News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालमा अस्वस्थ जीवनशैलीका कारण युवा उमेर समूह र विशेषगरी महिलाहरूमा पित्तथैलीको पत्थरी हुने समस्या बढ्दै गएको छ ।
- चिल्लो खाना खाएपछि पेट भारी हुने वा दुख्ने समस्यालाई सामान्य ग्यास्ट्रिक सम्झेर औषधि मात्र खाँदा पित्तथैलीको पत्थरीले जटिल रूप लिन सक्छ ।
- लक्षण देखिएका पित्तथैलीको पत्थरीको सुरक्षित उपचारका लागि पेटमा सानो प्वाल बनाई गरिने ल्याप्रोस्कोपिक शल्यक्रियालाई उत्तम विकल्प मानिन्छ ।
राति भोजमा माछामासु खाएपछि भोलिपल्ट पेट भारी हुने, चिल्लो खाना खाँदा डुम्म फुलेको जस्तो लाग्ने, अमिलो डकार आउने वा पेटको दायाँ माथिल्लो भाग दुख्ने समस्या धेरै नेपालीका लागि सामान्य भइसकेको छ ।
अधिकांश मानिसले यस्तो समस्या हुँदा ‘ग्यास्ट्रिक बढ्यो’ भन्दै मेडिकलबाट औषधि किनेर खाने र केही दिनपछि फेरि उही बानी दोहोर्याउने गर्छन् । तर चिकित्सकहरूका अनुसार चिल्लो खाना खाएपछि बारम्बार हुने यस्तो असहजता सधैं ग्यास्ट्रिक मात्रै नहुन सक्छ ।
कतिपय अवस्थामा यो पित्तथैलीमा बनेको पत्थरीको संकेत पनि हुन सक्छ ।
पछिल्ला वर्षहरूमा नेपालमा पित्तथैलीको पत्थरीका बिरामी उल्लेख्य रूपमा बढिरहेका छन् । पहिले उमेर ढल्किएपछि बढी देखिने यो समस्या अहिले युवा उमेरका मानिसमा पनि देखिन थालेको छ । यही विषयमा पाटन अस्पतालमा कार्यरत ग्यास्ट्रो तथा ल्याप्रोस्कोपिक सर्जन डा. सुरेन्द्र शाहसँग गरिएको कुराकानीमा आधारित सम्पादित अंश :
पित्तथैली वास्तवमा के हो ? यसले शरीरमा के गर्छ ?
पित्तथैली अर्थात् गल गलब्लाडर एउटा पाउच वा सानो ब्यागजस्तो अंग हो, जुन कलेजोमुनि टाँसिएको हुन्छ र पित्तको नलीसँग जोडिएको हुन्छ । कलेजोमा बन्ने ‘पित्त’ नामक तरल पदार्थ यही नली हुँदै आन्द्रासम्म पुग्छ । पित्तले विशेषगरी चिल्लो तथा बोसोयुक्त खाना पचाउन महत्वपूर्ण भूमिका खेल्छ ।
पित्तथैलीको मुख्य काम भनेको पित्तलाई स्टोर गरेर राख्नु हो । शरीरलाई धेरै पित्त आवश्यक नभएको बेला पित्तथैलीले त्यसलाई जम्मा गरेर राख्छ । तर जब हामी चिल्लो खाना खान्छौं, त्यतिबेला पित्तथैली संकुचित हुन्छ र स्टोर गरेको पित्तलाई पनि नलीमार्फत आन्द्रातर्फ पठाउँछ । कलेजोबाट सिधै आउने पित्त र पित्तथैलीमा जम्मा भएको पित्त मिसिएर खाना पचाउन मद्दत गर्छ ।
पित्तथैलीमा समस्या नभएसम्म मानिसले यसको काम भइरहेको खासै महसुस गर्दैन । तर पित्तथैलीमा पत्थरी बनेपछि यसको कार्यक्षमता प्रभावित हुन थाल्छ । विशेषगरी चिल्लो खाना खाँदा पेट फुलेको, भारी भएको वा डुम्म भएको जस्तो अनुभव हुन सक्छ । धेरै मानिसले यस्तो लक्षणलाई सामान्य ग्यास्ट्रिक सम्झेर बेवास्ता गर्ने गर्छन् ।
पित्तथैलीमा पत्थरी बन्छ ?
