आँखामुनि कालो घेरा किन बस्छ ?
डार्क सर्कल एउटै कारणले हुँदैन । कसैको आँखामुनि खैरो रङ देखिन्छ, कसैको नीलो वा बैजनीजस्तो देखिन्छ भने कसैको आँखामुनि खाल्डो परेजस्तो भएर छाया बनेको हुन्छ । यी फरक देखावटका कारण र उपचार पनि फरक हुन सक्छन् ।
१. निद्रा नपुग्दा
राति पर्याप्त निद्रा नपुग्दा आँखामुनि पहिलेदेखि रहेको कालोपन र छाया अझ स्पष्ट देखिन सक्छ । थकानसँगै आँखामुनि सुन्निने समस्या पनि हुन सक्छ । तर निद्राको कमी नै सबै डार्क सर्कलको कारण भने होइन ।
२. वंशाणुगत कारण
परिवारका सदस्यमा आँखामुनि कालो घेरा देखिने समस्या छ भने आफूमा पनि देखिन सक्छ । छालाको प्राकृतिक रङ, आँखामुनिको बनावट र छालाको मोटाइले पनि यसको स्वरूप निर्धारण गर्छन् । यस्तो अवस्थामा निद्रा सुधार्दा वा घरेलु उपाय अपनाउँदा केही सुधार भए पनि कालोपन पूर्ण रूपमा नहट्न सक्छ ।
३. छालामा पिग्मेन्ट बढ्दा
घाममा धेरै बस्दा छालामा मेलानिन नामक ‘पिग्मेन्ट’ बढ्न सक्छ । यसले आँखामुनिको छाला थप गाढा देखाउन सक्छ । एलर्जी, एक्जिमा वा आँखालाई बारम्बार मिच्ने बानीले पनि छालामा पोल्ने र त्यसपछि कालोपन बढाउन सक्छ ।
४. उमेर बढ्दै जाँदा
उमेरसँगै आँखामुनिको छाला पातलो हुँदै जान सक्छ र त्यसको भित्री भागका रक्तनली बढी देखिन सक्छन् । आँखामुनिको बोसो र तन्तुमा हुने परिवर्तनले खाल्डोजस्तो बनावट सिर्जना गर्न सक्छ ।
डार्क सर्कल हटाउन के गर्न सकिन्छ ?
वयस्कले सामान्यतया प्रत्येक रात कम्तीमा सात घण्टा सुत्ने लक्ष्य राख्नुपर्छ । सुत्ने र उठ्ने समय नियमित बनाउनुपर्छ । निद्राको कमीले बढाएको थकित देखावट कम हुन सक्छ, तर सबै प्रकारका डार्क सर्कल निद्राले मात्रै हटाउँदैन ।
घामबाट छालालाई जोगाउने
घामका कारण छालाको रङ गाढा भएको अवस्थामा सूर्यको पराबैंगनी किरणबाट जोगिनु महत्त्वपूर्ण हुन्छ । बाहिर निस्कँदा यूभी सुरक्षा भएको चस्मा लगाउने र आँखाको वरिपरि प्रयोग गर्न मिल्ने ब्रड‑स्पेक्ट्रम एसपीएफ ३० वा सोभन्दा माथिको सनस्क्रिन प्रयोग गर्न सकिन्छ ।
आँखामुनिको छालाको उचित हेरचाह गर्ने
छालालाई सुख्खा हुन नदिन उपयुक्त मोइस्चराइजर प्रयोग गर्न सकिन्छ । आँखामुनि चिलाउने वा एलर्जी हुने समस्या छ भने त्यसको कारण पत्ता लगाउनुपर्ने हुन्छ। आँखालाई बारम्बार मिच्ने वा रगड्ने भने गर्नु हुँदैन । नयाँ क्रिम प्रयोग गर्दा पोल्न थालेमा त्यसको प्रयोग बन्द गर्नुपर्छ ।
के छन्, उपचार ?
आँखामुनि खाल्डो परेर छाया बनेको अवस्थामा केही व्यक्तिका लागि फिलरजस्ता प्रक्रिया विकल्प हुन सक्छन् । पेट्रीरिच प्लाज्मा वा पेट्रीरिच प्लाज्मा प्यूरिन र माइक्रो निडलिङ गर्न सकिन्छ ।