११ मंसिर, काठमाडौं । ‘म २०४७ सालमा शिक्षक भएर यहाँ आउँदा ठुलागी (डोना) ताल निकै सुन्दर थियो । तालको नीलो पानी, त्यसको माथि देखिने हिमनदी र हिमनदीबाट बग्ने पानीले यो ठाउँको सौन्दर्य नै छुट्टै बनाएको थियो । अहिले त्यो दृश्य छैन, हिमनदी नै हराइसकेको छ ।’
यो मनाङको नासो गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङको भनाइ हो । उनका अनुसार ठुलागी केवल हिमताल होइन, तीन दशकभन्दा लामो समयको आँखै अगाडि बदलिएको भूगोल हो । उनले देखेको तालको प्राकृतिक सौन्दर्यमा ठूलो परिवर्तन आइसकेको छ । तालमाथि देखिने हिमनदी पछाडि हट्दै गएको छ, आसपासका डाँडामा हिउँ कम हुँदै गएको छ र कतिपय ठाउँमा नांगा चट्टान देखिन थालेका छन् ।
२०४७ साल वैशाखमा सरकारी विद्यालयको शिक्षक भएर सो ठाउँमा पुग्दा उनले आकर्षक गंगापूर्ण र ठुलागी देखेका थिए । नीला हिमनदीको थप आकर्षण त छँदै थिए ।
तर, समयसँगै ताल र आसपासको भूगोल बदलिँदै गयो । गुरुङका अनुसार २०७७ सालतिर तालको पानी घटेको र स्वरूप फेरिएको देखेपछि स्थानीय स्तरमा ताल पुन:स्थापना तथा संरक्षणको प्रयास थालिएको थियो । गाउँपालिकाले डोजर लगाएर ताल केही फराकिलो बनायो । ‘२०८० सालसम्म म पुन: त्यो ठाउँमा पुग्दा तालको स्वरूप केही सुधारिएको भए पनि पुरानो प्राकृतिक दृश्य फर्किएको थिएन,’ गुरुङले गत बुधबार अनलाइनखबरलाई सुनाए, ‘हिमनदी हराउँदै गएको र आसपासका क्षेत्रमा हिउँ कम भएको परिवर्तन भने स्पष्ट देखिन थालेको थियो ।’
गुरुङले देखेको यो परिवर्तन ठुलागी तालको मात्रै कथा होइन । हिमालमा तापक्रम वृद्धि, हिमनदीको तीव्र क्षय र हिमतालको विस्तारले निम्त्याइरहेको जलवायु संकटको एउटा प्रत्यक्ष संकेत हो ।
सात वर्षमा चार गुणा बढ्यो ठुलागी ताल
जल तथा ऊर्जा आयोग सचिवालयअन्तर्गत जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको विश्लेषणअनुसार मनाङस्थित ठुलागी (डोना) ताल पछिल्ला वर्षहरुमा तीव्र विस्तार भएको देखिएको छ ।
समुद्री सतहबाट करिब ५ हजार मिटर उचाइमा रहेको ठुलागी ताल मोरेनले थुनेर बनेको छ । सन् १९५८ मा यसको क्षेत्रफल करिब ०.२२ वर्गकिलोमिटर थियो । सन् १९९५ मा बढेर ०.७६ वर्ग किलोमिटर पुग्यो । सन् २००९ मा अझै बढेर ०.९४ वर्गकिलोमिटर पुगेको यो ताल सन् २०१८ मा भने थोरै घटेर ०.९३ वर्गकिलोमिटर अभिलेख भयो ।
केन्द्रका उपकार्यकारी निर्देशक डा. राजन भट्टराईका अनुसार ठुलागी तालको क्षेत्र सन् २०१८ को तुलनामा पुन: विस्तार हुँदै गएको छ । सन् २०१८ को तुलनामा सन् २०१९ मा यसको क्षेत्र ६ प्रतिशत र लम्बाइ एक प्रतिशतले बढेको छ ।
