डिप्रेसनको औषधिले कसरी काम गर्छ ?
डिप्रेसनको औषधि खाएपछि पेट र कलेजो हुँदै रगतमा पुग्छ । रगतको माध्यमबाट औषधि लक्षित स्थानमा पुगेर सेरोटोनिन, डोपामिन जस्ता न्युरो ट्रान्समिटर कम भएको हो भने बढाउने र बढी भएको हो भने कम गरेर सन्तुलनमा ल्याउँछ ।
यसरी डिप्रेसनको औषधिले काम गर्छ ।
कति दिनमा औषधिले काम सुरु गर्छ ?
डिप्रेसनको औषधिले काम गर्न सामान्यतया दुईदेखि चार हप्ता लाग्छ । औषधिले राम्ररी काम गरेको छ कि छैन भन्ने कुरा थाहा पाउन एक महिनासम्म लाग्छ ।
औषधि जीवनभर खानुपर्छ ?
रोगको प्रकृति, आवश्यकता र शारीरिक मानसिक अवस्था हेरेर औषधि कति समय खाने भन्ने निर्धारित हुन्छ ।
औषधि बन्द गर्न नमिल्ने होइन रोगको प्रवृत्ति नै दोहोरिने भएर बन्द गर्न नमिल्ने हुनसक्छ । तर समस्या बिस्तारै ठीक हुँदै गएपछि औषधि घटाउँदै बन्द गर्न सकिन्छ ।
औषधिको साइड–इफेक्ट हुन्छ कि हुँदैन ?
औषधिको प्रकृतिअनुसार केहीको साइड-इफेक्ट देखिन सक्छ । कुनै औषधिले ग्यास्ट्रिक हुने, तौल बढ्ने, थकान महसुस हुने सम्भावना रहन्छ ।
यद्यपि सबै औषधिको सबैलाई साइड-इफेक्ट हुन्छ भन्ने होइन ।