+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

डरले डुबेको नेपाल

भुपेन्द्र जि.सी. भुपेन्द्र जि.सी.
२०८१ वैशाख ७ गते २१:२४

७ वैशाख, काठमाडौं । एसीसी प्रिमियर कपको पहिलो सेमिफाइनलमा नेपाल, यूएईसँग ६ विकेटले पराजित भयो । यो हारले एसिया कप पुगेर विश्व क्रिकेटका दुई पावर हाउस भारत र पाकिस्तानसँग खेल्ने अवसर गुमाएको छ ।

पछिल्लो एक वर्षमा घरेलु मैदानमा भएको खेलमा नेपाल, यूएईमाथि हावी भएको थियो । तर शुक्रबार खेल भएको अल अमरेत क्रिकेट ग्राउण्ड–१ मा नेपालको विगतको रेकर्ड राम्रो थिएन । सन् २०२२ मा आईसीसी टी–२० विश्वकप छनोट ए को सेमिफाइनलमा नेपाल यही मैदानमा यूएईसँग ६८ रनले पराजित भएको थियो ।

त्यस बेला र अहिले दुवैमा नेपाल समूह विजेता र यूएई उपविजेताको रूपमा सेमिफाइनलमा भिडेका थिए ।

यो पटक नेपालले समूह चरणमा मलेसियालाई ५ विकेट, कतारलाई ३२ रन, हङकङलाई ८ विकेट र साउदी अरबलाई ६ विकेटले हराउँदै सेमिफाइनल खेलेको थियो । यूएईले कुवेतलाई ७ विकेट, बहराइनलाई ३७ रन र कम्बोडियालाई ९ विकेटले हराएको थियो भने ओमानसँग ९ विकेटले हार्न पुगेको थियो ।

नक आउट खेलमा टस सधैं महत्त्वपूर्ण मानिन्छ । आज नेपालले टस हार्‍यो र ब्याटिङको निम्तो पायो ।

यूएईका तीव्र गतिका बलर जुनैद सिद्दिकको पहिलो ओभरको पहिलो बल अफ साइड केन्द्रित गुड लेन्थमा गरेका थिए । कुशल भुर्तेल उक्त बल रोक्न चाहन्थे, तर एज लागेर विकेटकिपर सैइद हैदरबाट क्याच आउट भए ।

कुशल पहिलो बलमा आउट भएसँगै नेपाल दबाबमा पर्‍यो । नेपालका ब्याटरहरूले खुलेर खेल्नै सकेनन् ।

जबकि टी–२० क्रिकेट खेल नै आक्रामक हो । नेपालको ब्याटिङ ९ नम्बरसम्म छ । तर नेपाली खेलाडी दबाब र डरबाट कुनै पनि समय बाहिर आउन सकेनन् ।

ओमैद शाफी रहमान र जुनैदको जोडीले सुरूवाती २ ओभरमा मात्रै ४ रन दिएका थिए । तेस्रो ओभरको दोस्रो बलमा आसिफ शेखले जुनैदलाई छक्का हानेका थिए, तर चोथो ओभरमा शेख रहमानको लेग साइडको बलमा ८ रनमा एलबीडब्लू आउट भए ।

पहिलो पावर प्ले अर्थात ६ ओभरमा नेपाल ३०–२ को अवस्थामा रह्यो । पावर प्लेमै यूएईले मोमेन्टम्स आफ्नो पक्षमा पारेको थियो । कप्तान रोहित १४ बलमा ४ र सन्दीप जोरा १० मा १६ रन बनाएर खेलेका थिए । पावर प्लेमा ३० यार्ड बाहिर दुई मात्रै फिल्डर हुँदा आक्रामक क्रिकेट खेल्नु पर्दथ्यो ।

तर पावर प्लेमा कमजोर प्रदर्शनले ठूलो योगफलको दबाब परेको थियो । त्योभन्दा बढी रोहित दबाबमा थिए । उनी १८ बलमा ५ रन बनाएर आउट भए । टी–२० क्रिकेट, त्यसमा पनि इनिङको दोस्रो बलमै मैदान छिरेर पावर प्लेमा त्यो किसिमको प्रदर्शन अस्वभाविक थियो । अली नासिरले सातौं ओभरको अन्तिम बलमा रोहितलाई सटिक बाउन्सर गर्दै विकेटकिपरबाट क्याच गराए ।

यूएईको रणनीतिलाई पनि श्रेय दिनुपर्छ । यूएईले बायाँ हाते कुशल मल्ल ब्याटिङमा आएपछि अफ स्पिनर बासिल हामिदलाई बलिङमा ल्याएको थियो । बासिलको १०औं ओभरको पहिलो फुल लेन्थ बल कुशलले लङअनमा ठूलो सटको लागि ब्याट घुमाए, तर बासिलले केही स्लो गर्दै उनलाई बोल्ड गरे ।

१३ ओभरमा नेपाल ७७–५ को अवस्थामा थियो । सन्दीप जोरा अर्धशतकबाट मात्र एक रन टाढा थिए भने उनलाई साथ दिने दीपेन्द्र सिंह ऐरी थिए । पछिल्लो समय निकै लयमा देखिएका दीपेन्द्रले यसै प्रतियोगितामा कतारविरुद्ध एकै ओभरमा ६ छक्का हानेका थिए । जोरा र दीपेन्द्रको मात्र राम्रो साझेदारी गर्न सकेको भए पनि नेपालको स्कोर सम्मानजनक हुन सक्थ्यो ।

आयन खानको १४औं ओभरको दोस्रो बलमा दीपेन्द्र ५ रनमा एलबीडब्लू आउट भए भने अर्को ओभरमा जोरालाई मोहम्मद फारुकले पभेलियनको बाटो देखाए ।

नेपाल २० ओभरमा ११९ रन बनायो । नेपालका लागि सन्दीप जोराले ५०, करण केसीले १७ र गुल्शन झाले २० रन बनाए । अन्य ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालले ६ छक्का र ५ चौका मात्रै प्रहार गरेको थियो । त्यसमा पनि जोराले एक्लै ४ चौका र २ छक्का हानेका थिए ।

टी–२० क्रिकेटमा १२० रन सामान्य लक्ष्य मानिन्छ । स्कोरबोर्डको कुनै दबाब नहुँदा यूएईले पनि जोखिम लिएन । १७.२ ओभरमा ४ विकेट गुमाउँदै फाइनलमा स्थान बनायो ।

नेपालका कप्तान रोहित पौडेलले यूएईका बलरले कन्डिसनको भरपूर फाइदा उठाएको बताउँछन् । ‘विशेषगरी पावर प्लेमा नयाँ बलका साथ यूएईले कन्डिसनको साँच्चिकै फाइदा उठायो । हामीले राम्रो साझेदारी पनि गर्न सकेनौं’ रोहितले खेलपछि भने, ‘हाम्रो हारको मुख्य कारण ब्याटिङ रह्यो ।’

लेखक
भुपेन्द्र जि.सी.

जिसी अनलाइनखबरको खेलकुद ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?