पित्तभित्र कोलेस्टेरोल, बाइल साल्ट, पानीलगायत विभिन्न रसायन हुन्छन् । सामान्य अवस्थामा यी सबै सन्तुलनमा रहन्छन् । तर जब शरीरभित्र रसायनहरूको सन्तुलन बिग्रिन्छ, त्यतिबेला पित्तभित्र रहेका पदार्थहरू जम्न थाल्छन् ।
सुरुमा ती साना कणका रूपमा देखिन्छन् । पछि विस्तारै ठूलो हुँदै ढुंगाजस्तो पत्थरी बन्न पुग्छ । शरीरमा कोलेस्टेरोल बढी हुनु, मोटोपन, हर्मोनल परिवर्तन तथा पित्तको रासायनिक संरचनामा आउने गडबडी यसको मुख्य कारण हो ।
पित्तथैली पित्त जम्मा गरेर राख्ने ठाउँ भएकाले त्यहाँ पत्थरी बन्ने सम्भावना बढी हुन्छ । कतिपय अवस्थामा यही पत्थरी पित्तनलीतर्फ झरेर थप जटिल समस्या पनि गराउन सक्छ ।
पित्तथैलीको पत्थरी अहिले कतिको साझा समस्या हो ?
पछिल्ला वर्षहरूमा पित्तथैलीको पत्थरीका बिरामी उल्लेख्य रूपमा बढिरहेका छन् । पहिले उमेर ढल्किएपछि बढी देखिने यो समस्या अहिले युवा उमेर समूहमा पनि देखिन थालेको छ ।
अहिले अल्ट्रासाउन्ड जाँच सहज रूपमा उपलब्ध भएकाले पनि बिरामी पहिचान हुने दर बढेको छ । तर त्यससँगै जीवनशैली परिवर्तन, मोटोपन, चिल्लो खाना तथा शारीरिक गतिविधि घट्नु पनि यसको जोखिम बढाउने कारण मानिन्छ ।
धेरै बिरामीमा सुरुमा कुनै लक्षण नै हुँदैन । अरू कारणले पेटको अल्ट्रासाउन्ड गर्दा मात्रै पत्थरी भएको थाहा पाउनेहरू पनि धेरै छन् । तर समस्या बढ्दै जाँदा पेट दुख्ने, जन्डिस हुने, संक्रमण हुने वा आकस्मिक अप्रेसन गर्नुपर्ने अवस्था समेत आउन सक्छ ।
विशेषगरी शहरी क्षेत्रमा बसोबास गर्ने व्यक्तिमा समस्या बढ्दो देखिन्छ । अस्वस्थ खानपान र शारीरिक रूपमा निस्क्रिय जीवनशैलीका कारण युवा पुस्तामा पनि यसको जोखिम बढिरहेको छ ।
अहिले अल्ट्रासाउन्ड धेरै सहज उपलब्ध भएकाले पनि बिरामी पहिचान बढेको छ । पहिले ४०–५० वर्षपछि बढी देखिने यो समस्या अहिले २०–३० वर्ष उमेरका मानिसमा पनि भेटिन थालेको छ । महिलामा पुरुषको तुलनामा बढी देखिने गरेको छ ।
पित्तथैली बन्ने कारण के-के हुन् ? किन यो समस्या महिलामा बढी देखिन्छ ?
