हिउँद आयो । धेरैजनालाई चिसो पानी छुनै मन लाग्दैन । त्यसैले, जाडोभरि अधिकांश तातो पानीले नै नुहाउन रुचाउँछन् ।
तातो पानीले नुहाउँदा फाइदा पनि छन् । मनतातो पानीले नुहाउँदा मांसपेशी र जोर्नीको दुखाइ कम हुन्छ। रक्तसंचार राम्रो सँग हुन्छ जसले निदाउन पनि मद्दत गर्छ ।
बेफाइदा पनि छन्
तातो पानीले छालालाई कुनै फाइदा गर्दैन। एकदम तातो पानीले नुहाउँदा छालाबाट प्राकृतिक तेल र मोइस्चर निकाल्छ । छाला सुक्खा र कमजोर हुन थाल्छ ।
छालाको बाहिरी तह कस्तो हुन्छ ?
मृत कोशिकाहरू सेरामाइड, फ्याटी एसिड र कोलेस्ट्रोल सिबम (प्राकृतिक तेल) सबै मिलेर छालालाई जोगाउँछन् । तातो पानीले यो सुरक्षा तह बिगार्छ । सिबम बगेर जान्छ।
छालाबाट पानी छिटो निस्किन थाल्छ । छाला रातो हुने र चिलाउने समस्या बढ्छ । तातो पानीमा हात डुबाउँदा चिसो पानीभन्दा धेरै क्षति हुन्छ । छालाको पिएच बढ्छ र सुरक्षा तह कमजोर हुन्छ ।
कपालमा के असर पर्छ ?
टाउकोमा सिबम निकाल्ने ग्रन्थी धेरै हुन्छन् । तातो पानीले कपालबाट पनि तेल निकाल्छ । नतिजा, कपाल रूखो, सुक्खा र चमकहीन हुन्छ ।