News Summary
Generated by OK AI. Editorially reviewed.- अस्ट्रेलियाको ब्रिसबेनकी ६३ वर्षीया डायने शिहानलाई ४२ वर्षपछि इमेलमार्फत जीवित छोरा भएको र उनी हजुरआमा बनेको थाहा भयो ।
- डायनेले सन् १९७६ मा छोरा जन्माएपछि बच्चाको मृत्यु भएको भनिएको र उनलाई काखमा लिन समेत नदिइएको बताइन् ।
डिसेम्बर २०१८ को एक न्यानो रात थियो । ६३ वर्षीया डायने शिहान अस्ट्रेलियाको ब्रिसबेनस्थित आफ्नो घर फर्किएकी थिइन् । उनी साथीहरूसँग डिनर गरेर आएकी थिइन् । घर पुगेर सोफामा बसेकी मात्र के थिइन्, उनको फोनमा एउटा इमेल आयो ।
यो इमेल एक यस्ता व्यक्तिले पठाएका थिए, जसले आफ्नो जन्म वर्ष र जन्मिएको अस्पतालको नाम लेखेका थिए । यसपछि उनले यस्तो कुरा लेखे, जसले डायनेको जीवन नै बदलिदियो । उनले लेखेका थिए कि उनलाई डायने नै आफ्नी आमा हुन् भन्ने लाग्छ ।
डायनेले बीबीसीको कार्यक्रम ‘आउटलुक’ लाई बताइन्, ‘मेरो दिमाग शून्य भएको थियो । केही बुझ्न सकिरहेकी थिइनँ । सास पनि फेर्न सकिरहेकी थिइनँ । कैयौं घण्टासम्म मेरो यस्तै अवस्था रह्यो । म आफैंबाट बाहिर निस्किएजस्तो महसुस भइरहेको थियो ।’
इमेलमा दिइएका सबै जानकारी सही थिए । डायनेले सन् १९७६ मा सोही मितिमा र सोही अस्पतालमा एक बच्चालाई जन्म दिएकी थिइन् । तर, उनलाई उनको बच्चाको मृत्यु भइसकेको बताइएको थियो । त्यतिबेला अस्पतालका कर्मचारीहरूले उनलाई यही जानकारी दिएका थिए ।
‘यौन शिक्षाबारे जानकारी थिएन’
डायनेको जन्म सन् १९५० को दशकमा न्युजिल्यान्डको वेलिङ्टनमा भएको थियो । उनको हुर्काइ एक क्याथोलिक परिवारमा भयो । उनले ननहरूको स्कुलमा पढेकी थिइन् ।
डायनेका अनुसार स्कुलमा उनलाई यौन शिक्षा दिइएको थिएन । उनलाई केवल केटाहरूबाट टाढा रहने सल्लाह मात्र दिइन्थ्यो । उनी भन्छिन्, ‘हामीलाई यति मात्र भनिन्थ्यो कि केटाहरूसँग बसको एउटै सिटमा नबस्नु, नत्र गर्भवती हुनेछौ ।’

यौन र गर्भनिरोधकबारे सही जानकारी नभएका कारण डायनेलाई गर्भनिरोधक साधन प्रयोग गर्नुपर्छ भन्ने कहिल्यै ख्याल आएन ।
क्यानडामा सुसारेको काम गर्ने क्रममा उनको भेट रिक नामका एक घोडचढी युवकसँग भएको थियो । दुवैलाई घोडाको सौख थियो । बिस्तारै दुवै एकअर्कासँग नजिकिए ।
डायने भन्छिन्, ‘ऊ मेरो पहिलो प्रेम थियो । ऊ निकै ख्याल राख्ने र दयालु थियो । हाम्रो रुचि पनि उस्तै थियो । उसलाई घोडाबारे राम्रो जानकारी थियो र ऊ निकै राम्रो घोडचढी थियो ।’
दुवैको पहिलो डेट ‘म्याकडोनाल्ड्स’ मा भएको थियो । डायने सम्झिन्छिन्, ‘हामीले त्यहाँ बर्गर र फ्रेन्च फ्राइज खायौं । मैले यसअघि यस्तो ठाउँ कहिल्यै देखेकी थिइनँ । रिक निकै आत्मविश्वासी र दुनियाँ बुझ्ने मान्छे थियो । म उसको मायामा हराएकी थिएँ ।”