पित्तथैलीको पत्थरी कुनै एक कारणले मात्रै हुने समस्या होइन । शरीरभित्रको रासायनिक असन्तुलन, मोटोपन, हर्मोनल परिवर्तन तथा जीवनशैलीका विभिन्न कारणले यसको जोखिम बढ्न सक्छ । विशेषगरी मोटोपन भएका मानिसमा यसको समस्या बढी देखिन्छ । शरीरमा कोलेस्टेरोल बढी हुँदा पित्तभित्रको संरचना बिग्रने सम्भावना बढ्छ । त्यसपछि पित्तभित्र साना कण जमेर पत्थरी बन्न सक्छ ।
महिलामा पुरुषभन्दा यो समस्या बढी देखिन्छ । अझ प्रजनन उमेर समूहका महिलामा हुने हर्मोनल परिवर्तनले पित्तभित्रको रासायनिक संरचनामा असर गर्छ । त्यसैले, महिलामा पत्थरी बन्ने सम्भावना बढी हुन्छ ।
मोटोपन, कम शारीरिक गतिविधि, धेरै चिल्लो तथा बोसोयुक्त खाना खाने बानीले पनि जोखिम बढाउन सक्छ । यद्यपि खानपान मात्रै प्रत्यक्ष कारण नभए पनि अस्वस्थ जीवनशैलीले समस्या बढाउन महत्वपूर्ण भूमिका खेल्ने गर्छ ।
सुरुमा कस्ता लक्षण देखिन्छन् ?
सबैभन्दा रोचक कुरा के भने धेरै बिरामीमा सुरुमा कुनै लक्षण नै हुँदैन । कतिपयलाई वर्षौंसम्म पत्थरी भएको थाहा नै नहुन सक्छ । तर लक्षण देखिन थालेपछि सबैभन्दा सामान्य समस्या चिल्लो खाना खाएपछि हुने असहजता हो ।
चिल्लो खाना खाएपछि पेट भारी हुने, डुम्म फुलेको जस्तो लाग्ने, माथिल्लो पेट दुख्ने, वाकवाकी लाग्ने, खाना नपचेको जस्तो हुने र अमिलो डकार आउने जस्ता समस्या देखिन सक्छन् ।
धेरै बिरामीले यी लक्षणलाई ‘ग्यास्ट्रिक’ सम्झेर औषधि मात्रै खाने गर्छन् । तर बारम्बार यस्तो समस्या भइरहेमा अल्ट्रासाउन्ड गराएर पित्तथैली जाँच गर्न आवश्यक हुन्छ ।
समस्या जटिल बन्दा के हुन्छ ?
यदि पत्थरी समयमै पत्ता लागेन भने यसले विभिन्न गम्भीर समस्या निम्त्याउन सक्छ । कतिपय अवस्थामा पत्थरीका कारण पित्तथैली सुनिन्छ र संक्रमण हुन्छ । यसलाई ‘एक्युट कोलेसिस्टाइटिस’ भनिन्छ । यस्तो अवस्थामा बिरामीलाई असह्य पेट दुख्ने, ज्वरो आउने र बान्ता हुने हुन्छ ।
यदि पत्थरी पित्तनलीमा झर्यो भने पित्त बग्ने बाटो बन्द हुन सक्छ । त्यसपछि बिरामीलाई जन्डिस हुन्छ, आँखासमेत पहेंलो देखिन थाल्छ । त्यसैगरी सानो पत्थरी प्यान्क्रियाजको नलीसम्म पुग्दा ‘प्यान्क्रियाटाइटिस’ हुन सक्छ, जुन अत्यन्त खतरनाक अवस्था हो ।
कतिपय बिरामीहरू निकै ढिला अस्पताल पुग्छन् । संक्रमण धेरै बढिसकेको हुन्छ । कहिलेकाहीँ पित्तथैली फुटेर पित्त पेटभरि फैलिने अवस्था पनि आउन सक्छ ।
सबै पत्थरीमा शल्यक्रिया आवश्यक छ ?