सन् २०२० मा ४ प्रतिशत क्षेत्र घटे पनि लम्बाइ भने २ प्रतिशतले बढेको छ । सन् २०२१ मा क्षेत्र ५ प्रतिशत र लम्बाइ २ प्रतिशत बढेको छ ।
यसैगरी सन् २०२२ मा क्षेत्र ९ प्रतिशत बढेको छ भने लम्बाइ ५ प्रतिशत यथावत छ ।
सन् २०२३ मा क्षेत्र र लम्बाइ समान ८ प्रतिशतले बढेको छ ।
सन् २०२४ मा क्षेत्र १३ प्रतिशतले र लम्बाई १२ प्रतिशतले बढेको देखिन्छ ।
सन् २०२५ मा क्षेत्र १७ प्रतिशतले र लम्बाई १४ प्रतिशतले बढेको केन्द्रको विश्लेषण छ ।
ठुलागी ताल विस्तार हुनुको मुख्य कारण जलवायु परिवर्तनका कारण तापक्रम वृद्धि, ठुलागी हिमनदी पग्लिनु र हिउँ तथा बरफ पग्लिएर तालमा पानी थपिनु मुख्य कारण हो ।
सो तालको परिवर्तनलाई प्रत्यक्ष देख्दै/भोग्दै आएका नासो गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले अनलाइनखबरसँग भने, ‘यस्तै अवस्था रहीरहे ताल फुट्न धेरै वर्ष लाग्दैन । मलाई त सात वर्ष अघि नै ताल फुटिसक्छ जस्तो लाग्छ ।’

यदि ताल फुटेमा सबैभन्दा बढी जोखिम तालबाट निस्कने डोना खोला, ताल गाउँ तथा मर्स्याङ्दी नदीको तटीय क्षेत्रमा हुन सक्ने अनुमान छ ।
अध्यक्ष गुरुङ ठुलागी तालको जोखिमलाई स्थानीय भूगोल र नदीको बहावसँग जोडेर हेर्छन् । उनी मनाङकै नासो गाउँपालिकाका वडा नम्बर १, २, ३ र ४ का क्षेत्र प्रभावित हुन सक्ने सम्भावना रहेको बताउँछन् ।
त्यस्तै, गोरखाका जगत, दोर्दी, राइनास, पालुङटार, लम्जुङको बेसीसहर र तनहुँको भानु नगरपालिकासम्म क्षति पुग्न सक्ने उनी अनुमान गर्छन् ।
‘त्यसैले तालको पानी घटाउँदै विपदको पूर्वसूचनाको संयन्त्र व्यवस्थित र विस्तार गर्न तत्काल आवश्यक छ,’ उनले भने ।
जोखिम घटाउने सरकारी प्रयास
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)ले गरेको अध्ययन प्रतिवेदनमा ठुलागी ताललाई उच्च जोखिमयुक्त तालको सूचीमा तेस्रो स्थानमा राखिएको छ । सूचीको पहिलो स्थानमा दोलखाको च्छो रोल्पा र दोस्रो स्थानमा सोलुखुम्बुको इम्जा ताल छन् ।
च्छो रोल्पा र इम्जा तालको पानीको सतह नेपाली सेनाको सहयोगमा घटाइसकेको सरकारले अब ठुलागीसहित थप चार हिमतालको पनि सतह घटाउन लागेको छ ।
नेपाल सरकार र यूएनडीपीको सहयोगमा सञ्चालन हुने ‘ग्लोफ सञ्जीवनी’ परियोजनाअन्तर्गत मनाङको ठुलागी, संखुवासभाको लोअर बरुण तथा सोलुखुम्बुका लुम्दिङ छो र होंगु–२ हिमतालको पानी घटाउने योजना अघि बढाइएको छ ।

योजनाअनुसार ठुलागी, लोअर बरुण र लुम्दिङ छो हिमतालको पानीको सतह करिब तीन मिटर घटाइने छ । होंगु–२ को सतह भने एक मिटर घटाउने लक्ष्य राखिएको छ । परियोजनाले हिमतालको पानी घटाउने कामसँगै तल्लो तटीय क्षेत्रमा बाढी पूर्वसूचना प्रणाली विस्तार गर्ने योजना पनि अघि सारेको छ ।
