+

धेरै चिया-कफी पिउँदा स्वास्थ्यमा कस्तो समस्या हुन्छ ?

बिहानको सुरुवात चिया वा कफीबाट गर्नेहरू धेरै छन् । साथीभाइसँग गफगाफको पनि यो माध्यम हो । तर दैनिक ४-५ कपभन्दा बढी पिउनुहुन्छ भने सचेत हुनुपर्छ । मुख्य कारण यसमा रहेको क्याफिन हो । उचित मात्रामा फाइदा दिन सक्छ तर अत्यधिक सेवनले स्वास्थ्यलाई हानि पुर्‍याउँछ ।

एन्जाइटी र चिन्ता

क्याफिनले ऊर्जा दिन्छ तर धेरै मात्राले दिमागलाई उत्तेजित बनाउँछ । यसले ‘एडेनोसिन’ हार्मोनको प्रभाव घटाउँछ, जसले थकान महसुस गराउँछ । फलस्वरूप त्रास, डर, छटपटी, बेचैनी जस्ता एन्जाइटीका लक्षण देखिन्छन् । धेरै चिया-कफी पिउनेलाई झर्को र तनाव बढी हुन्छ ।

Advertisement

अनिद्रा र निद्रा समस्या

रातमा काम वा पढाइका लागि चिया-कफी पिउने बानीले निद्रा भगाउँछ । तर अत्यधिक सेवनले निद्रा लाग्नै छोड्छ । क्याफिनले निद्राको चक्र बिगार्छ, प्रयास गर्दा पनि सुत्न गाह्रो हुन्छ । दिनभर थकान, कम एकाग्रता र थकित महसुस हुन्छ ।

पाचन र रक्तचापमा असर

धेरै क्याफिनले पेटमा ग्यास्ट्रिन हार्मोन बढाउँछ जसले पखाला, पेट दुखाइ र अल्सर निम्त्याउन सक्छ । डिहाइड्रेशन पनि हुन्छ । यसबाहेक उच्च रक्तचाप बढ्ने जोखिम हुन्छ, जसले मुटु र मस्तिष्कलाई असर गर्छ । धमनी क्षति भए हृदयघातको खतरा बढ्छ ।

सही मात्रा कति पिउने ?

सामान्यतया दैनिक ४०० मिलिग्राम क्याफिन (३-४ कप) सुरक्षित मानिन्छ । यसभन्दा बढी भए समस्या सुरु हुन्छ । मध्यम मात्रामा क्याफिनले अल्जाइमर र मुटु रोगबाट बचाउन पनि सक्छ ।