दसैंको सुरुवात घटस्थापनाबाट हुन्छ । आश्विन शुक्ल प्रतिपदाका दिन घरमा विधिपूर्वक घट स्थापना गरी जमरा राखिन्छ । यही दिनदेखि नवरात्र सुरु हुन्छ । घटस्थापनामा दुर्गा भवानीको पूजा आराधना गर्दै आगामी नौ दिनसम्म शक्तिको उपासना गर्ने परम्परा छ । त्यसैले घटस्थापना दसैंको धार्मिक सुरुवात मानिन्छ ।
किन राखिन्छ ?
घटस्थापनामा राखिने जमरा दसैंको महत्वपूर्ण धार्मिक प्रतीक हो । पूजा गर्ने स्थानमा जौ छरेर उमारिएको जमरालाई शुभ, समृद्धि र उर्वरताको प्रतीक मानिन्छ । नवरात्रभरि पूजा गरिने जमरा दशमीका दिन देवीको प्रसादका रूपमा टीकासँगै लगाउने चलन छ । यसले विजय, मंगल र सुख–समृद्धिको कामना जनाउँछ ।
जमरा राख्न के–के चाहिन्छ ?
जमरा राख्न सामान्यतया जौको बीउ, माटो वा बालुवा, पूजा गर्ने पात्र तथा कलश आवश्यक पर्छ । कतिपय ठाउँमा माटोको थाली, पात वा विशेष पात्रमा जमरा राख्ने चलन पनि छ । परम्परा र समुदायअनुसार विधि केही फरक हुन सक्छ । मुख्य कुरा शुद्ध स्थानमा विधिपूर्वक जौ रोप्नु हो ।
जमरा कसरी राख्ने ?
सबैभन्दा पहिले पूजा ग पूजा गर्ने स्थान सफा गरी माटो वा बालुवा राखिन्छ । त्यसमा जौको बीउ छरिन्छ । त्यसपछि विधिअनुसार कलश स्थापना गरी देवी–देवताको पूजा गरिन्छ । जमरा राखिएको स्थानलाई नवरात्रभरि पूजा गरिन्छ । जमरा राम्रोसँग उम्रिनका लागि आवश्यकताअनुसार थोरै पानी दिइन्छ, तर धेरै पानी हाल्नु हुँदैन ।
कलश किन स्थापना गरिन्छ ?
घटस्थापनामा कलश स्थापना गर्नु पनि महत्वपूर्ण विधि हो । कलशलाई शुभता र देवीशक्तिको प्रतीकका रूपमा पूजा गरिन्छ । कलशमाथि नरिवल, पातलगायत सामग्री राख्ने परम्परा छ । ठाउँ, समुदाय र पारिवारिक संस्कारअनुसार विधि फरक हुन सक्छ । त्यसैले, आफ्नो घरमा चलिआएको परम्परा र पुरोहितले बताएको विधिअनुसार पूजा गर्न सकिन्छ ।
जमरालाई कसरी हुर्काउने ?
जमरा राम्रोसँग उम्रिन अँध्यारो वा कम प्रकाश भएको स्थान रोज्ने चलन छ । जौमा आवश्यकताअनुसार थोरै पानी दिइन्छ । धेरै पानी परेमा बीउ कुहिन सक्छ ।
जमरा राखिएको स्थान सफा राखिन्छ र नवरात्रभरि पूजा गरिन्छ । दशमीका दिनसम्म हुर्किएको पहेँलो जमरा प्रसादका रूपमा ग्रहण गर्ने परम्परा छ ।