Comments Add Comment

ओली र प्रचण्डबीच ४ घण्टा छलफल

फाइल फोटो

१४ माघ, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच पार्टी एकता, मुख्यमन्त्री लगायतका पद बाँडफाँडका विषयमा ४ घण्टा लामो सघन छलफल भएको छ । ललितपुरमा भएको दुई नेताबीचको छलफल सकारात्मक भएको ओलीसँग कुरा गरेका एक एमाले नेताले बताए ।

ओलीले प्रचण्डसँग पार्टी एकता, सरकार गठनलगायत पार्टी संगठन र राज्य सन्चालनका सन्दर्भमा आफ्नो मार्गचित्र पेश गरेको स्रोतले जनाएको छ । पार्टी अध्यक्ष वा कुनै पदमा केन्द्रित भएर भन्दा पनि समग्र विषयमा ओलीले आफ्नो योजना सुनाएको स्रोतको दाबी छ ।

ओलीको मार्गचित्रमा प्रचण्डले सकारात्मक प्रतिक्रिया दिएको र पार्टी एकता नहुने भनेर पछिल्लो समयमा चलेका हल्ला तथा आशंकाहरु अन्त्य भएको दावी गरिएको छ । यद्यपि दुवै नेताका तर्फबाट कुनै प्रतिक्रिया आएको छैन ।

प्रचण्डले सरकार गठनअघि नै पार्टी एकता हुनुपर्ने अभिव्यक्ति दिइसकेका छन् । त्यसको अन्तर्य भनेको उनको एकीकृत पार्टीको अध्यक्ष हुने चाहना हो । सरकार गठनअघि पार्टी एकता गर्ने कुराले ओलीमाथि दबाव पर्ने माओवादीको ठम्याई हो । तर, ओली भने सहजै प्रचण्डलाई अध्यक्ष हस्तान्तरण गरेर पार्टी एकता गर्ने पक्षमा छैनन् ।

उनले प्रचण्डलाई सहअध्यक्षमा मनाएर आफू सरकारमा गएपछि कार्यवाहक अध्यक्ष दिने विकल्प सुझाएको चर्चा एमाले वृत्तमा चलेको छ । पार्टी एकता प्रक्रियामा अन्योल बढेपछि दुई नेता शुक्रबारदेखि एक्लाएक्लै सघन छलफलमा जुटेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment