+

किन हुन्छ पित्तथैलीमा पत्थरी ?

पित्तथैली के हो ?

पित्तथैली कलेजोमुनि रहेको सानो थैली हो, जसले कलेजोले बनाएको पित्तलाई जम्मा गरेर राख्छ । चिल्लो वा बोसोयुक्त खाना खाँदा यही पित्त आन्द्रामा पुगेर खाना पचाउन मद्दत गर्छ । पित्तथैलीमा समस्या नभएसम्म यसको काम भइरहेको धेरैलाई थाहा नै हुँदैन ।

पित्तथैलीमा पत्थरी किन बन्छ ?

पित्तभित्र कोलेस्टेरोल, बाइल साल्ट र अन्य रसायन हुन्छन् । यी पदार्थको सन्तुलन बिग्रँदा साना कण जम्न थाल्छन् र विस्तारै पत्थरी बन्छ। मोटोपन, हर्मोनल परिवर्तन, उच्च कोलेस्टेरोल, कम शारीरिक गतिविधि र अस्वस्थ जीवनशैलीले यसको जोखिम बढाउन सक्छ ।

Advertisement

लक्षण

धेरैमा सुरुमा कुनै लक्षण नदेखिन सक्छ। तर चिल्लो खाना खाएपछि पेट भारी हुने, दायाँ माथिल्लो पेट दुख्ने, पेट फुल्ने, वाकवाकी लाग्ने, अमिलो डकार आउने वा खाना नपचेको जस्तो महसुस हुने समस्या देखिन सक्छ । यस्ता लक्षणलाई ग्यास्ट्रिक सम्झेर बेवास्ता गर्नु हुँदैन ।

उपचार कहिले ?

पत्थरी भए पनि लक्षण नदेखिएको अवस्थामा नियमित निगरानी पर्याप्त हुन सक्छ । तर बारम्बार पेट दुख्ने, संक्रमण हुने, जन्डिस देखिने वा पत्थरी पित्तनलीमा झर्ने जोखिम भएमा उपचार आवश्यक हुन्छ। समयमै उपचार नगर्दा जटिल संक्रमण र अन्य गम्भीर समस्या हुन सक्छन् ।

शल्यक्रिया कहिले र कसरी गरिन्छ ?

लक्षण देखिएको वा जटिलता भएको पित्तथैलीको पत्थरीमा ल्याप्रोस्कोपिक शल्यक्रिया सबैभन्दा प्रभावकारी उपचार मानिन्छ। पेटमा साना प्वाल बनाएर पित्तथैली निकालिने यो विधिमा कम दुखाइ हुन्छ, अस्पताल बसाइ छोटो हुन्छ र बिरामी छिट्टै सामान्य जीवनमा फर्कन सक्छ ।

यससम्बन्धी विस्तृतमा जान्नको लागि अनलाइनखबरको हेल्थ सेग्मेन्ट रहेको दिइको लिंकमा थिचेर हेर्न सकिन्छ । www.onlinekhabar.com/2026/06/1943533