+
+
Shares
अनुभूति :

रसुवा बाढी : उत्तरगया वडा नम्बर १ पुग्दा मैले जे देखें र भोगें

‘यो पालि बाढी आएको होइन, राक्षस आएको नानी ! बाढी त खोलामा पो आउँछ त, यो पालि त घरमाथिबाट बाढी आयो। हामी मर्नुपर्ने बूढाहरू बाँच्यौँ, भर्खरका नातिहरू मरे। अब बाँच्नुको पनि के अर्थ रह्यो र ? काल कुर्न गाह्रो भयो।’

सफलता भण्डारी सफलता भण्डारी
२०८३ मंसिर १३ गते १०:३०

भदौ १०, रसुवा बाढीले नेपाललाई नै विक्षिप्त पारेको दिन। जहाँ हजारौँ घरबारविहीन भए भने कैयौँका सपनाहरू त्यही बाढीमा बगे। बाढीलाई लिएर विश्वभर नेपालको न्यायका लागि आवाज उठ्यो। विश्वका शक्तिशाली देशहरूले क्षतिपूर्तिका लागि आवाज उठाए। सहयोगी हातहरू नेपाल भित्रिए।

बालबालिकादेखि वृद्धहरूसमेत बाढी प्रभावितको सहयोगमा जुटे। नेपालीहरूले पुनः एकपटक भाइचाराको सशक्त उदाहरण देखाए। बाढीपछिको अवस्था देखेर आँखामा आँसु नआउने सायदै कोही थियो होला। ज्यानमा भएको एकसरो लुगामा ज्यान जोगाएकाहरूको कथा सुनेपछि सहयोग गर्ने हुटहुटी सायद सबैको मनमा जागेको थियो।

त्यही हुटहुटी मेरो मनमा पनि थियो। मैले पनि आफूले गर्न सक्ने केही छ भने गर्न तयार छु भन्ने अनेक कुराहरू मनमा खेलिरहेका थिए। तर, त्यो पूरा कसरी हुन्छ भन्ने अनेक प्रश्न र जिज्ञासा पनि मनमा थिए। जसलाई टीपीओ नेपालले जुराइदियो वा भनौँ, अवसर दियो। मनोसामाजिक परामर्शका लागि रसुवा जाने अवसर मिल्यो।

म केही नसोची त्यहाँ जान तयार भएँ। हरितालिका तीज नजिकिँदै थियो। तीजमा घर आउँछु भनेर बाआमालाई भनेकी थिएँ। तर, रसुवा जाने अवसर मिलेपछि मेरा पाइला घरमा नभएर रसुवातर्फ मोडिए। कहाँ जाने भन्ने ठ्याक्कै ठाउँ थाहा थिएन। तर पनि गएर केही सहयोग गर्नुपर्छ भन्ने साहस मनमा थियो।

भदौ २७ गते बिहान हामी रसुवाका लागि काठमाडौँबाट हिँड्यौँ। दुईवटा गाडीमा हामी १२ जनाको टिम। एकअर्काका लागि सबैजना नयाँ नै थियौँ। तर, कुराकानी गर्दै यात्रालाई सहज बनाएर अघि बढ्यौँ। काठमाडौँबाट गल्छीसम्मको यात्रामा सडक सुनसान थियो। पहिरोले गर्दा सडकमा गाडी कम नै दौडिएका थिए। गल्छीमा बाढीले बाँकी राखेको त्रिशूली पुल पार गर्‍यौँ।

त्यसपछि रसुवा जान सरकारले बनाएको नयाँ बाटोको यात्रा सुरु भयो। भर्खर खनेको सडक, हिलाम्मे बनेको, अनि कतै धुलो उडाउँदै हुइँकिएका थिए संस्थाको नाम लेखिएका गाडीहरू। कुनै ठाउँमा त्यही सडककै छेउमा जोडिएको थियो नदी। मैले प्रत्यक्ष रूपमा त्यही बेला देखेकी थिएँ- भोटेकोशीमा बाढी आएपछिको अवस्था।