केही समयपछि रिक क्यालिफोर्निया गए । डायने उनलाई भेट्न त्यहाँ पुगिन् । तर, क्यानडा फर्किने क्रममा उनको फ्लाइट छुट्यो । यसपछि उनलाई तुरुन्तै जागिरबाट निकालियो । जागिर गएसँगै क्यानडामा बस्ने उनको अधिकार पनि समाप्त भयो । त्यसैले उनले त्यहाँबाट जानुपर्यो र उनी अस्ट्रेलिया गइन् । त्यतिबेलासम्म डायने गर्भवती भइसकेकी थिइन्, तर उनलाई यसबारे कुनै जानकारी थिएन ।
‘गर्भवती भएको थाहा पाएपछि डराएँ’
त्यस समयमा न मोबाइल फोन थिए, न त सामाजिक सञ्जाल नै । यस्तो अवस्थामा डायने र रिकको एकअर्कासँग सम्पर्क टुट्यो । डायनेले सिडनीको एक घोडा फार्ममा काम पाइन् । यो फार्म एक डाक्टर र उनकी श्रीमतीले चलाउँथे । दुवैको विचार डायनेका आमाबुबाको जस्तै रूढीवादी थियो ।
जब डायनेलाई पहिलो पटक आफू गर्भवती भएको थाहा भयो, उनी निकै डराइन् । उनी भन्छिन्, ‘म आफैंले यो कुरा स्वीकार गर्न सकिरहेकी थिइनँ । म यसलाई शब्दमा पनि व्यक्त गर्न सक्दिनथें ।’
उनलाई यो वास्तविकता स्वीकार गर्न करिब ६ महिना लाग्यो । त्यो समयसम्म उनले आफू गर्भवती भएको कुरा सबैबाट लुकाएर राखेकी थिइन् । अरूले थाहा नपाऊन् भनेर डायने खुकुला लुगा लगाउँथिन् ।
‘म निकै दुब्ली-पातली थिएँ’ उनी सुनाउँछिन्, ‘फार्ममा काम गर्थें र त्यहाँ ‘ओभरअल’ (एक प्रकारको खुकुलो पोसाक) लगाउँथें । त्यसैले मेरो पेट सजिलै छोपिन्थ्यो ।’
डायनेका अनुसार त्यतिबेला समाजको रवैया निकै कठोर थियो । समाजमा एक अविवाहित महिला आमा बन्नु निकै ठूलो कुरा मानिन्थ्यो । यस्ता महिलालाई गलत नजरले हेरिन्थ्यो र समाजबाट लगभग बहिष्कार गरिन्थ्यो ।
जब उनलाई प्रसव पीडा सुरु भयो, उनले एक्लै त्यसलाई सहने कोसिस गरिन् । तर, जब उनलाई बान्ता हुन थाल्यो, तब उनलाई अस्पताल लगियो ।
‘बच्चालाई जन्म दिएँ, तर काखमा लिन दिइएन’
डायनेका लागि अस्पतालमा बच्चालाई जन्म दिनुको अनुभव निकै पीडादायी थियो । ‘मलाई याद छ, त्यहाँ कसैले पनि मसँग राम्ररी कुरा गरिरहेका थिएनन्’ उनी भन्छिन्, ‘जब उनीहरूले मेरो बच्चालाई मबाट टाढा लगे, मलाई नग्न अवस्थामा एउटा टेबलमा छोडियो । मलाई बगिरहेको रगत याद छ । मलाई निकै जाडो भइरहेको थियो ।’
उनलाई न त आफ्नो बच्चालाई काखमा लिन दिइयो, न त बच्चा छोरा हो वा छोरी भनेर नै बताइयो । यसपछि अस्पतालका कर्मचारीहरूले उनलाई बच्चाको मृत्यु भएको जानकारी दिए ।
