गुच्चा
कहीँ कतै काँचका गोलाकार रंगीन गुच्चा देख्नुभयो भने तपाईं सुखद् आश्चर्यले आँखा तन्काउनुहुनेछ । किनभने त्यो तपाईंको बाल्यकालको प्रिय खेल्नु कुरा थियो । खल्तीभरी गुच्चा बोकेर धुलाम्मे माटोमा खेलेका यादहरूले तपाईंलाई रोमाञ्चित बनाउन सक्छ ।
डन्डिबियो
आफ्नै हातले डन्डी बियो बनाएर खेल्नुभयो । न डन्डिबियो किन्नुपर्ने, न खेल्नका लागि ठूलो मैदान चाहिने । दुईतर्फ चुच्चो भएको बियोलाई डन्डिले भुँइमा झार्न नदिई ठ्याक लगाउँदा तपाईंलाई अहिले क्रिकेट खेलेजस्तै हुँदो हो ।
टुकीबत्ती
यो कुनै खेल्नेकुरा होइन, खानेकुरा पनि होइन । तर, तपाईंलाई ८० को दशकमा फर्काउने एउट चिज हो । त्यसबेला सीमित शहरमा मात्रै बिजुली थियो । टुकी बत्ती बाल्नुपर्थ्यो । त्यही बत्ती बालेर किताब पढेको याद गर्नुभयो ?
ब्ल्याक एन्ड ह्वाइट टिभी र एन्टिना
आज १४ इन्चको श्यामश्वेत टिभी देख्नुभयो भने, कतै एन्टिना भेट्नुभयो भने के तपाईं चुप लागेर बस्नुहुन्छ ? वा बाल्यकालमा त्यस्तै टिभी हेर्दाको सास्ती र मस्तीबारे चर्चा गर्न सुरु गर्नुहुन्छ ?
८० को दशकमा हुर्किएकाहरूलाई सबैभन्दा सम्मोहित बनाउने संसाधन नै टिभी थियो, जो जताततै देखिँदैनथ्यो । अनि त्यससँगै जोडिएको एन्टिना, जो हुनेखानेको छानोमाथि देखिन्थ्यो ।
सुन्तले चकलेट
संयोगले यो पुस्तालाई जंकफुडको लत लागेन । किनभने बजारका खानेकुरा सीमित थिए । भएका थोरै खानेकुरा धेरै स्वाद लिएर खाए । त्यहीमध्येको थियो, सुन्तले चकलेट । स्वाद र आकार सुन्तला जस्तै भएको त्यो चकलेट देख्दा अहिले पनि तपाईंको मुख रसाउन सक्छ ।