
भ्रम : तीतो खानेकुराले उच्च रक्तचाप नियन्त्रण गर्छ ।
तीतो खानेकुरामा पोटासियम र म्याग्नेसियम हुन्छ । जसले पानीको माध्यमबाट पिसाब बनेर बाहिर निकाल्छ । शरीरमा रगतको मात्रा कम गराएर धमनीको भित्तामा हुने चापलाई कम गर्छ । तर रक्तचापका बिरामीलाई औषधिले जस्तो तीतो खानेकुराले २४ घण्टा रक्तचापलाई नियन्त्रण गरेर राख्न सक्दैन ।

भ्रम : उच्च रक्त चाप भएका व्यक्तिले व्यायाम गर्न हुँदैन ।
उच्च रक्तचाप भएका व्यक्तिले एरोबिक जस्ता व्यायाम गर्न सक्छन । तर उच्च रक्तचापको स्तर अत्याधिक मात्रामा बढिरहेको अवस्थामा शरीरलाई भार पर्ने खालका व्यायाम गरेमा नाकबाट रगत बग्नेदेखि अन्य मुटुसम्बन्धी समस्या आउन सक्छ ।

भ्रम : दैनिक हल्का वाइन पिउँदा उच्च रक्तचाप नियन्त्रणमा सघाउँछ ।
वाइन एक मदिराजन्य पेय हो । अन्य मदिराले झैं यसले पनि असर गर्छ । वाइनले मुटुको धमिनी रहेको मांसपेशीलाई असर गरी साँघुरो बनाउँछ, जसले मुटुलाई पम्प गर्न कठिन पार्छ ।

भ्रम : उच्च रक्त चाप भएकालाई बढी रिस उठ्छ ।
उच्च रक्तचाप भएकालाई मात्र बढी रिस उठ्छ भन्ने हुँदैन । यो व्यक्तिको स्वभावमा र वरपरको वातावरणमा भर पर्ने कुरा हो ।

भ्रम : औषधि आजीवन खानुपर्छ ।
यी कुरामा पूर्ण सत्यता छैन । औषधि चलाउनुपर्ने हो ? कति मात्राको दिनुपर्ने हो ? भन्ने कुरा रक्त चाप स्तर कतिको छ, त्यसमा भर पर्छ । कतिपय अवस्थामा औषधिबीचमै रोक्न सकिने अवस्था पनि हुनसक्छ ।