मनसुनमा घरभित्र चिस्यान बढ्दा ब्याक्टेरिया, ढुसी र लामखुट्टेको जोखिम बढ्न सक्छ । बाहिरबाट घर सफा देखिए पनि बाथरुम, भान्साको सिंक, पानी जम्ने ठाउँ, कुनाकाप्चा र स्टोर रुममा संक्रमणको जोखिम लुकेको हुन सक्छ ।
त्यसैले, वर्षायाममा नियमित सरसफाइसँगै घरभित्रको चिस्यान नियन्त्रण र पानी जम्न नदिने कुरामा ध्यान दिनुपर्छ ।
बाथरुममा चिस्यानको जोखिम
बाथरुममा लगातार पानी र चिस्यान रहने भएकाले ब्याक्टेरिया तथा ढुसी बढ्न सक्छ । यसले छालामा संक्रमण, एलर्जी र दुर्गन्धको समस्या निम्त्याउन सक्छ ।
बाथरुमको भुइँ, टायल, कमोड, बेसिन र ड्रेनेज नियमित सफा गर्नुहोस् । प्रयोगपछि झ्याल खोल्ने वा एग्जस्ट फ्यान चलाउँदा चिस्यान घटाउन मद्दत गर्छ ।
भान्साको सिंक र ड्रेन
भान्साको सिंकमा खानेकुराका टुक्रा र पानी जम्मा हुँदा ब्याक्टेरिया बढ्न सक्छ । फोहोर ड्रेनबाट दुर्गन्ध फैलिनुका साथै खाना दूषित हुने जोखिमसमेत हुन्छ । यसले झाडापखाला तथा पेटसम्बन्धी संक्रमणको सम्भावना बढाउन सक्छ ।
पानी जम्ने ठाउँमा लामखुट्टे हुनसक्छ
वर्षायाममा घर वरिपरि थोरै पानी जम्मा भए पनि लामखुट्टेले प्रजनन गर्न सक्छ । फूलका गमलाको ट्रे, टायर, बोतल, बाल्टिन, ड्रम, कुलर र छतमा पानी जम्न नदिनुहोस् ।
डेंगु फैलाउने एडिस जातका लामखुट्टेले सफा पानीमा पनि अण्डा पार्न सक्छन् । सातामा कम्तीमा एकपटक यस्ता ठाउँ जाँच गरी सफा गर्नुहोस् ।
भित्ताको ढुसीलाई बेवास्ता नगर्ने
वर्षामा भित्ता, झ्याल र कुनाकाप्चामा चिस्यान बढ्दा कालो वा हरियो ढुसी देखिन सक्छ । ढुसीले एलर्जी, खोकी, दम तथा श्वासप्रश्वाससम्बन्धी समस्या बढाउन सक्छ ।
भित्तामा ढुसी देखिएमा सफा गर्ने, कोठामा पर्याप्त हावा चल्ने व्यवस्था मिलाउने र झ्यालढोका खोलेर चिस्यान कम गर्ने प्रयास गर्न सकिन्छ ।
कपडा, कार्पेट र सोफामा पनि जोखिम
स्टोर रुम, दराज, कार्पेट, पर्दा र सोफाले वर्षामा चिस्यान सोस्न सक्छन् । लामो समय सफा नगर्दा धुलो, ढुसी र एलर्जी गराउने कण जम्मा हुन सक्छन् ।