+

रोनाल्डोको लागि युभेन्टसको १०० मिलियन प्रस्ताव, बेच्ला त रियलले ?

२०७५ असार  २१ गते १२:०१ २०७५ असार २१ गते १२:०१
रोनाल्डोको लागि युभेन्टसको १०० मिलियन प्रस्ताव, बेच्ला त रियलले ?

२१ असार, काठमाडौं । रोनाल्डोको लागि इटालिएन सिरी ए च्याम्पियन युभेन्टसले १०० मिलियन यूरो अर्थात ८८ मिलियन पाउण्ड प्रस्ताव गरेको छ ।

युभेन्टसको प्रस्तावलाई रियलले विचार गरिरहेको जनाइएको छ । गत साता विश्वकपबाट उरुग्वेसँग २–१ पराजय भोग्दै अन्तिम १६ बाट बाहिरिएको पोर्चुगलका यी क्याप्टेन आफ्नो करिअरको उत्तराद्र्धमा छन् ।

स्पेनिस महारथी रियलको लागि सर्वाधिक ४५१ गोल गरेका ३३ वर्षीय रोनाल्डोले आफ्नो करिअर रियलमै टुङ्ग्याउन चाहेको भए पनि उनको अबको यात्रा क्लबको निर्णयमा भर पर्नेछ ।

यदि रियलले युभेन्टसको प्रस्ताव स्वकारेमा उनी टुरिन जानेछन् । रियललाई पाँचपटक च्याम्पियन्स लिग जिताएका उनको उमेर बढ्दै गएको र लय खस्कँदै गएकोले रियलले उनको विकल्प खोजिरहेको छ ।

रियलले पिएसजीका ब्राजिली फरवार्ड नेइमारलाई भित्र्याउन चाहेको बताइन्छ । त्यस्तै नेइमार नमिलेमा उसले पिएसजीकै अर्का फरवार्ड किलियन एमबाप्पेलाई पनि ताकिरहेको समाचारहरु आएका छन् ।

एमबाप्पेको लागि पिएसजीसँग सम्झौता भएको छैन्ः रियल

बुधबार मात्रै रियलले पिएसजीलाई एमबाप्पेको लागि २७२ मिलियन यूरो दिने सम्झौता भएको भन्दै स्पेनमा प्रकाशित भएका समाचारहरुको रियलले विज्ञप्ती निकाल्दै खण्डन गरेको छ ।

रियलले भनेको छ, ‘किलियन एमबाप्पेको लागि रियलमड्रिड र पिएसजीबीच सम्झौता भएको भन्दै पछिल्ला केहि घन्टामा आएका सबै समाचारहरु झुटा हुन ।’

‘रियलले पिएसजीसँग कुनै पनि त्यस्तो खालको प्रस्ताव गरेको छैन र यस्तो झुटा हल्लाहरु फैलिएकोमा हाम्रो ध्यानाकर्षण भएको छ’ उसले भनेको छ ।

यसअघि नेइमारलाई कीर्तिमानी रकम ३१० मिलियन यूरोमा भित्र्याउने प्रस्ताव गरेको खबर आएपछि रियलले एक विज्ञप्ती जारी गर्दै यस्तो खबर झुटो भएको दावी गरेको थियो ।

एजेन्सीहरुको सहयोगमा

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय