
बच्चालाई सधैं घरको एकथरी खाना रुच्दैन । खाजा नास्तामा हरेक दिन केही नयाँ खानेकुरा दिइयो भने उनीहरु खुसीसाथ खान्छन् । ६ दिन ६ प्रकारकै पोषिलो र ताजा परिकार बनाउन सकिन्छ।

आइतबार : भुटेको भात
भातलाई घिउ वा तेलमा भुटेर खाजा बनाइदिन सकिन्छ । यस्तो खाजामा सिमी, साग, गेडागुडी च्याउ, अण्डा वा मासु पनि मिसाउन सकिन्छ । टिफिन बक्सको अर्को खण्डमा ड्राइ फ्रुट्स र फलफूल राखिदिन सकिन्छ ।

सोमबार : रोटी-तरकारी
रोटी तरकारी पनि राम्रो नास्ता हो । रोटीसँग छिपछिपे रस भएको तरकारी जस्तो, पनिर-मटर, आलु-काउली, उसिनेको अण्डा र आलु उचित हुन्छ ।नास्तासँगै थोरै मौसमी फलफूल पनि राख्नु उचित हुन्छ ।

मंगलबार : पास्ता
सुजीको पास्तामा कम तेल राखेर ब्रोकाउली, गाजर, मटरकोसा, भेडे खुर्सानी मिसाएर बनाउन सकिन्छ। पास्तामा मासुको केही टुक्रा मिसाइदिन सकिन्छ ।साकाहारीका लागि तोफु वा पनिरको केही टुक्रा राख्न सकिन्छ ।

बुधबार : पराठा
उसिनेको आलु, प्याज र काँचो पनिरलाई पिसेर हालेर, उपलब्ध भए दुई टुक्रा चिज र नुन मसला हालेर गहुँको पिठोमा पराठा बनाउन सकिन्छ । यसले आलुबाट कार्बोहाइड्रेट मात्र नभएर पनिरबाट प्रोटिन पनि पाउन सक्छ ।

बिहीबार : स्याण्डविच वा रोल
ब्राउन ब्रेड भित्र काँक्रो, बन्दा, माइनिज सस, गाँजर, स्वादअनुसार नुन, थोरै टोम्याटो सस हालेर माथिबाट अर्को ब्रेड राखेर तावामा तेल वा घिउमा तताएर स्याण्डविच बनाउन सकिन्छ ।
रोटीभित्र मिश्रित तरकारी वा मासु हालेर रोल गरेर बनाउन सकिन्छ ।

शुक्रबार : आलुको चप
आलुचप पनि ताजा तेलमा पकाउने हो भने स्वस्थ नै मानिन्छ । आलुको चप बनाउँदा उसिनेको आलु, प्याज, चिज, पनिर छ भने पिसेर मिसाउने अनि बेसनको पिठोमा बनाउन सकिन्छ । टिफिन प्याक गर्दा तीनवटा चप, तीन ड्राइ फ्रुट्स र ओट्स मिसिएको कुकिज राख्ने, एउटा स्याउ वा केरा पनि राख्न सकिन्छ ।