डायनेले त्यसपछिका कैयौं दशकसम्म यस घटनाबारे कसैलाई केही बताइनन् । उनले न रिकलाई केही भनिन्, न आफ्ना आमाबुवालाई । यहाँसम्म कि वर्षौंपछि जुन व्यक्तिसँग उनले विवाह गरिन्, उनलाई पनि यसबारे बताइनन् । विवाहपछि उनका दुई सन्तान भए, तर उनले उनीहरूसँग पनि यो कुरा लुकाएर राखिन् ।
उनले आफूलाई काम र पढाइमा व्यस्त राखिन् । उनी एक पशु चिकित्सकको रूपमा काम गर्थिन् । उनी भन्छिन्, ‘यदि मसँग एउटा काम हुन्थ्यो भने म अरू दुई-तीनवटा काम थप्थें । म आफूलाई यति थकाउँथें कि राति ओछ्यानमा जानेबित्तिकै निदाऊँ । म यस घटनाबारे सोच्न चाहन्नथें, त्यसैले आफूलाई सकेसम्म व्यस्त राख्थें ।’
अस्ट्रेलियाली सरकारले माग्यो माफी
तर, ४२ वर्षपछि आएको एउटा इमेलले उनलाई आफ्नो अतीतको सामना गर्न बाध्य बनायो । इमेल पठाउने उनै छोरा थिए, जसको मृत्यु भइसकेको भनेर उनलाई बताइएको थियो । उनका छोरा जीवित रहेको र उनलाई अर्को परिवारले धर्मपुत्रका रूपमा लिएको कुरा उनले थाहा पाइन् । अहिले उनका छोरा आफ्नो पहिचान सार्वजनिक गर्न चाहँदैनन् ।
सन् १९५० देखि १९७० को दशकको बीचमा अस्ट्रेलियामा हजारौं महिलालाई आफ्ना सन्तान अरूलाई धर्मपुत्र/पुत्रीका रूपमा दिन बाध्य पारिएको थियो । डायनेलाई डायना तिनै मध्येकी एक थिइन् ।
त्यतिबेला क्याथोलिक चर्च र अन्य संस्थाहरूले यस्ता अविवाहित महिलाहरूमाथि आफ्ना बच्चा अरूलाई दिन दबाब सिर्जना गर्थे । यस प्रक्रियामा महिलाहरूलाई मानसिक रूपले यातना दिइन्थ्यो । आमा र बच्चालाई जन्मनेबित्तिकै अलग गरिन्थ्यो । कतिपय मामिलामा धर्मपुत्र/पुत्री ग्रहण गर्ने प्रक्रियामा नियमहरूको समेत पालना गरिएको थिएन ।
यी नीतिहरूका कारण हजारौं परिवारलाई क्षति पुगेको थियो भन्ने कुरा सन् २०१३ मा अस्ट्रेलियाको सरकारले आधिकारिक रूपमा स्वीकार गर्यो । सरकारले पीडित महिला र परिवारहरूसँग माफी समेत मागेको थियो ।
डायनेका छोराले आफ्नो इमेलमा लेखेका थिए– उनलाई डायनेबाट केही चाहिएको छैन, उनी केवल आफ्नी आमालाई भेट्न चाहन्छन् । उनी भविष्यमा दुवैको बीचमा कुनै सम्बन्ध बन्न सक्छ कि सक्दैन भनेर पनि जान्न चाहन्थे ।
उनले आफ्नो जीवन राम्रो बितेको र धर्मपुत्र बनाएर पाल्ने आमाबुबाले उनलाई आवश्यक पर्ने हरेक कुरा दिएको बताए । इमेलमा उनले अर्को एउटा कुरा पनि लेखेका थिए– ‘जे होस्, तपाईंलाई जानकारी गराऊँ कि तपाईं हजुरआमा पनि बनिसक्नुभएको छ ।’ यससँगै उनले एक सानी बालिकाको तस्बिर पठाएका थिए, जसको कपाल घुम्रिएको थियो ।
तस्बिर देख्नेबित्तिकै डायनेलाई इमेल पठाउने व्यक्ति आफ्नै छोरा हो भन्ने विश्वास लाग्यो । उनी सुनाउँछिन्, ‘म करिब साढे दुई वा तीन वर्षकी छँदाको मेरो एउटा तस्बिर छ । मेरी नातिनी पनि त्यही उमेरकी छिन् । दुवैको अनुहार यति मिल्छ कि हामी जुम्ल्याहा हौं जस्तो लाग्छ । यो सब देखेर मेरो टाउको रिंगाउन थालेको थियो ।’
