अल्कलाइन वाटर अर्थात् क्षारीय पानी अहिले सामाजिक सञ्जालमा चर्चामा छ । कागती, पुदिना, काँक्रो र धनियाँ मिसाएको पानीले शरीरको अम्लीयपन घटाउने, पाचन सुधार्ने र शरीर ‘डिटक्स’ गर्ने दाबी गरिन्छ ।
साधारण पानीभन्दा के फरक ?
पानीको अम्लीयपन वा क्षारीयपन पीएचबाट मापन गरिन्छ । पीएच ७ तटस्थ, ७ भन्दा कम अम्लीय र ७ भन्दा माथि क्षारीय हुन्छ । साधारण पानीको पीएच प्रायः ७ आसपास हुन्छ भने अल्कलाइन वाटरको पीएच सामान्यतया ८ वा ९ हुन्छ । तर पीएच बढी हुँदैमा पानी स्वतः स्वस्थकर हुन्छ भन्ने होइन ।
शरीरको अम्लीयपन घटाउँछ ?
अल्कलाइन वाटरले शरीरको अम्लीयपन घटाउँछ भन्ने दाबी चर्चित छ । तर स्वस्थ मानिसको रगतको पीएच शरीरले आफैं सन्तुलित राख्छ । फोक्सो र मिर्गौलाले यसमा महत्वपूर्ण भूमिका खेल्छन् । अल्कलाइन वाटर पिउँदैमा रगतको पीएच परिवर्तन हुँदैन । त्यसैले, शरीरलाई नै अल्कलाइन बनाउने दाबी वैज्ञानिक रूपमा प्रमाणित छैन ।
स्वास्थ्यमा केही फाइदा छ त ?
केही साना अध्ययनले अल्कलाइन वा खनिजयुक्त पानीले पाचन, दिसा र हड्डीको स्वास्थ्यमा सम्भावित सकारात्मक प्रभाव पार्न सक्ने संकेत गरेका छन् । तर अनुसन्धान सीमित भएकाले सबैलाई फाइदा हुन्छ भन्न सकिँदैन ।
यसले क्यान्सर रोक्ने, तौल घटाउने वा बुढ्यौली ढिलो गर्ने दाबीलाई पुष्टि गर्ने पर्याप्त वैज्ञानिक प्रमाण पनि छैन ।
साधारण पानीभन्दा बढी हाइड्रेट गर्छ ?
अल्कलाइन वाटरले साधारण पानीभन्दा राम्रोसँग शरीरमा पानी पुर्याउँछ भन्ने दाबी पनि सुनिन्छ । तर स्वस्थ मानिसमा यसले सुरक्षित साधारण पानीभन्दा उल्लेखनीय रूपमा बढी हाइड्रेसन गर्छ भन्ने स्पष्ट प्रमाण छैन ।
शरीरलाई पर्याप्त पानी उपलब्ध गराउनु मुख्य कुरा हो । त्यसका लागि महँगो अल्कलाइन वाटर नै पिउनुपर्छ भन्ने छैन ।
पिउने कि नपिउने ?
अल्कलाइन वाटर पिउनै हुँदैन भन्ने होइन । तर यसलाई चमत्कारी औषधि वा रोग निको पार्ने पानीका रूपमा बुझ्नु सही हुँदैन । पिउने भए पानीको स्रोत, प्रशोधन विधि, खनिज र गुणस्तरमा ध्यान दिनुपर्छ ।
विस्तृत जानकारीको लागि दिइएको लिंकमा थिच्नुहोस् https://www.onlinekhabar.com/2026/09/2021404/why-is-alkaline-water-trending