१. किनमेल गर्नुअघि मूल्य तुलना गर्ने
कुनै सामान किन्न बजार जानुअघि त्यसको मूल्य अनलाइन पनि हेर्नुपर्छ । एउटै सामान फरक पसल वा वेबसाइटमा फरक मूल्यमा उपलब्ध हुन सक्छ । यसरी मूल्य तुलना गर्दा छुट वास्तवमै कति हो भन्ने पनि थाहा हुन्छ ।
२. बजार जानुअघि बजेट तय गर्ने
बजार पुगेपछि मन परेको सामान देखेर बजेट अवस्था बिर्सिन सकिन्छ । कहिलेकाहीँ आवश्यक नभएको सामान पनि ‘यति राम्रो छुट छ’ भनेर किन्न मन लाग्छ । त्यसैले घरबाट निस्कनुअघि नै कति रकम खर्च गर्ने भन्ने सीमा तय गर्नुपर्छ ।
किनमेलको सूची बनाउनुपर्छ् र सकेसम्म त्यही सूचीमा रहेका सामानलाई प्राथमिकता दिनुपर्छ । ‘छुट छ, त्यसैले किन्नुपर्छ’ भन्दा ‘मलाई यसको आवश्यकता छ कि छैन ?’ भन्ने प्रश्नलाई प्राथमिकता दिनुपर्छ ।
३.‘अहिले नकिने मौका गुम्छ’ भन्ने हतारबाट बच्नुपर्छ
अनलाइन सपिङमा ‘केवल दुईवटा सामान बाँकी’, ‘अफर सकिन केही मिनेट मात्र बाँकी’ वा काउन्टडाउन टाइमर देखाउने गरिन्छ । यस्ता सूचनाले सामान छुट्ने डर अर्थात् ‘फोमो’ बढाउन सक्छ ।
४. २४ घण्टाको ‘विशलिस्ट रुल’ अपनाउने
कुनै सामान असाध्यै मन पर्यो भन्दैमा तुरुन्तै किन्नुपर्दैन । अनलाइन भए कार्ट वा विशलिस्टमा राखेर एप बन्द गर्न सकिन्छ । कम्तीमा २४ घण्टापछि फेरि हेर्नुपर्छ । तत्कालको उत्साह कम भएपछि धेरै सामानप्रतिको रुचि आफैं घट्न सक्छ ।
५. छुटको प्रतिशतभन्दा वास्तविक मूल्य हेर्ने
सेलमा पुरानो मूल्य काटेर नयाँ मूल्य देखाइन्छ । उदाहरणका लागि, ५ हजार रुपैयाँको सामानलाई २ हजार ५०० रुपैयाँमा झारिएको देख्दा ‘२ हजार ५०० रुपैयाँ बचत भयो’ भन्ने लाग्न सक्छ । यसलाई ‘एंकरिङ इफेक्ट’ सँग जोडेर बुझ्न सकिन्छ ।