निर्वाचन गौरव २०८२
१६५ निर्वाचन क्षेत्र, ६८ दल र ३४०६ उम्मेदवार
जेनजी आन्दोलन पृष्ठभूमि रहेको यो निर्वाचन सुरक्षा र नतिजा दुवै दृष्टिकोणबाट विशेष रहन गयो। कतै बुथ कब्जा भएन। कतै रक्तपात भएन। देशभर एकै चरणमा शान्तिपूर्ण तरिकाले निर्वाचन सम्पन्न भयो।
मतदाताहरूले यो निर्वाचनमा आफ्नो मत बदलेर विद्यमान शासकीय स्वरूपभित्रै एउटै पार्टीलाई दुई तिहाइ बहुमतको आश्चर्यजनक नतिजा दिएका छन् । पछिल्ला निर्वाचनहरूको तुलनामा दल र उमेरमा यो निर्वाचनको नतिजा बिल्कुलै भिन्न देखिन्छ। यससँगै यो निर्वाचनले अबको संसदीय राजनीतिमा समेत नयाँ समीकरण दिएको छ। भलै लैङ्गिक र समावेशिताको हकमा नतिजा करिब पछिल्ला निर्वाचनहरूसँग समान रहे।
केही वर्षअघि मात्र गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र हालै खोलिएको श्रम संस्कृति पार्टी (श्रसपा) ले यो निर्वाचनमा निकै राम्रो गरे। अर्कोतिर पुराना दलहरू नेपाली कांग्रेस, एमाले, नेकपाजस्ता कम्युनिस्ट पार्टीहरू खुम्चिए। राजतन्त्रको वकालत गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई जनताले पत्याएनन्। तराईवादी दलहरूको त ढोका नै बन्द भयो।
निर्वाचन क्विक फ्याक्ट:
- -कुल मतदाता १,८९,०३,६८९ (एक करोड उनान्नब्बे लाख तीन हजार छ सय उनान्नब्बे) रहेकोमा १,११,६८,०३२ (एक करोड एघार लाख अठसट्ठी हजार बत्तीस) जना अर्थात् ५९.०८ प्रतिशतले मतदान गरेका थिए।
- -यो चुनावमा प्रत्यक्षतर्फ ५.४५ प्रतिशत अर्थात् ६,०९,०१५ (छ लाख नौ हजार पन्ध्र) मत बदर भएको थियो। जुन पछिल्ला ७ निर्वाचन अर्थात् ३५ वर्षयताकै सबैभन्दा बढी बदर मत हो।
- -काठमाडौँ-१ को सबैभन्दा सुरुमा नतिजा घोषणा हुँदा गोरखा-१ को सबैभन्दा ढिलो भएको थियो।
- -ओखलढुङ्गा-१ मा सबैभन्दा कम ५ मतान्तरले रास्वपाका विश्वराज पोखरेलले जितेका थिए। त्यस्तै सबैभन्दा बढी ५०,३७९ मतान्तरसहित रूपन्देही-३ मा डा. लेखजङ्ग थापाले जितेका थिए।
- -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली रास्वपाका वरिष्ठ नेता बालेन शाहसँग भारी मतले हारे।
- -विशेष महाधिवेशनबाट सभापति भएका गगन थापा रास्वपाका अमरेश सिंहसँग हार्न पुगे।
- -राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन रास्वपाका प्रकाश पाठकसँग पराजित हुन पुगे।
- -नवगठित उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ रास्वपाका राजुनाथ पाण्डेसँग पराजित भए।
- -राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो रास्वपाका रविन महतोसँग हार्न पुगे।
- -जनमत पार्टीका अध्यक्ष सीके राउत रास्वपाका रामजी यादवसँग हार्न पुगे।
- -जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव रास्वपाका अमरकान्तसँग पराजित हुन पुगे।
- -उनीहरूसहित अधिकांश पार्टीका पदाधिकारीहरू यो निर्वाचनमा पराजित हुन पुगे।
- -धनुषा-१ मा रास्वपाको उम्मेदवार कालोसूचीमा परेर उम्मेदवारी रद्द भएको थियो। त्यहाँ उसैले सबैभन्दा बढी मत पाएको थियो। भलै निर्वाचन आयोगले दोस्रो भएकालाई विजयी घोषणा गर्यो।
- -२०७४ मा १० र २०७९ मा १२ पार्टी संसद्मा पुग्दा यसपटक जम्मा ६ पार्टी संसद्मा पुगे।
- -३,४०६ उम्मेदवार रहेकोमा १४ उम्मेदवारले एक मत पनि पाएनन्। ३६ उम्मेदवारले भने एक मत ल्याए।
- -उनीहरूमध्ये करिब ८५ प्रतिशत अर्थात् २,८८५ जनाको जमानत जफत भयो। नियमानुसार कुल सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याए जमानत जफत हुन्छ।
- -प्रत्यक्ष निर्वाचित १६५ जनामध्ये १४० जना नयाँ सांसद छन्। उनीहरू पहिलोपटक निर्वाचित भएकाहरू हुन्।
- -प्रतिनिधिसभामा विभिन्न दलबाट १० जना सांसदहरू मात्र यसअघि नै पटकपटक संसद्मा देखिएका अनुहार छन्।
- -२०७९ सालको प्रतिनिधिसभामा निर्वाचित भएका सांसदहरू यसपटक १६ जना छन्।
- -प्रत्यक्ष प्रणालीतर्फ १६५ निवर्तमान सांसदमध्ये ७० जना यो पटक प्रतिस्पर्धामा थिएनन्।
- -समानुपातिक निर्वाचानतर्फ ३७ जिल्लाबाट कुनै पनि सांसद चयन भएन । जबकी काठमाडौंबाट मात्रै १७ जना छानिए । त्यसमा पनि रास्वपाका १० जना छन् ।












































































































