बजारमा सामान किन्न जाँदा चाउचाउ, बिस्कुट, औषधिदेखि घरायसी सामग्रीको प्याकेटमा लेखिएको ‘एमआरपी’ हामी सबैले देखेका छौं । तर, यसको वास्तविक अर्थ र महत्त्व धेरै उपभोक्तालाई थाहा नहुन सक्छ । धेरैले यसलाई पसलेले लिने मूल्य मात्र ठान्छन् ।
एमआरपीको पूरा रूप ‘म्याक्सिमम रिटेल प्राइस’ अर्थात् ‘अधिकतम खुद्रा बिक्री मूल्य’ हो। सरल भाषामा भन्नुपर्दा, कुनै पनि वस्तु अन्तिम उपभोक्तालाई बिक्री गर्दा लिन पाइने सबैभन्दा उच्च मूल्य नै एमआरपी हो ।
व्यापारीले प्याकेटमा छापिएको एमआरपीभन्दा एक रुपैयाँ पनि बढी लिन पाउँदैनन्। कुनै सामानको एमआरपी १०० रुपैयाँ छ भने, त्योभन्दा बढी रकम लिनु गैरकानुनी मानिन्छ ।
एमआरपी निर्धारण गर्दा नै वस्तुको उत्पादन वा खरिद लागत, ढुवानी खर्च, भन्सार महसुल, भ्याटलगायतका सम्पूर्ण कर र बिक्रेताको नाफासमेत जोडिसकिएको हुन्छ । त्यसैले एमआरपीमा थप कर वा अन्य शुल्क जोडेर लिन पाइँदैन ।
अर्को महत्त्वपूर्ण कुरा, एमआरपी भनेको ‘निश्चित मूल्य’ (फिक्स रेट) होइन, यो केवल ‘अधिकतम् सीमा’ हो । अर्थात्, पसलेले एमआरपीभन्दा कम मूल्य वा छुट दिएर सामान बेच्न पाउँछन् । उपभोक्ताले पनि बजारको प्रतिस्पर्धाअनुसार छुटको अपेक्षा गर्न वा माग्न सक्छन् ।
नेपालको उपभोक्ता संरक्षण ऐन, २०७५ मा स्वदेशमा उत्पादित वस्तुमा उत्पादकले र आयातित वस्तुमा आयातकर्ताले बजारमा पठाउनुअघि नै एमआरपी तोक्नुपर्ने कानुनी व्यवस्था छ । लेबलमा सर्वसाधारणले बुझ्ने गरी स्पष्ट रूपमा एमआरपी लेखिएको हुनुपर्छ। खुला रूपमा तौलेर बेचिने तरकारी, फलफूल वा सेवामा भने पसलमा स्पष्ट ‘मूल्यसूची’ राख्नुपर्छ ।
उत्पादक वा आयातकर्ताले तोकेको एमआरपी छोपेर पसलेले आफैं नयाँ स्टिकर टाँस्नु, पुरानो मूल्य केरमेट गर्नु वा तोकिएभन्दा बढी मूल्य लिनु कानुनी रूपमा दण्डनीय अपराध हो । यस्तो कार्यलाई अनुचित व्यापारिक क्रियाकलाप मान्दै कारबाही हुने व्यवस्था छ ।
त्यसैले, किनमेल गर्दा एमआरपी नलेखिएको, मेटिएको वा शंकास्पद स्टिकर टाँसिएको सामान सकेसम्म नकिन्नु नै उत्तम हुन्छ । सामान किन्नुअघि सधैं एमआरपी जाँच्ने बानी बसाल्दा व्यापारीको मनपरीबाट बच्न र आफूलाई ठगीबाट सजिलै जोगाउन सकिन्छ ।
आजैदेखि एमआरपीको सही अर्थ बुझौं, सचेत भएर किनमेल गरौं ।
प्रतिक्रिया 4