+

खानपान सम्बन्धित ८ भ्रम

सुपरफुडको भ्रम

सुपरफुडमा कुनै जादुई शक्ति हुँदैन । यी पोषणले भरिपूर्ण खानेकुरा हुन्, जसले अरूभन्दा अलि बढी फाइदा दिन सक्छन् । तर सुपरफुड खाएर मात्र शरीर स्वस्थ हुँदैन । सन्तुलित आहार र विविध खाना नै वास्तविक स्वास्थ्यको आधार हो ।

प्रोटिन बडीबिल्डरका लागि मात्र आवश्यक

प्रोटिन सबैका लागि आवश्यक पोषक तत्व हो । यसले मांसपेशी मर्मत, शक्ति र स्ट्यामिना कायम राख्न मद्दत गर्छ। उमेर बढ्दै जाँदा यसको आवश्यकता अझ बढ्छ । दैनिक खानाबाट पर्याप्त प्रोटिन लिनु जरुरी हुन्छ, केवल जिम जानेहरूका लागि मात्र होइन ।

Advertisement

खाना खाँदा पानी हानिकारक ?

पेटले खानेकुरालाई मिश्रण बनाएर अवशोषणका लागि तयार पार्छ । यदि खानामा पुरानो समयको जस्तो दाल, तरकारीको रस र मही जस्ता चिजहरू छन् भने पानी बिना पनि काम चल्न सक्छ । तर सुक्खा खानेकुराहरू खाँदा पाचनका लागि तरल पदार्थको आवश्यकता पर्छ । राम्रो पाचनका लागि खानासँगै पानि पनि अत्यन्त आवश्यक छ ।

सबै चिल्लो खानेकुरा खराब हुन्छ ?

सबै प्रकारका चिल्लो स्वास्थ्यका लागि हानिकारक हुँदैनन् । स्वस्थ चिल्लो जस्तै ओलिभ आयल, घिउ, बदाम र ओमेगा–३ युक्त खानेकुरा शरीरका लागि आवश्यक हुन्छन्। तर प्रशोधित र अत्यधिक सोडियमयुक्त खानेकुरा भने सीमित गर्नु उचित हुन्छ ।

डाइट गर्दा बाहिरको खाना निषेध गर्नुपर्छ ।

डाइट गर्नु भनेको आफूलाई रोक्नु होइन । रेस्टुरेन्टमा पनि स्वस्थ विकल्प पाइन्छ। सलाद, सूप, वा हल्का खाना छनोट गरेर पनि सन्तुलित आहार कायम गर्न सकिन्छ । जीवनशैली सुधार नै मुख्य कुरा हो, पूर्ण प्रतिबन्ध होइन ।

जुसले तौल घटाउँछ ?

फलफूलको जुसमा फाइबर कम र क्यालोरी बढी हुन्छ । जुस बनाउँदा फलको फाइबर हट्छ र चिनी बढी हुन्छ । त्यसैले, तौल घटाउन जुसभन्दा पूरा फल खानु राम्रो हुन्छ, जसले पेट भरिन्छ र पोषण पनि राम्रो मिल्छ ।

कार्बोहाइड्रेटले मोटोपन बढाउँछ ?

केरा, चामल र आलु जस्ता खाना प्राकृतिक र आवश्यक पोषणका स्रोत हुन्। समस्या मात्रा र जीवनशैलीमा हुन्छ । सन्तुलित रूपमा सबै प्रकारका खाना खानु नै स्वस्थ रहने उपाय हो, कुनै एकलाई पूर्ण रूपमा छोड्नु होइन ।