हाम्रो गन्तव्य रसुवाको उत्तरगया गाउँपालिकाको वडा नं. ३ देखि १ सम्मको थियो। जान हामी कताबाट गयौँ भन्ने सबै बाटो याद छैन। तर, बिहान ७ बजे काठमाडौँबाट हिँडेका हामी रातिको करिब ११:३० तिर उत्तरगयाको वडा नं. ३ को पहिरेमा पुग्यौँ। बाटो कतै कालोपत्रे त कतै ढुङ्गा बिछ्याएको, कतै खोलाबाट नै गाडी तार्नुपर्ने अवस्था, अनि आकाशबाट झमझम परेको पानी। त्यो दिनलाई सम्झँदा पनि कसरी यात्रा गर्‍यौँ भन्ने लाग्छ।

पहिरेमा रहेको गुरुङ होमस्टेमा हामी बस्यौँ। थाकेको शरीर अनि कहाँ आइपुग्यौँ भन्ने अन्योल छँदै थियो। लेकमा हुने निगुरो, तोरीको सागसहित बेलुकाको खाना खाएपछि हामी सुत्यौँ।

भोलिपल्ट बिहान भदौ २८ गते उठेर बाहिरको दृश्य नियाल्यौँ। हामी बसेको वरिपरि घरहरू थिए। बाक्लो गाउँ अनि भोटेकोशीको गडगडाहट। भोटेकोशी बाढीले लछारेका घरहरू प्रस्टै देखिन्थे।

होमस्टेकी दिदीले भन्दै हुनुहुन्थ्यो, ‘त्यो देखिने घरहरू शान्तिबजार हो। त्यहाँ ठूलो बजार थियो। अहिले केही छैन।’

उहाँले भनेजस्तै शान्तिबजारका केही घरहरू मात्र बाँकी छन्। अरू सबै बगर बनेका छन्। माथि गाउँबाट हेर्दा तल बगर मात्र देखिन्छ।

बिहानको खाना खाएपछि हामी त्यहाँबाट पनि अगाडि बढ्यौँ- उत्तरगया गाउँपालिकाको वडा नं. २ तर्फ। वडा कार्यालय डाँडागाउँ पुग्दा त्यहाँ राहत वितरण भइरहेको थियो। बाढीले सबै बगाएपछि आफैँ रित्तो भएपछि राहत लिनका लागि जम्मा भएका प्रभावितहरू भेटिए। दिउँसोको मध्य घाममा उभिएर कोही राहत बुझिरहेका थिए, कोही राहत लिने प्रतीक्षामा त कोही राहत लिएपछि छहारीमा थकाइ मार्दै थिए।

शीतल छहारीमा बसेकी एकजना आमाको छेउमै गएर बसेँ अनि सोधेँ, ‘राहत लिनुभयो त ?’ मेरो प्रश्न नसकिँदै आमाले भन्नुभयो, ‘राहत नि के लिनु र नानी, भएको जति सबै सकियो। यो पालि त राक्षस आएछ है, कसैलाई बाँकी राखेन। कसलाई के भन्नु र, सबैको त्यस्तै छ।’

आमाले बाढीपछि के-के भयो भन्ने कुरा सबै भन्न थाल्नुभयो। म पनि उहाँको पीडा सुनिरहेँ।

हामीलाई पुग्नु थियो वडा नं. १ अनि बस्नु थियो त्यहीँ। बस्ने ठाउँ छ कि छैन भनेर हामीले डाँडागाउँकै होटलकी दिदीलाई सोध्यौँ। उहाँले भन्नुभयो, ‘बस्ने ठाउँ छैन। त्यहाँ होल्डिङ सेन्टर छ, त्यहीँ बस्ने होला। लेक हो, जुका लाग्छ। खानेकुरा त्यस्तो पाइँदैन, यहीँबाट खानेकुरा जाने हो। बाटो राम्रो छैन। तपाईंहरू त बस्न सक्नुहोला। अलिअलि चाउचाउ–बिस्कुट लिएर जानू।’

दिदीको कुरा सुनेपछि मनमा लाग्यो- बस्न सकिँदैन कि क्या हो ? अनि फेरि होल्डिङ सेन्टर सम्झेपछि होइन, जानैपर्छ भन्ने लाग्यो। अनि हामी डाँडागाउँबाट वडा नं. १ तर्फ लाग्यौँ। बाटोभरि झरना हेर्दा मनमोहक, तर बाटोको अवस्था हेर्दा गाडी जान्छ र भन्नुपर्ने अनि मनमा भगवान् जप्नुपर्ने।

