ्न सकिनन् । उनले उल्टै प्रियंकाको नामसँग कुनै नकारात्मक अर्थ जोडिएको हो कि भन्दै प्रश्न गरेकी थिइन् ।

फ्यानको पोस्ट सेयर गर्दै प्रियंकाको प्रतिक्रिया

माहीले गरेको तुलनापछि प्रियंका जग्गाले पनि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाएकी छिन् । उनले एक फ्यानले बनाएको पोस्ट आफ्नो इन्स्टाग्राम स्टोरीमा सेयर गरेकी छिन् ।

उक्त पोस्टमा लभ गिल र प्रियंकालाई एउटै नजरले नहेर्न आग्रह गरिएको छ । प्रियंकाले ‘बिग बोस’मा आफ्नै फरक सोच र खेल देखाएको भन्दै उनको शैलीलाई छुट्टै रूपमा हेर्नुपर्ने तर्क गरिएको छ ।

प्रियंकाले पोस्ट सेयर गर्नु नै माहीको तुलनाप्रतिको उनको प्रतिक्रिया भएको अनुमान गरिएको छ ।

आखिर, को हुन् प्रियंका जग्गा ?

प्रियंका जग्गा ‘बिग बोस १०’ का कारण निकै चर्चामा आएकी प्रतियोगी हुन् । सन् २०१६ मा प्रसारण भएको उक्त सिजनमा उनको व्यवहार र विवादास्पद अभिव्यक्तिले बारम्बार चर्चा पाएको थियो ।

विशेषगरी सहप्रतियोगी लोपामुद्रा राउत र मनु पञ्जाबीकी दिवंगत आमाबारे उनले गरेको आपत्तिजनक टिप्पणीपछि विवाद चर्किएको थियो । ‘वीकएन्ड का वार’मा सलमान खानले उनको व्यवहारप्रति कडा आपत्ति जनाएका थिए ।

सलमानले प्रियंकालाई शोबाट बाहिरिन निर्देशन दिएका थिए । उनले भविष्यमा प्रियंका ‘बिग बोस’ वा कलर्सको अन्य कुनै कार्यक्रममा देखिए आफू उक्त च्यानलसँग काम नगर्ने चेतावनीसमेत दिएका थिए ।

यसपछि प्रियंकाको ‘बिग बोस’ यात्रा दर्शकको भोटबाट होइन, सलमानको हस्तक्षेपपछि टुंगिएको थियो । यही कारण उनको नाम ‘बिग बोस’को इतिहासमा सबैभन्दा विवादित प्रतियोगीमध्ये एकका रूपमा अझै चर्चामा आउने गर्छ ।

माही विजले लव गिललाई प्रियंकासँग दाँजेपछि अहिले यही पुरानो प्रसंग फेरि सामाजिक सञ्जालमा चर्चामा आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?