लामो समय एउटै आसनमा बस्नु
लामो समयसम्म एउटै आसनमा उभिंदा वा बस्दा हातखुट्टा झमझमाउने समस्या हुन्छ । यस्तो अवस्थामा रक्तसञ्चार राम्ररी हुन सक्दैन र दबाब भएको ठाउँमा झनझन महसुस हुन्छ ।
भिटामिन बी र ईको कमी
शरीरमा भिटामिन बी र ईको कमीले शरीरका नसाहरू कमजोर हुने भएकाले झमझमाउने समस्या हुन्छ । यो एक संकेत हो कि आफ्नो आहारमा ध्यान दिनुपर्छ ।
अत्याधिक मदिरा सेवन
अत्याधिक मात्रामा रक्सी पिउनाले शरीरमा आवश्यक पोषक तत्त्वहरू जस्तै भिटामिन बी १२ र फोलेट कम हुन्छ । जसकारण स्नायुमा नराम्रो असर परी संकेतको रुपमा हातखुट्टा झमझमाउन सक्छ ।
थाइराइड
हाइपोथाइराइडिज्मको समस्या हुने व्यक्तिले पनि हातखुट्टा झमझमाउने समस्या भएको गुनासो गर्छन् । थाइराइडको समस्यालाई नियन्त्रणमा राखिएन भने यो समस्या हुन्छ ।
मधुमेह
मधुमेह रोगीको शरीरमा रगतमा चिनी र इन्सुलिन बढ्न थाल्छ, जसले स्नायुमा असर गर्छ । मधुमेह अनियन्त्रित हुँदा बारम्बार यस्तो महसुस हुन्छ ।
मिर्गौलामा समस्या
मिर्गौलाको समस्या भएका व्यक्तिको स्नायु कमजोर हुन्छ । मिर्गौला फेल हुँदा पनि शरीरमा केही तरल पदार्थ जम्मा हुन थाल्छ, जसले स्नायुमा नराम्रो प्रभाव पारी हातखुट्टा झमझमाउन थाल्छ ।
रक्तसञ्चार सामान्य नहुँदा
शरीरमा रक्तसञ्चार नहुनु वा अवरोध भएमा यसले स्नायुमा असर पार्छ, जसकारण शरीरका धेरै भागमा अक्सिजन पुग्दैन र हातखुट्टा झमझमाउन सक्छ ।
के गर्ने ?
शारीरिक सक्रियता बढाउने, पोषणयुक्त खानेकुरा खाने, मदिरा सेवन नगर्ने, एकै आसानमा धेरैसमय नबस्ने जस्ता क्रियाकलापले यो समस्याबाट बच्न सकिन्छ ।