अघिल्लो दिन १६ घण्टा गाडीको यात्रा अनि भोलिपल्ट त्यस्तो बाटोको यात्रा। मनमा भने एउटै प्रश्न थियो- विकासको जति नै नारा लगाए पनि वास्तवमा विकास नै भएको रहेनछ।

करिब २ घण्टाको कष्टकर यात्रापछि हामी पुग्यौँ वडा नं. १ मा रहेको होल्डिङ सेन्टर गणेश आधारभूत विद्यालय, सिरुचेत। होल्डिङ सेन्टर पुग्दा सबै आफ्नै धुनमा हुनुहुन्थ्यो, हामीले उहाँहरूसँग कुरा गर्‍यौँ। नेपाल प्रहरी पनि जानुभएको हुँदा उहाँहरूले त्यहाँको आवश्यकता र के गर्न सक्छौँ भनेर सोध्दै हुनुहुन्थ्यो।

हामी भने होल्डिङ सेन्टरमा रहेका प्रभावितहरूसँग आफ्नो परिचय गराउँदै थियौँ। उहाँहरू भन्दै हुनुहुन्थ्यो- बाढीमा परिवारका सदस्य बगे, भएको सम्पत्ति बग्यो, पालेका बाख्रा–कुखुरा बगे; केही छैन हामीसँग। सुन्दा पनि कति कहालीलाग्दो !

हामी दुईजना मनोपरामर्शकर्ता त्यहीँ बस्नुपर्ने हुँदा एकजनाको घर खाली छ भन्ने थाहा पाएपछि हामी कुरा गर्न त्यही घरमा पुग्यौँ। पानी परिरहेको थियो। पानीमा रुझ्दै हामी त्यही घर पुग्यौँ। घरमा एकजना दाइ हुनुहुन्थ्यो। उहाँलाई मनोज सरले भन्नुभयो, ‘हामीले दुईजना नानीहरूलाई यहाँ राख्न खोजेको, तपाईंहरूलाई साथी। घरमा कोठा खाली छ भन्ने सुनेर आयौँ। उहाँहरूलाई अहिले ३ महिना राखिदिनुपर्‍यो। बस्न चाहिने कुराहरू तपाईंहरूले दिनुहोला। उहाँहरूले भाडा दिनुहुन्छ।’

घरधनी दाइले हुन्छ भन्नुभयो। उहाँले हामी बस्ने कोठा देखाइदिनुभयो। हामीले सोचेको भन्दा बस्ने ठाउँ निकै राम्रो थियो। कोठामा दुईवटा खाट, दराज अनि भुइँमा बिछ्याइएको कार्पेट- हामीले सोचेभन्दा निकै राम्रो। हामीलाई चाहिने सामानहरू निकाल्न घरधनी दिदी आउनुभएको थियो। उहाँले सबै कुरा निकालिदिएपछि कुराकानी गर्न थाल्यौँ हामी।

कुरा त सुरुमा त्यही बाढीको नै त थियो। ‘दिदी, बाढी आउँदा कहाँ हुनुहुन्थ्यो ?’ हामीले सोध्यौँ। दिदीले भन्न थाल्नुभयो, ‘घरमै थिएँ नानी। मेलामा निस्कन खोजेकी थिएँ। तल खोलामा बाढी आएको देखेँ। त्यसपछि तल बजारमा बस्ने बहिनीहरूलाई फोन गरेँ- ठूलो बाढी आएको छ, भाग भनेर। एक मिनेट पनि लागेन त्यो बाढीलाई मैलुङ बजार बगर बनाउन। त्यसपछि ठूलो आवाजमा के पड्कियो, सायद यहाँ तल भएको हाइड्रोपावरको ड्याम होला। भन्दाभन्दै पनि बाढीमा दुईजना बहिनी र आमा पर्नुभयो।’

यति भन्दै गर्दा दिदीको आँखाबाट आँसु झरे। तर, दिदी रोकिनुभएन। उहाँलाई पनि कसलाई सुनाऊँ भन्ने लागेको थियो होला। २०७२ को भूकम्पमा छोरी गुमाउनुभएकी दिदीले यो बाढीमा आमा, दुई बहिनी र मैलुङ बजारमा रहेको पक्की घर गुमाउनुभएको रहेछ।

