
News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकाको सूचना प्रविधि कम्पनी ओरेकलका सह–संस्थापक ल्यारी एलिसन विश्वकै सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका छन्।
- एलिसनको सम्पत्ति बुधबार बिहान ३ खर्ब ९३ अर्ब डलर पुगेको थियो, जसले एलन मस्कलाई पछि पारेको थियो।
- ओरेकलको क्लाउड व्यवसायमा ७७ प्रतिशत वृद्धि भई १८ अर्ब डलर पुग्ने कम्पनीले जनाएको छ।
काठमाडौं । अमेरिकाको सूचना प्रविधि कम्पनी ओरेकलका सह–संस्थापक ल्यारी एलिसन विश्वको सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका छन् । स्पेस एक्स तथा टेस्लाका मालिक एलन मस्कलाई पछि पार्दै बुधबार बिहान एलिसन विश्वका अर्बपतिको सूचीमा पहिलो नम्बरमा उक्लिएका हुन् ।
ब्लूम्बर्ग बिलेनिर्स इन्डेक्सका अनुसार बुधबार बिहान एलिसनको कूल सम्पत्ति बढेर ३ खर्ब ९३ अर्ब डलर पुग्यो । जबकि मस्कको सम्पत्ति चाहीँ ३ खर्ब ८५ अर्ब थियो ।
डेटाबेस सफ्टवेयर कम्पनी ओरेकल क्लाउड पूर्वाधार व्यवसाय र आर्टिफिसियल इन्टेलिजेन्सको व्यवसायिक सफलतासँगै कम्पनीको शेयरमा ४० प्रतिशत भन्दा धेरैले वृद्धि देखिएसँगै एलिसनको सम्पत्ति किर्तिमानी विन्दुमा पुगेको हो। स्मरण रहोस् एलिसनको कूल सम्पत्तिमा ओरेकलको शेयरको अधिकांस हिस्सा रहेको छ ।
तर बुधबार दिनको अन्त्यसम्ममा एलिसनले पाएको सबैभन्दा धनी मान्छेको ताज टिक्न सकेन । कम्पनीको शेयरमा केही गिरावटसँगै उनको कूल सम्पत्ति समेत घट्यो र उनी पुनः एलन मस्कभन्दा तल झरे ।
ओरेकल कम्पनीको शेयर मूल्यमा उल्लेख्य वृद्धि भईरहेको बेला मस्कको प्रमुख कम्पनी टेस्लाको शेयरमूल्यमा चाहीँ यो वर्षको सुरुदेखि नै गिरावट आइरहेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको यसअघिको निकटता र राजनीतिक संलग्नताका कारण आम उपभोक्ता तथा लगानीकर्तामा परेको नकारात्मक असरका साथै पछिल्लो समयमा ट्रम्पसँग बढेको तिक्ततासँगै विद्युतीय गाडी प्रवद्र्धनको अभियानबाट अमेरिकी सरकार पछि हटेसँगै टेस्लालाई गम्भीर प्रभाव परेको छ ।
उता डेटा सेन्टर पूर्वाधारको मागमा तिव्र वृद्धि भईरहेका कारण ओरेकलको व्यवसाय चम्किएको छ । मंगलबार कम्पनीले सार्वजनिक गरेको चौमासिक वित्तीय रिपोर्ट अनुसार यो वर्ष कम्पनीको क्लाउड व्यवसायमा ७७ प्रतिशतले वृद्धि भई १८ अर्ब डलर पुग्नेछ । आगामी वर्षहरुमा यो झनै बढ्ने अनुमान गरिएको छ ।
कम्पनीका अनुसार एआई कम्पनीहरुबाट उसका डेटा सेन्टरहरुको मागमा तिव्र वृद्धि भईरहेको हुँदा कम्पनीको शेयर मूल्य नाटकीय रुपमा उकालो लागिरहेको छ ।
कम्पनीले पछिल्लो चौमासिकमा डेटा सेन्टर पूर्वाधारको क्षेत्रमा विभिन्न कम्पनीहरुसँग अर्बौँ डलरको करार गरिसकेको छ ।
हाल ८१ वर्ष उमेरका एलिसनले सन् १९७७ मा ओरेकल कम्पनीको स्थापना गरेका थिए। उनी सन् १९९० को दशकमा चर्चामा आए । डेटाबेस कम्पनीको मालिकका रुपमा गरेको आम्दानीका कारण आलिशान जिन्दगी जिउने टेक टाइकूनको रुपमा उनको चर्चा भयो ।
उनी सन् २०१४ सम्म सो कम्पनीको प्रमुख कार्यकारी रहे र अहिले चाहीँ कम्पनीको अध्यक्ष र प्रमुख प्राविधिक अधिकृतको रुपमा रहेका छन् ।
एलिसनको परिचय यत्तिमा मात्र सिमित छैन । उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट मित्र हुन्।
गत जनवरीमा ट्रम्प राष्ट्रपतिको रुपमा दोश्रोपटक ह्वाइटहाउस फर्किँदा ओपन एआईका साम अल्टम्यान र सफ्टबैंकका मासेओशी सनसँगै एलिसन पनि देखिएका थिए र उनीहरुकै उपस्थितिमा स्टारगेट परियोजनाको घोषणा भएको थियो । सो परियोजना अमेरिकामा एआई पूर्वाधार निर्माणका लागि रहेको छ ।
उता अमेरिकी सरकारले देशमा चिनियाँ एप टिकटक बिक्री गर्नका लागि अल्टिमेटम पाईरहेको बेला ओरेकल कम्पनी पनि सम्भावित क्रेताको रुपमा देखिएको छ ।
गत जनवरीमा ट्रम्प स्वयंमले पनि ल्यारी एलिसनले नै टिकटक खरीद गरुन् भन्ने आफ्नो चाहना रहेको बताएका थिए । बीबीसीबाट
प्रतिक्रिया 4