ग्रीन क्लाइमेट फण्डको सहयोगमा चार हिमतालको पानीको सतह घटाउने तथा मर्स्याङ्दी, अरुण, दूधकोशी र लोअर बरुण नदी क्षेत्रका जोखिमयुक्त स्थानमा पूर्वसूचना प्रणाली विस्तार गर्ने गरिने जलस्रोत अनुसन्धान केन्द्रका उपकार्यकारी निर्देशक डा. राजन भट्टराई बताउँछन् ।
परियोजनाको कार्यान्वयन अवधि २०२७ देखि २०३३ सम्म रहने छ । यसको कुल लागत ४९.९४ मिलियन अमेरिकी डलर छ ।
‘ग्लोफ सञ्जीवनी’ परियोजनामा यूएनडीपीको तर्फबाट मुख्य प्राविधिक अगुवा तथा समन्वयकर्ता रहेका दीपक केसीका अनुसार यस परियोजनाबाट चार लाख मानिस प्रत्यक्ष लाभान्वित हुनेछन् भने अप्रत्यक्ष लाभ २० लाख मानिसलाई हुने अनुमान छ ।
तीव्र गतिमा पछाडि हट्दै हिमनदी
हिन्दुकुश हिमालय क्षेत्रमा हिमनदीहरू पछाडि हट्ने गति पछिल्लो दशकमा थप तीव्र भएको विभिन्न अध्ययनले देखाएका छन् । २०११ देखि २०२० को दशकमा हिमनदीहरू अघिल्लो दशकको तुलनामा ६५ प्रतिशत तीव्र गतिमा पछाडि हटेको केन्द्रको अध्ययनले देखाएको छ ।
जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक सञ्जीव बरालका अनुसार हिन्दुकुश हिमालय क्षेत्रका हिमनदीहरू निरन्तर घट्दै छन् । ठुलागी हिमनदी पनि प्रतिवर्ष करिब ३० मिटरको दरले पछाडि हटिरहेको छ ।
‘हामीले ओभरल हिन्दुकुश हिमालयमा नै मात्रै कुरा गर्दापनि प्रत्येक वर्ष ग्लेसियर्सहरू घट्दै गइरहेको छ । अघिल्लो दशकभन्दा २०११ देखि २०२० को दशकमा ६५ प्रतिशत तीव्र गति यो घटिरहेको विभिन्न अध्ययनहरूले देखाएको छ । हामीले ठुलागीलाई मात्रै हेर्ने हो भने पनि प्रतिवर्ष ३० मिटरको दरले ग्लेसियर घटिरहेको छ,’ बराल भन्छन् ।
हिमनदी पछाडि हट्नु र हिमतालको पानीको मात्रा तथा क्षेत्रफल बढ्नुले हिमाली क्षेत्रको भौगोलिक जोखिम पनि बदलिरहेको छ । हिमनदीबाट पग्लिएको पानी हिमतालमा जम्मा हुँदै जाँदा तालको आकार बढ्न सक्छ । तालको विस्तारले प्राकृतिक बाँध फुटेर वा हिमनदीका ढिक्का खसेर हिमताल विस्फोट भई बाढी आउने जोखिमसमेत बढ्छ ।
सन् १९८७ देखि २०१७ सम्म नेपालका हिमतालहरूको समग्र क्षेत्रफल २५ प्रतिशत बढेको तथ्यांकले देखाउँछ । हिमताल विस्तारको यो प्रवृत्तिले हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभावसँगै हिमतालजन्य विपद्को जोखिमसमेत बढ्दै गएको संकेत गर्छ । नेपालमा गत भदौ १० गतेको भोटेकोशी–रसुवा बाढी, कात्तिक २५ को बूढीगण्डकीको बाढी, सोलुखुम्बुको थामे बाढीका क्षति पछिल्ला उदाहरणहरू हुन् ।