दिदी भन्दै हुनुहुन्थ्यो, ‘भूकम्पमा लागेको घाउ अलि कम हुँदै थियो, बाढीले अर्को घाउ थपिदियो।’ यी कुराहरू सुन्दै गर्दा मलाई मनमा लागेको थियो- जति नै पीडा परे पनि आखिर बाँच्न त पर्दो रहेछ।

हामी बस्ने कोठामा भए पनि खाना भने होल्डिङ सेन्टरमा खाने गरेका थियौँ। हामी जानुभन्दा ३ दिनअघिदेखि एउटा संस्थाले होल्डिङ सेन्टरमा खाना खुवाउन थालेको रहेछ। होल्डिङ सेन्टरमा १७ घरपरिवार बसेका थिए। बालबालिकादेखि वृद्धवृद्धासम्म होल्डिङ सेन्टरमा थिए। एकसरो लुगाबाहेक केही थिएन उहाँहरूसँग।

जीवनभर कमाएको सम्पत्ति क्षणभरमै सकियो। कतिको छोरा, बुहारी बाढीमा परे। कतिको आमा, बुबा। कतिको श्रीमान्–श्रीमती छैनन्। आफ्नो व्यवसाय केही छैन। अब के गरौँला भन्ने पनि छैन। अरूले पकाएर दिएको खाना खानुपरेको छ। अनि दिनभर त्यत्तिकै काम छैन। छेउमा निस्कियो भने तल बगर बनेको मैलुङ बजार।

जीवन पनि कति शून्य भएको ! न कुनै आस, न कुनै सपना। म सोच्दै थिएँ- जीवनमा यस्तो दिन पनि आउँछ है ! परिवारको सदस्य नपरेको कुनै घर छैन। कसैको अब माइती भन्ने नै कोही छैनन्। कोहीको अब छोराछोरी भनेर बोलाउने मान्छे नै छैनन्। बुढेसकालका सहारा छैनन्। कोहीले अब बुबाआमा भनेर बोलाउन पाउने छैनन्।

एकै व्यक्तिका २५–३० आफन्त बाढीमा परे। कसैले अब भाइ भनेर बोलाउन पाउने छैनन्। ‘म बाँचेँ’ भनेर आमालाई फोन गरेकी छोरी बेपत्ता छिन्। सबैको घरमा शोक, गाउँ नै शून्य। मनमा पीडा बोकेर हिँडिरहेका छन् सबै। लाग्छ, अब त्यो गाउँमा खुसीका दिनहरू आउन वर्षौँ कुर्नुपर्छ।

एक दिन गाउँ घुमेर बस्ने ठाउँ फर्कंदै थियौँ। करिब ७० वर्षजतिका बुबा छाता भिरेर लौरो टेक्दै हिँड्दै गरेको बाटोमा भेट्यौँ। हामीले सोध्यौँ, ‘बुबा, टाढै हिँड्नुभयो ?’ उहाँले बिस्तारै जवाफ दिनुभयो, ‘कहाँ जानु र नानीहरू, बाढीले बनाएको बगर हेर्न हिँडेको।’

हामीले सोध्यौँ, ‘कहाँबाट देखिन्छ र ?’

‘हिँड्नू, म लैजान्छु’ भन्दै बुबा अघि लाग्नुभयो। गाउँबाट अलि पर वन थियो। त्यहाँबाट तलको मैलुङ बजार देखिने रहेछ।

बुबाको घर पहिला त्यही मैलुङ बजारमा थियो रे। बाढीमा बुहारी र नाति परेको बुबा सुनाउँदै थिए। ‘यो पालि बाढी आएको होइन, राक्षस आएको नानी ! बाढी त खोलामा पो आउँछ त, यो पालि त घरमाथिबाट बाढी आयो। हामी मर्नुपर्ने बूढाहरू बाँच्यौँ, भर्खरका नातिहरू मरे। अब बाँच्नुको पनि के अर्थ रह्यो र ? काल कुर्न गाह्रो भयो। पुर्ख्यौली सम्पत्ति छैन, बस्ने घर छैन। म त दिनकै यहाँ आउँछु, घर नभए पनि बगर हेर्छु अनि फर्कन्छु।’

मान्छेलाई जन्मथलोसँग कति धेरै माया ! घर नै नभए पनि आँखाले देख्न पाए पुग्यो। तर आफू बाँचेँ भन्ने खुसी भने छैन। अब कसरी बाँच्ने भन्ने चिन्ता उत्तिकै।

