+
+

डरले डुबेको नेपाल

भुपेन्द्र जि.सी. भुपेन्द्र जि.सी.
२०८१ वैशाख ७ गते २१:२४

७ वैशाख, काठमाडौं । एसीसी प्रिमियर कपको पहिलो सेमिफाइनलमा नेपाल, यूएईसँग ६ विकेटले पराजित भयो । यो हारले एसिया कप पुगेर विश्व क्रिकेटका दुई पावर हाउस भारत र पाकिस्तानसँग खेल्ने अवसर गुमाएको छ ।

पछिल्लो एक वर्षमा घरेलु मैदानमा भएको खेलमा नेपाल, यूएईमाथि हावी भएको थियो । तर शुक्रबार खेल भएको अल अमरेत क्रिकेट ग्राउण्ड–१ मा नेपालको विगतको रेकर्ड राम्रो थिएन । सन् २०२२ मा आईसीसी टी–२० विश्वकप छनोट ए को सेमिफाइनलमा नेपाल यही मैदानमा यूएईसँग ६८ रनले पराजित भएको थियो ।

त्यस बेला र अहिले दुवैमा नेपाल समूह विजेता र यूएई उपविजेताको रूपमा सेमिफाइनलमा भिडेका थिए ।

यो पटक नेपालले समूह चरणमा मलेसियालाई ५ विकेट, कतारलाई ३२ रन, हङकङलाई ८ विकेट र साउदी अरबलाई ६ विकेटले हराउँदै सेमिफाइनल खेलेको थियो । यूएईले कुवेतलाई ७ विकेट, बहराइनलाई ३७ रन र कम्बोडियालाई ९ विकेटले हराएको थियो भने ओमानसँग ९ विकेटले हार्न पुगेको थियो ।

नक आउट खेलमा टस सधैं महत्त्वपूर्ण मानिन्छ । आज नेपालले टस हार्‍यो र ब्याटिङको निम्तो पायो ।

यूएईका तीव्र गतिका बलर जुनैद सिद्दिकको पहिलो ओभरको पहिलो बल अफ साइड केन्द्रित गुड लेन्थमा गरेका थिए । कुशल भुर्तेल उक्त बल रोक्न चाहन्थे, तर एज लागेर विकेटकिपर सैइद हैदरबाट क्याच आउट भए ।

कुशल पहिलो बलमा आउट भएसँगै नेपाल दबाबमा पर्‍यो । नेपालका ब्याटरहरूले खुलेर खेल्नै सकेनन् ।

जबकि टी–२० क्रिकेट खेल नै आक्रामक हो । नेपालको ब्याटिङ ९ नम्बरसम्म छ । तर नेपाली खेलाडी दबाब र डरबाट कुनै पनि समय बाहिर आउन सकेनन् ।

ओमैद शाफी रहमान र जुनैदको जोडीले सुरूवाती २ ओभरमा मात्रै ४ रन दिएका थिए । तेस्रो ओभरको दोस्रो बलमा आसिफ शेखले जुनैदलाई छक्का हानेका थिए, तर चोथो ओभरमा शेख रहमानको लेग साइडको बलमा ८ रनमा एलबीडब्लू आउट भए ।

पहिलो पावर प्ले अर्थात ६ ओभरमा नेपाल ३०–२ को अवस्थामा रह्यो । पावर प्लेमै यूएईले मोमेन्टम्स आफ्नो पक्षमा पारेको थियो । कप्तान रोहित १४ बलमा ४ र सन्दीप जोरा १० मा १६ रन बनाएर खेलेका थिए । पावर प्लेमा ३० यार्ड बाहिर दुई मात्रै फिल्डर हुँदा आक्रामक क्रिकेट खेल्नु पर्दथ्यो ।

तर पावर प्लेमा कमजोर प्रदर्शनले ठूलो योगफलको दबाब परेको थियो । त्योभन्दा बढी रोहित दबाबमा थिए । उनी १८ बलमा ५ रन बनाएर आउट भए । टी–२० क्रिकेट, त्यसमा पनि इनिङको दोस्रो बलमै मैदान छिरेर पावर प्लेमा त्यो किसिमको प्रदर्शन अस्वभाविक थियो । अली नासिरले सातौं ओभरको अन्तिम बलमा रोहितलाई सटिक बाउन्सर गर्दै विकेटकिपरबाट क्याच गराए ।

यूएईको रणनीतिलाई पनि श्रेय दिनुपर्छ । यूएईले बायाँ हाते कुशल मल्ल ब्याटिङमा आएपछि अफ स्पिनर बासिल हामिदलाई बलिङमा ल्याएको थियो । बासिलको १०औं ओभरको पहिलो फुल लेन्थ बल कुशलले लङअनमा ठूलो सटको लागि ब्याट घुमाए, तर बासिलले केही स्लो गर्दै उनलाई बोल्ड गरे ।

१३ ओभरमा नेपाल ७७–५ को अवस्थामा थियो । सन्दीप जोरा अर्धशतकबाट मात्र एक रन टाढा थिए भने उनलाई साथ दिने दीपेन्द्र सिंह ऐरी थिए । पछिल्लो समय निकै लयमा देखिएका दीपेन्द्रले यसै प्रतियोगितामा कतारविरुद्ध एकै ओभरमा ६ छक्का हानेका थिए । जोरा र दीपेन्द्रको मात्र राम्रो साझेदारी गर्न सकेको भए पनि नेपालको स्कोर सम्मानजनक हुन सक्थ्यो ।

आयन खानको १४औं ओभरको दोस्रो बलमा दीपेन्द्र ५ रनमा एलबीडब्लू आउट भए भने अर्को ओभरमा जोरालाई मोहम्मद फारुकले पभेलियनको बाटो देखाए ।

नेपाल २० ओभरमा ११९ रन बनायो । नेपालका लागि सन्दीप जोराले ५०, करण केसीले १७ र गुल्शन झाले २० रन बनाए । अन्य ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालले ६ छक्का र ५ चौका मात्रै प्रहार गरेको थियो । त्यसमा पनि जोराले एक्लै ४ चौका र २ छक्का हानेका थिए ।

टी–२० क्रिकेटमा १२० रन सामान्य लक्ष्य मानिन्छ । स्कोरबोर्डको कुनै दबाब नहुँदा यूएईले पनि जोखिम लिएन । १७.२ ओभरमा ४ विकेट गुमाउँदै फाइनलमा स्थान बनायो ।

नेपालका कप्तान रोहित पौडेलले यूएईका बलरले कन्डिसनको भरपूर फाइदा उठाएको बताउँछन् । ‘विशेषगरी पावर प्लेमा नयाँ बलका साथ यूएईले कन्डिसनको साँच्चिकै फाइदा उठायो । हामीले राम्रो साझेदारी पनि गर्न सकेनौं’ रोहितले खेलपछि भने, ‘हाम्रो हारको मुख्य कारण ब्याटिङ रह्यो ।’

लेखकको बारेमा
भुपेन्द्र जि.सी.

जिसी अनलाइनखबरको खेलकुद ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?