+

गर्भावस्थामा छालाको हेरचाहदेखि मेकअपसम्म : के गर्ने, के नगर्ने ?

गर्भावस्थाको समयमा महिलाको शरीरमा हुने हर्मोनल परिवर्तनको प्रभाव छाला, कपाल र अनुहार पर्छ । यस्तोमा महिलाले आफूलाई सुन्दर र आत्मविश्वासी देखाउन ब्यूटी ट्रिटमेन्ट र कस्मेटिकको प्रयोग गर्छन् ।

तर गर्भावस्थाको बेला ब्यूटी ट्रिटमेन्ट वा कस्मेटिक उत्पादनको प्रयोग गर्नु सुरक्षित छ कि छैन भन्ने प्रश्न उठ्छ ।

Advertisement

कस्ता उत्पादन प्रयोग गर्ने ?

यदि गर्भावस्थामा छाला हेरचाहका लागि कुनै उत्पादनको प्रयोग गर्ने हो भने ती उत्पादनहरू केमिकल फ्री सुगन्धरहित हुनुपर्छ । सकेसम्म साधारण र न्यूनतम स्किनकेयर नियमित रुपमा अपनाउनुपर्छ ।

कुनै नयाँ उत्पादन प्रयोग गर्नुअघि सानो भागमा परीक्षण ‘प्याच टेस्ट’ गर्नु निकै राम्रो हुन्छ । गर्भावस्थामा छालालाई सुक्खा हुन नदिन एलोभेरा जेल, नरिवल तेल, कोकोआ बटर वा शिया बटर प्रयोग गर्न सकिन्छ । यी प्राकृतिक चिजहरूले छालालाई राम्रोसँग हाइड्रेट र नरम राख्न मद्दत गर्छन् ।

गर्भावस्थामा सनस्क्रिन प्रयोग गर्दा जिंक अक्साइड वा टाइटेनियम डाइअक्साइड भएको मिनरल–बेस्ड सनस्क्रिन एसपिएफ ३० वा त्योभन्दा माथिको प्रयोग गर्नुपर्छ । यी कुराहरू नियमित रूपमा प्रयोग गर्न सुरु गर्नुअघि छाला विशेषज्ञ डाक्टरसँग सल्लाह लिनु उत्तम हुन्छ । यी सल्लाहहरू संवेदनशील छाला भएका व्यक्तिहरूका लागि विशेष गरी उपयोगी हुन्छन् ।

गर्भावस्थामा कुन उत्पादन सुरक्षित मानिदैन ?

गर्भावस्थामा भिटामिन ए डेरिभेटिभ्स छाला हेरचाह उत्पादहरू सुरक्षित मानिँदैनन् । रेटिनोल, रेटिन–ए र ट्रेटिनोइनले भ्रूणको विकासमा नकारात्मक असर पार्न सक्छन् र जन्म दोषको जोखिम बढाउन सक्छन् ।

अत्यधिक सैलिसिलिक एसिड केमिकल पिल वा एक्ने क्रिममा उच्च मात्रा भएमा हानिकारक हुन सक्छ । कम–घनत्वको फेसवास सामान्यतया सुरक्षित मानिए पनि डाक्टरको सल्लाह आवश्यक हुन्छ ।

हानिकारक केमिकलहरू जस्तै फर्माल्डिहाइड, प्याराबेन्स, फ्थालेट्स जस्ता पदार्थहरूको प्रयोगले हर्मोनल सन्तुलन बिगार्न सक्छन् । गर्भावस्थामा लिपस्टिक र फाउन्डेसन जसमा लेडको मात्रा वा कृत्रिम सुगन्ध हुन्छ त्यसको प्रयोग पनि नगर्नु नै राम्रो हुन्छ । गर्भावस्थामा लेजर ट्रीटमेन्ट पनि सुरक्षित मानिदैन । यसबाट छालामा जलन वा पिग्मेन्टेसन बढ्न सक्छ ।