कण्डम
शारीरिक सम्पर्क सुरु गर्नुभन्दा अगाडि प्रयोग हुने अस्थायी साधन कण्डमले गर्भ रहनबाट रोक्नुका साथै विभिन्न यौनरोगबाट समेत बचाउँछ । कण्डम सरकारी अस्पतालमा निःशुल्क पाइन्छ ।
कपर टी
कपर टी पाठेघरभित्र राखिन्छ । कपर टी लगाएपछि अनिच्छित गर्भ रहने भय हुँदैन । यसलाई १२ वर्षसम्म राख्न मिल्ने र गर्भधारण गर्न मन लागे निकाल्न सकिन्छ ।
नरप्लान्ट
अनिच्छित गर्भधारण रोक्ने अर्को विकल्प हो, नरप्लान्ट । यसलाई महिलाको पाखुरामा सानो घाउ बनाएर राखिन्छ भने यो ५ वर्षसम्मका लागि ढुक्क हुन्छ ।
नियमित गर्भनिरोधक चक्की (पिल्स)
अनिच्छित गर्भ रोक्न पिल्सलाई महिलाले हरेक दिन खानुपर्ने हुन्छ । आवश्यकता अनुसार खान र छोड्न सक्ने भएकाले प्राय: महिलाले यसको प्रयोग गरिरहेको देखिन्छ ।
डिपो अर्थात् तीन महिने सुई
नेपालमा संगिनी सुई भनेर चिनिने डिपोप्रोभेरा एक पटक लगाएपछि तीन महिनासम्म लगाउनु पर्दैन। महिलाले गर्भवती हुनबाट बच्न हरेक तीन-तीन महिनामा यो सुई लगाउन सकिन्छ ।
आकस्मिक गर्भनिरोधक चक्की
यौन सम्पर्कको बेला कण्डम फुटेमा, पिल्स खान बिर्सिएमा, तीन महिने डिपो सुई लगाउन छुटेमा कहिलेकाहीं आकस्मिक गर्भनिरोधक चक्की प्रयोग गर्न सकिन्छ । शारीरिक सम्पर्क भएको ४८ घण्टादेखि ७२ घण्टासम्म प्रयोग गर्नुपर्ने हुन्छ । तर नियमित रुपमा भने यो चक्कीको प्रयोग गर्नुहुँदैन ।