बजारमा बसेर पढिरहेका बालबालिकाहरूमा अन्योल उत्तिकै। अनि हाइड्रोपावरमा काम गर्दै परिवार पालिरहेकाहरूलाई जीवन कसरी चलाउने भन्ने चिन्ता पनि उत्तिकै। सुरुसुरुमा राहत लिएर संस्थाहरू त्यति पुगेनन्। जाने बाटो अप्ठ्यारो, समय धेरै लाग्ने- त्यही भएर पनि होला, संस्थाहरूको रोजाइमा परेन वडा नं. १।

तामाङ समुदायको भाषा बुझ्न भने मलाई अलि कठिनाइ भइरहेको थियो। तर, उहाँहरूले गर्ने व्यवहारले गर्दा भाषाले त्यति गाह्रो भएन। दैनिक उहाँहरूसँगै बस्दा, खाँदा हामीहरू पनि त्यहीँको जस्तो भइसकेका थियौँ। गाउँमा राहत वितरण गर्दा ‘हामीलाई सहयोग गर्न आउनू है’ भन्नुहुन्थ्यो।

कतिपय संस्थाहरू अवलोकन गर्न जाँदा जानकारी दिने व्यक्ति बनिसकेका थियौँ। कहिलेकाहीँ खानेकुराले गर्दा घरको भने धेरै सम्झना आउँथ्यो। तर, अरूको दुःखमा आफूले केही भए पनि सहयोग गर्न पाउँदा भने मनमा छुट्टै आनन्द मिल्थ्यो।

होल्डिङ सेन्टरमा बसेकाहरूलाई ‘सेयर एन्ड केयर’ भन्ने संस्थाले अस्थायी घर बनाइदिने भयो। जस्तापाता र बाँसको दुईकोठे घर, केही समय बस्नका लागि। अस्थायी घर बनेपछि होल्डिङ सेन्टर खाली भयो। सबैजना आफ्नो घरमा सर्नुभयो। आफ्नो घर सरेपछि त्यसलाई सफा गर्ने, मिलाउने। जस्ताको दुईकोठे टहरा नै भए पनि त्यहाँ छुट्टै आफ्नोपन।

दसैँअगाडि सेल्टरमा भएका सबैजना आफ्नो घरमा सर्नुभयो। दसैँ आफ्नै घरमा मनाउन त पाउनुभयो, तर दसैँको रौनक भने थिएन। यो वर्ष त्यो गाउँमा दसैँ–तिहारले छोएन। गाउँमा दसैँ मान्नका लागि घर छोडेकाहरू फर्केनन्।

गाउँमा नै भएकाहरूले दसैँ मानेनन्। अब गाउँमा पहिलाको जस्तो दसैँ–तिहारको रमाइलो पनि हुँदैन होला। माथि गाउँमा दसैँ–तिहारको रमाइलो गर्दै गर्दा तल भोटेकोशीले बगाएका आफन्तहरू कसरी भुल्नु र ?

गाउँमा सरकारले होस् वा गैरसरकारी संस्थाहरूले, विभिन्न राहत सामग्रीहरू पुर्‍याइरहेका छन्- खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा अनि अन्य सामग्रीहरू। तत्कालका लागि जीवन चलाउन केही मात्रामा भने सहज भएको छ। तर, दीर्घकालीन रूपमा के गर्ने भन्ने प्रश्नको जवाफ कोहीसँग छैन।

बाढीले जीवनभर कमाएको घर बगायो, तर आशा भने बगाएको छैन। आफन्तहरू कहिल्यै नफर्किने बाटोमा गए, तर बाँचेकाहरूलाई सरकारले नयाँ बाटो देखाइदेला कि भन्ने विश्वास मरेको छैन। बाढी सम्झँदा मन मरेको छ, तर फेरि उठ्नुपर्छ भन्ने सङ्कल्प पनि उत्तिकै छ।

बाढीले दिएको घाउ मेटिन भने पक्कै समय लाग्नेछ। तर, सरकारले उचित कार्यक्रम ल्याउने हो भने त्यो घाउलाई केही हदसम्म कम गर्न नसकिने पनि होइन। तर, सरकारसँग भने आस धेरै छ…।

सञ्चारकर्मी भण्डारी मनोपरामर्शकर्ता पनि हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?