ग्लोफबाट गम्भीर क्षति
हिमताल विस्फोटबाट हुने बाढी (ग्लेसियल लेक आउटबर्स्ट – ग्लोफ) हिमाली क्षेत्रको प्रमुख विपद् जोखिममध्ये एक हो ।
सन् २०२० मा यूएनडीपी र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को अध्ययनले नेपाल, चीन र भारतका हिमाली क्षेत्रमा ४७ वटा सम्भावित जोखिमयुक्त हिमताल पहिचान गरेको थियो । तीमध्ये नेपालमा २१, चीनको तिब्बतमा २५ र भारतमा एउटा रहेको अध्ययनले देखाएको छ ।
तर कहिलेकाहीँ जोखिम पहिचान नै नगरिएका ताल वा पोखरीले पनि क्षति पुर्याउने गरेका छन् । सोलुखुम्बुको थामे बाढी यस्तै नोटिसमै नरहेको साना पोखरीका कारण सिर्जना भएको थियो ।
इसिमोडको अध्ययन प्रतिवेदन अनुसार थामे गाउँभन्दा माथि थियाङ्बो हिमनदीको फेदीमा रहेका ५ वटा साना–ठूला हिमतालहरूमध्ये एउटाको बाँध एक्कासि फुटेर ठूलो परिमाणमा पानी र गेग्रानसहितको बाढी आएको थियो । सो बाढीले पर्यटकीय केन्द्र थामे गाउँ तहसनहस पारेको थियो ।
यसैगरी गत भदौ १० गते भोटेकोशी–रसुवा बाढी र कात्तिक २५ गतेको गोरखाको बूढीगण्डकी बाढी पनि उस्तै प्रकृतिका थिए ।
बूढीगण्डकीको तुलनामा भोटेकोशी–रसुवा बाढीबाट ठूलो मानवीय र भौतिक क्षति भएको थियो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भोटेकोशी–रसुवा बाढीमा परी १ हजार ४५७ जनाको ज्यान गयो भने ५ हजार २८५ जना बेपत्ता छन् ।
प्राधिकरणको नेतृत्वमा तयार गरिएको द्रुत क्षति तथा आवश्यकता मूल्यांकन प्रतिवेदनअनुसार भौतिक संरचनामा १ अर्ब ८१ करोड २० लाख अमेरिकी डलर बराबरको क्षति भएको छ । त्यस्तै, आर्थिक नोक्सानी ८८ करोड ३३ लाख अमेरिकी डलर अनुमान गरिएको छ । प्रभावित क्षेत्रमा पुन:स्थापना तथा पुनर्निर्माणका लागि ४ अर्ब ७७ करोड ४९ लाख अमेरिकी डलर आवश्यक पर्ने अनुमान गरिएको छ ।
यी केही प्रतिनिधि घटना हुन् । नेपाल र आसपासका हिमाली क्षेत्रमा पछिल्लो ६ दशकमा ३० भन्दा बढी हिमताल विस्फोटका घटना भएका छन् ।
हिमतालको पानी घटाउनु जोखिम न्यूनीकरणको एउटा उपाय भए पनि त्यो मात्र पर्याप्त नभएको इसिमोडका ग्लोफ विज्ञ सुदन विकास महर्जन बताउँछन् । ‘हिउँ बस्ने चट्टान नै भत्किएर र हिमनदीको ढिक्का खसेर भोटेकोशी–रसुवा बाढीले अकल्पनीय रुप लिएको थियो । त्यसैले अबका दिनमा यस्ता कुराहरुमा पनि ध्यान पुर्याउनुपर्छ,’ महर्जनले भने, ‘हिमनदी हराउँदै जानु र हिमतालको जोखिम बढ्नु प्रकृतिको परिवर्तन मात्रै होइन, हिमालदेखि नदीको तल्लो तटीय क्षेत्रसम्मको सुरक्षा, जीविका र पूर्वाधारसँग जोडिएको संकट हो । त्यो संकट न्यूनीकरण गर्न धेरै काम गर्नुपर्ने छ ।’
प्रतिक्रिया 4