
जाडो मौसममा चिसोले रक्तचाप बढ्न सक्छ। रक्त चाप भएकोहरुमा रगत बाक्लो भै मुटुमा समस्या आउने, चिसोले रक्त संचार कम गराउने हुँदा विशेष ध्यान दिनु आवश्यक छ ।

नियमित रूपमा शारीरिक व्यायाम गर्ने
सक्रिय रहेमा मुटुले काम राम्रोसँग गर्न सक्छ। त्यसैले, दैनिक ३० मिनेट हिँड्नु, योग गर्नु, वा हल्का व्यायामले रक्तचाप र कोलेस्ट्रोल नियन्त्रणमा राख्छ। तर, अत्यधिक हुस्सु लागेको बेलामा नभएर हल्का घाम लागेको बेलामा व्यायाम गर्नुपर्छ ।

स्वस्थ र सन्तुलित आहार सेवन गर्ने
हरियो सागसब्जी, फलफूल, ओमेगा-३ फ्याटी एसिड भएको माछा, र फाइबरयुक्त खाना खाँदा मुटुको स्वास्थ्य राम्रो रहन्छ। जंक फूड, चिल्लो र नुनिलो खाना भने सकेसम्म कम गरेकै राम्रो ।

रक्तचाप र कोलेस्ट्रोल जाँच
चिसोले रक्तचाप बढाउन सक्छ, जसले मुटुलाई असर गर्न सक्छ। त्यसैले, चिकित्सकसँग परामर्श लिएर नियमित रूपमा रक्तचाप र कोलेस्ट्रोल जाँच गराउनु पर्छ ।

न्यानो रहने, चिसोबाट जोगिने
मुटुलाई जोगाउन चिसोबाट पनि जोगिनुपर्छ । न्यानो लुगा लगाउने, कोठा न्यानो राख्ने र शरीरलाई तातो हुने खालको खानेकुरा खानुपर्छ । चिसो ठाउँमा सकेसम्म बस्नु हुँदैन । किनभने यसले रगतको प्रवाहमा समस्या ल्याउन सक्छ।

मधुमेह र मोटोपन नियन्त्रण
हृदयघातको प्रमुख कारण बन्नसक्छ, मोटोपन र मधुमेह । यी दुई कारकलाई नियन्त्रण गर्न क्यालरी कम भएको खानेकुरा खाने, नियमित व्यायाम गर्ने र मधुमेह भएकोले औषधि छुटाउनु हुँदैन ।