४२ वर्षपछि छोरासँग भेट
यति वर्षसम्म लुकाएर राखेको यो रहस्य बाहिर आउँदा आफ्नो परिवारमा कस्तो असर पर्ला भन्ने डायनेलाई डर थियो । तर, उनका श्रीमान् र छोराछोरीले उनलाई साथ दिए । सबैले उनी आफ्नो पहिलो सन्तानलाई भेटून् भन्ने चाहन्थे ।
यसपछि डायने आफ्नो छोरालाई भेट्न सिडनी पुगिन् । उनका छोरा उनलाई लिन एयरपोर्ट आएका थिए । डायने सम्झिन्छिन्, ‘ऊ हातमा सेतो फूलको सानो गुच्छा लिएर उभिएको थियो । उसले मलाई अँगालो हाल्यो । म उसलाई छोड्नै चाहन्नथें ।’
त्यसपछि उनीहरू छोराको घर गए । त्यहाँ डायनेले आफ्ना छोराकी श्रीमती र छोराछोरीलाई भेटिन् । बिस्तारै उनलाई यो पनि थाहा भयो कि उनका छोरालाई धर्मपुत्र बनाउने आमाबुवालाई पनि वास्तविकता बताइएको थिएन ।

डायने भन्छिन्, ‘उनीहरूलाई बच्चाकी आमाले उसको हेरचाह गर्न नसक्ने र बच्चालाई कुनै धार्मिक परिवारमा दिन चाहेको बताइएको थियो । साथै, आमाले बच्चाको एक खास नाम राख्ने र उसका तस्बिरहरू एक निश्चित ठेगानामा पठाउने इच्छा व्यक्त गरेको भनिएको थियो ।’
उनका छोराकी धर्मआमाले उनलाई कैयौं वर्षसम्म चिठीहरू लेखेकी थिइन् भन्ने कुरा डायनेलाई पछि थाहा भयो ।
एक दिन दुवैको भेट नातिको स्कुलको एक कार्यक्रममा भयो । त्यहाँ छोराकी धर्मआमाले डायनेतर्फ इशारा गर्दै उनका छोरा, बुहारी र नातिनातिनातर्फ हेरिन् र भनिन्, ‘मलाई यो सब दिनुभएकोमा तपाईंलाई धन्यवाद ।’
डायनेका लागि त्यो पल बेहद भावुक बनाउने खालको थियो । त्यतिबेला उनको मनमा कैयौं प्रकारका भावनाहरू उर्लिएका थिए । यो एक यस्तो वास्तविकता थियो, जसका साथ उनले सधैं बाँच्नुपर्नेछ ।
उनी भन्छिन्, ‘मेरो छोरा एक प्रेमपूर्ण सम्बन्धबाट जन्मिएको थियो । अब जब मलाई वास्तविकता थाहा भएको छ, त्यो पीडा झन् बढेको छ । तर, ती मानिसहरूले मेरो बच्चालाई अपनाए, हुर्काए र माया दिए । उनीहरूले उसको हरेक आवश्यकताको ख्याल राखे । उनीहरूबीच निकै राम्रो सम्बन्ध थियो । उनीहरू निकै असल र सोझा मानिसहरू थिए ।’
आज डायने आफ्नो छोरा र उसको परिवारसँगको सम्बन्धलाई अगाडि बढाइरहेकी छिन् । यस घटनालाई लिएर रिस नरहेको डायने बताउाछिन् ।
‘जे भयो, त्यसलाई म बदल्न सक्दिनँ’ उनी भन्छिन्, ‘त्यतिबेला यसमा संलग्न मानिसहरू, समाजका नियम र मानिसहरूको सोच सब फरक थिए । म अब आफ्नो रिस र ऊर्जा त्यो अतीतमा खर्च गर्न चाहन्नँ ।’
४० वर्ष भन्दाअघि नै गुमाइसकेको ठानेको आफ्नो छोरासँगको सम्बन्ध बलियो बनाउने चाहना रहेको उनी बताउँछिन् ।
प्रतिक्रिया 4