यो धेरै मानिसको जिज्ञासा हुने गर्छ । सबै पत्थरीमा तुरुन्त शल्यक्रिया गर्नुपर्छ भन्ने छैन । यदि पत्थरी छ तर कुनै लक्षण छैन भने त्यसलाई ‘असिम्प्टोमेटिक गलस्टोन’ भनिन्छ । यस्ता बिरामीलाई नियमित निगरानीमा राख्न सकिन्छ ।
तर, यदि बारम्बार पेट दुख्ने, चिल्लो खाना खाँदा समस्या हुने, जन्डिस हुने, संक्रमण हुने, पत्थरीको आकार-प्रकार धेरै ठूलो हुने र अत्यन्त सानो भएर पित्तनलीमा झर्ने जोखिम हुने जस्ता अवस्था छन् भने शल्यक्रियाको सिफारिस गरिन्छ ।
कसरी गरिन्छ शल्यक्रिया ? के हुन सक्छन् सहज प्रक्रिया ?
अहिले ल्याप्रोस्कोपिक सर्जरी नै ‘गोल्ड स्ट्यान्डर्ड’ उपचार विधि मानिन्छ । किनभने पहिले पित्तथैलीको अप्रेसन गर्दा पेटमा ठूलो चिरेर शल्यक्रिया गरिन्थ्यो ।
अहिले भने अधिकांश अवस्थामा ल्याप्रोस्कोपिक सर्जरी गरिन्छ । यसमा पेटमा सानो प्वाल बनाएर क्यामेरा र विशेष उपकरणको सहायताले पित्तथैली निकालिन्छ ।
यो विधिको फाइदा के भने बिरामीलाई कम दुखाइ हुन्छ, अस्पताल बसाइ छोटो हुन्छ र छिट्टै सामान्य जीवनमा फर्किन सकिन्छ ।
पित्तथैली निकालिएपछि जीवन सामान्य रहन्छ ?
धेरै बिरामीमा एउटा डर हुन्छ, ‘पित्तथैली निकाल्यो भने पछि खाना पच्दैन कि ?’ तर पित्तथैली हटाएपछि पनि मानिस सामान्य जीवन बाँच्न सक्छ । किनभने पित्त बनाउने काम कलेजोले गरिरहन्छ । पित्तथैली केवल स्टोर गर्ने अंग मात्र हो ।
अप्रेसनपछि केही समय खानपानमा सावधानी अपनाउनुपर्ने भए पनि अधिकांश मानिस पूर्ण रूपमा सामान्य जीवनमा फर्कन्छन् ।
पत्थरी हुन नदिन के गर्ने ? त्यसलाई समय अगावै रोक्न सकिन्छ ?
सबै कारण नियन्त्रण गर्न नसकिए पनि जोखिम घटाउन सकिन्छ । स्वस्थ जीवनशैली नै यसको मुख्य रोकथाम हो । त्यसका लागि तौल नियन्त्रणमा राख्ने, नियमित व्यायाम गर्ने, प्रशस्त पानी पिउने, धेरै चिल्लो तथा बोसोयुक्त खाना कम खाने, फाइबरयुक्त खाना बढी खाने, फास्टफुड तथा अत्यधिक कार्बोहाइड्रेट कम गर्ने, लामो समय भोकै नबस्ने र, मधुमेह तथा मोटोपन नियन्त्रण गर्न सकिन्छ ।
विशेषगरी चिल्लो खाना खाएपछि बारम्बार पेट भारी हुने, फुल्ने वा दुख्ने समस्या भइरहेको छ भने त्यसलाई केवल ग्यास्ट्रिक भनेर बेवास्ता गर्नु जोखिमपूर्ण हुन सक्छ ।
समयमै परीक्षण, सही पहिचान र आवश्यक उपचार गरे अधिकांश बिरामी पूर्ण रूपमा निको हुन सक्छन् । त्यसैले, शरीरले दिएको संकेतलाई बेवास्ता नगरी समयमै चिकित्सकको सल्लाह लिनु उपयुक्त हुन्छ ।
प्रतिक्रिया 4