
बाह्र राशि र सूर्य, नवग्रहहरूको उदय–अस्त, उच्च–नीच, डिग्री, देश, काल सहितको अनुकूल-प्रतिकूल ग्रहगोचरीय अवस्था लिएर व्यक्तिले जन्म लिएको छ भन्ने कुराको यथार्थ एवं गणितसिद्ध ज्ञान गराउने अस्त्र चिना हो।

चिना तयार गर्दा जन्मेको मिति, समय र स्थान सही हुनुपर्छ । जन्मेको समय र मिति बिग्रिएको खण्डमा चिनाले भविष्य बताउन सक्दैन ।

कसरी तयार गरिन्छ ?
कुनै व्यक्तिको चिना बनाउँदा उ जन्मँदाको ग्रह नक्षेत्र सबै हेरेर हिसाब गरेर बनाइन्छ । पञ्चाङ्गमा भएको तिथि, बार, नक्षेत्र, गण सबै कुरा समावेश गरेर चिना बनाइन्छ ।

कोही व्यक्ति जुन बेलामा जन्मियो त्यति बेला आकाशमा ग्रहहरू घुमिरहेका हुन्छन् । कुन ग्रह कहाँ घुमिरहेको हुन्छ भन्ने कुरा पञ्चाङ्गको पात्रोमा हुन्छ ।

कहिले बन्छ चिना ?
हिन्दु संस्कारअनुसार जन्मेको ६ दिनमा चिनाको टिप्पणी तयार गरिन्छ । प्राय: गरी बच्चा जन्मेको ५ वर्षपछि चिना बनाएर राख्ने चलन छ ।

भविष्य कसरी थाहा हुन्छ ?
कुनै पनि व्यक्तिको कुण्डलीका आधारमा उसको भविष्य बताउन सकिन्छ । कुण्डलीका १२ भावबाट जीवनका पक्षहरू हेर्न सकिन्छ। स्वास्थ्य, धन, अध्ययन, सन्तान, विवाह, भाग्य, पेसा आदि सबै विषय समेटिन्छ।

ग्रहको मैत्री वा शत्रु भाव अनुसार भविष्य निर्धारण हुन्छ। बाहान तथा घरसम्बन्धी, अध्ययन, अध्यापन तथा विषयगत रुचि, सन्तान योग, शत्रु सम्बन्ध, आयु तथा जीवनमा घट्न सक्ने दुर्घटनाहरूको लेखाजोखा पनि यसबाट गरिन्छ ।

अन्य देशहरूमा पनि चलन
नेपाल मात्र होइन, बङ्गलादेश, मालदिभ्स लगायत हिन्दु प्रभाव भएका देशहरूमा पनि चिना हेर्ने परम्परा छ।