खुट्टा सुन्निएको कसरी थाहा पाउने ?
खुट्टामा औंलाले थिच्दा सुन्निएको भए खाल्डो परेको देखिन्छ । यस्तोमा जुत्ता लगाउँदा कठिन हुने, हिंड्न असहज हुने र दुखाइ पनि हुनसक्छ । खुट्टा सुन्निने कारण थुप्रै हुन सक्छन् ।
डिप भेन थ्रोमब्रोसिस
सामान्यतया खुट्टा दुवै सुन्निने गर्छ । तर एउटा मात्र खुट्टा बारम्बार सुन्निरहन्छ भने रक्तनलीमा समस्या भएको संकेत हुनसक्छ, जसलाई डिपभेन थ्रोमब्रोसिस भनिन्छ । डिपभेन थ्रोमब्रोसिस भनेको नसामा रगत जम्ने समस्या हो । जो शरीरको जुनुसुकै भागमा हुनसक्छ ।
मुटुमा समस्या
खुट्टा सुन्निनेसँगै राति सास फेर्न गाह्रो हुने, हिंड्दा स्याँ स्याँ हुने समस्या हुनु मुटुरोगको संकेत हुनसक्छ । वास्तवमा मुटुले २४ घण्टा नै रगत पम्प गरिरहेको हुन्छ । कुनै कारणवश मुटुमा समस्या भई मुटुले पम्प गर्न सकेन भने शरीरको तल्लो भागहरुमा तरल पदार्थ जम्मा भई खुट्टा र औंलाहरूमा सुन्निन सक्छ ।
बाथ रोग
बाथको समस्या हुनेहरुको जोर्नीमा युरिक एसिड नामक क्रिस्टल (ढुंगा) जम्मा हुन्छ, जसले खुट्टामा अत्याधिक दुखाइका साथै सुन्निने समस्या हुन्छ । सामान्यतया खुट्टाको बूढीऔंलामा बढी दुखाइ हुन्छ ।
मिर्गौलामा समस्या
मिर्गौलामा सोडियम सही मात्रामा नपुग्दा कार्य गर्न सक्दैन । मिर्गौलाले काम गर्न नसके खुटटा सुन्निनुका साथै सास फेर्न कठिन हुनु, पिसाब कम लाग्नु, बिहान उठ्दा आँखा र मुख सुन्निनसक्छ ।
कलेजोमा समस्या
रगत चुहिन रोक्ने एल्बुमिन नामक प्रोटिनको कमी भएमा रक्तनलीबाट रगत बगेर खुट्टामा तरल पदार्थ जम्मा भई खुट्टा सुन्निन्छ । खुट्टा सुन्निएसँगै जन्डिस, चोटपटक लाग्ने, भोक नलाग्ने, पिसाबको रङ परिवर्तन हुने, शरीरमा ऊर्जाको कमी हुने जस्ता लक्षण भए कलेजो परीक्षण गराउनु पर्छ ।
भेरीकोज भेन
भेरीकोज भेन अर्थात् नसा फुल्ने समस्या हुँदा पनि खुट्टा सुन्निछ । यो समस्याले कुनै पनि शरीरको नसामा प्रभाव पार्छ । तर सबैभन्दा बढी खुट्टाको पन्जामा असर गरी खुटटा सुन्निन्छ ।