+

दिग्गज आशा भोसलेका ७ रोचक कुरा

के तपाईंलाई थाहा छ, १० वर्षमै पहिलो गीत गाएकी भारतीय संगीत जगतकी दिग्गज गायिका आशा भोसलेले २० भन्दा बढी भाषामा स्वर दिएकी थिइन् ? गायिका मात्र होइन, उनी सफल व्यवसायी पनि थिइन् । उनको जीवनका यस्ता ७ रोचक तथ्य, जसले देखाउँछ किन आशा ताई साँच्चै एक युग थिइन्।

१. ८० वर्षसम्म सुरको साम्राज्य

करिब ८० वर्ष लामो करियरमा उनले फिल्मी गीतदेखि गजल, भजन, पप, कव्वाली र लोकसंगीतसम्म आफ्नै आवाजको जादू छरेकी थिइन्। उनको स्वरमा भावना, मिठास र ऊर्जा एकैसाथ भेटिन्थ्यो ।

Advertisement

२) ९ वर्षमै काँधमा परिवारको जिम्मेवारी

आशा भोसलेका पिता दीनानाथ मंगेशकर प्रसिद्ध गायक तथा अभिनेता थिए। तर आशा केवल ९ वर्षकी हुँदा बाबुको निधन भयो । त्यसपछि परिवारको जिम्मेवारी बहिनीहरू लता मंगेशकर र आशा को काँधमा आयो । सानै उमेरमा उनीहरूले फिल्ममा गाएर घर चलाउन थाले । यही संघर्षले आशालाई बलियो बनायो र उनी भारतीय संगीत इतिहासकै महान स्वरमध्ये एक बनिन् ।

३) १० वर्षमै पहिलो गीत

आशा भोसलेले केवल १० वर्षको उमेरमा पहिलो गीत गाएकी थिइन् । सन् १९४३ मा मराठी फिल्म ‘माझा बल’ का लागि उनले आफ्नो पहिलो गीत रेकर्ड गरिन् । यही गीतबाट सुरु भएको यात्रा पछि हजारौं अमर गीतमा परिणत भयो ।

सानै उमेरमा देखिएको उनको स्वर प्रतिभाले भविष्यमा उनी भारतीय उपमहाद्वीपकै सबैभन्दा बहुआयामिक गायिका बन्ने संकेत दिइसकेको थियो ।

४. २० भन्दा बढी भाषामा स्वरको जादू

उनको स्वरको सबैभन्दा ठूलो विशेषता थियो बहुभाषिक क्षमता। उनले हिन्दी, मराठी, बंगाली, तमिल, तेलुगु, कन्नड, मलयालम, भोजपुरी, नेपाली देखि रूसी र मलय भाषासम्म गरी २० भन्दा बढी भाषामा गीत गाएकी छन् । हरेक भाषामा उच्चारण, भाव र शैली मिलाएर गाउने उनको क्षमता अद्भुत मानिन्छ। यही कारण उनलाई केवल भारतमै होइन, विश्वभर सम्मानका साथ सुनिन्छ ।

५) गायिका मात्र होइन, सफल व्यवसायी पनि

गायनसँगै आशा भोसलेलाई खाना पकाउने ठूलो रुचि थियो। यही शौकलाई उनले व्यवसायमा बदलिन्। सन् २००२ मा दुबईमा ‘Asha’s’ नामक रेस्टुरेन्ट सुरु गरेर उनले व्यवसायिक यात्रासमेत सफल बनाइन् । उत्तर भारतीय परिकारका लागि चर्चित यो ब्रान्ड पछि बहराइन, कुवेत, कतार, म्यानचेस्टर र बर्मिंघम सम्म फैलियो ।

६. अन्तिम गीतमा ब्रिटिश पपसँग फ्युजन

आशा भोसलेको अन्तिम गीत ब्रिटिश ब्यान्ड गोरिलाजसँग रहेको बताइन्छ। ‘श्याड़ोयी लाइट’ नामको यो गीत यसै वर्ष फेब्रुअरीमा सार्वजनिक भएको थियो । मुम्बईस्थित उनको घरमै रेकर्ड गरिएको यो गीतमा भारतीय शास्त्रीय संगीत र ब्रिटिश पपको सुन्दर मिश्रण सुनिन्छ। जीवनको अन्तिम चरणसम्म पनि नयाँ प्रयोग गर्न नडराउने उनको यही शैलीले उनलाई सदाबहार बनायो ।

७. पप र फ्युजनको साहसी प्रयोगकर्ता

आशा भोसले ती पहिला भारतीय गायिकामध्ये एक हुन्, जसले पप र फ्युजनमा साहसी प्रयोग गरिन् । परम्परागत फिल्मी गीतको सीमाभन्दा बाहिर गएर उनले नयाँ पुस्तालाई समेत आकर्षित गर्ने शैली विकास गरिन् । उस्ताद अली अकबर खानसँगको ‘लीगेसी’ एल्बमका लागि ग्र्यामी नामांकन पाउनु उनको अन्तर्राष्ट्रिय उचाइको प्रमाण हो।