+
+
Shares

चमक हराएको थापाथली : गाडी शोरुम बने विध्वंसको प्रतीक

यो केवल शोरुम ध्वस्त भएको कथा मात्र होइन, देशको अर्थतन्त्र र उद्यमशीलताको घाउ हो । जहाँ उज्यालो बल्नुपर्ने बेला, अँध्यारो छाएको छ ।

कृष्णसिंह धामी कृष्णसिंह धामी
२०८२ भदौ ३० गते ९:२२
जेनजी प्रदर्शनको क्रममा थापाथलीस्थित गाडी शोरुममा भएको तोडफोड र आगजनी

३० भदौ, काठमाडौं । थापाथली, जहाँ दशैंतिहार नजिकिंदा चमकधमक हुन्थ्यो, तर अहिले शोक र भग्नावशेषको प्रतिमूर्ति बनेको छ ।

सामान्य अवस्थामा यही ठाउँका गाडी शोरुमहरूमा ग्राहकको भीड देखिन्थ्यो । नयाँ गाडी हेर्ने, खरिद गर्ने, विक्रेतासँग सम्झौता गर्ने धुनमा यहाँ दैनिक सयौँ मान्छे आउजाउ गर्थे ।

तर, अहिले अवस्था अर्कै छ– सडक सुनसान छ, शोरुमहरूमा पस्दा कहाली लाग्छ, र भित्र राखिएका नयाँ सपनाहरू खरानी बनेर बसेका छन् ।

गत सोमबारदेखि मंगलबारसम्म चलेको जेनजी आन्दोलनले थापाथली क्षेत्रलाई विध्वंशको प्रतीक बनाइदियो । जुन स्थान ग्राहकहरूको उत्साह र चहलपहलले गुञ्जिन्थ्यो, अहिले त्यही ठाउँ धुवाँको गन्ध, फुटेका सिसा र पोलिएका फलामका ढाँचा मात्रै बोकेर बाँच्न बाध्य छ ।

सीजी मोटर्सको दृश्य देख्दा कसैको पनि मन थामिँदैन । विशाल भवनको सिसा चकनाचुर छ, भित्र राखिएका गाडीहरू ध्वस्त भएर अस्थिपञ्जर मात्रै बचेका छन् । तीन तला जलेर खरानीमा परिणत भएका छन् ।

तेस्रो र चौथो तला बाहिरबाट हेर्दा सिसा बाँकी देखिए पनि भित्रको कथा उस्तै पीडादायी छ । यही बाटो हिँड्नेहरू टक्क रोकिन्छन्, टाउको हल्लाउँदै भन्छन्,– ‘बिचरा, पूरै ध्वस्त बनाइदिएछन् !’

त्यो शब्दमा सहानुभूति मात्रै होइन, भोलिको अनिश्चितता प्रतिको डर पनि मिसिएको छ ।

सीजी मोटर्सको शोरुम

सीजी मोटर्सको लाइनमै रहेको टाटा मोटर्सको अवस्था पनि उस्तै छ । दशैंतिहारमा चम्किनुपर्ने शोरुम अहिले कपडाले बेरिएको छ, जालीले छोपिएको छ । त्यो दृश्यले भन्छ– यो केवल शोरुम ध्वस्त भएको कथामात्र होइन, देशको अर्थतन्त्र र उद्यमशीलताको घाउ हो । जहाँ उज्यालो बल्नुपर्ने बेला, अँध्यारो छाएको छ ।

हुन्डाई पनि यस त्रासदीबाट जोगिन सकेन । एकातिरका सिसा चकनाचुर पारिएको छ, भित्र प्रवेश रोक्न होर्डिङ बोर्डले बारिएको छ । महिन्द्रा शोरुममा पनि त्यस्तै दृश्य छ– फुटेका भाग, पोलिएका भाग, अनि बाहिरबाट देख्नै नसक्ने गरी नेटले बेरिएको छ ।

यी सबैले एउटै पीडा बोल्छन्– आन्दोलनले केवल सडकमात्र नभई, सपनाहरू पनि खरानी बनाइदियो । गाडीका शोरुमहरूमा करोडौंको लगानी थियो, त्यहाँ काम गर्ने कर्मचारीहरूका आशा थिए, अनि दशैंमा नयाँ गाडी किन्न आउने ग्राहकहरूको खुसी थियो । तर, अब त्यहाँ केवल खण्डहर छ ।

टाटा मोटर्सको शोरुम

एमएडब्लु, जीओ अटोमोबाइल्स, फोर्डका सोरुमहरू प्रत्यक्ष आक्रमणबाट जोगिए पनि सुनसान छन् । ग्राहकहरू जाने आँट गरिरहेका छैनन् । उनीहरूले अफर ल्याएका छन्, तर त्यो अफरलाई सुन्ने ग्राहक छैनन् । यतिबेला धनीहरूका आँखा गाडीमा समेत परेका छैनन् ।

देशको व्यापारिक केन्द्रहरू सशक्त बन्नुपर्ने बेला ध्वंशको प्रतिमा देखिएको छ । दशैंतिहार जस्तो खुसी र परिवारसँगको पुनर्मिलनको पर्व आउँदै गर्दा व्यापारीहरूको मुटु भने टुक्रिएको छ ।

गत सोमबार र मंगलबार भ्रष्टाचार विरुद्ध देशभरिका जेनजी प्रदशर्नमा उत्रिए । प्रदर्शनको पहिलो दिन प्रहरीले गोली चलाउँदा १९ जनाको मृत्यु भयो । पहिलो दिन प्रहरीको अत्याचार विरुद्ध दोस्रो दिन देशभरि आगो बल्यो । सरकारी संरचनाहरू एकैछिनमा जलेर सखाप भए । इतिहास दर्शाउने दस्तावेजहरू क्षणभरमै खरानी भए ।

शोरुमसहित जलेका गाडी

त्यतिमात्र होइन, निजी सम्पत्ति समेत खोजी–खोजी तोडफोड, आगजनी तथा लुटपाट भए । त्यही क्रममा गाडीका सोरुमहरूमा समेत तोडफोड तथा आगजनीको शिकार बन्न पुगे ।

आन्दोलन लोकतान्त्रिक अधिकार हो । तर, जब त्यो हिंस्रक बन्छ, त्यसले निर्दोषलाई डस्छ । थापाथलीको यो क्षतिग्रस्त रूपले त्यही प्रमाणित गरिदिएको छ । विरोधका नाममा भएको विनाश अब आम नागरिककै काँधमा पर्ने छ ।

सडकमा गुड्ने गाडीहरू अहिले पनि केहीबेर अडिन्छन्, भित्र हेर्छन्, अनि मन भारी बनाएर अगाडि बढ्छन् । कसैले देख्दा यो केवल पसल हो भनेर सोच्न सक्छ । वास्तवमा यो सपना हो, जसलाई आगोले निलिदियो ।

आज थापाथलीको ध्वंशले भोलि पुनर्निर्माणको आशा पनि बोकेको छ । जुन व्यापारीहरूले आश दिइरहेका छन् ।

महिन्द्रा शोरुम

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले अटोमोबाइल क्षेत्रलाई सामान्य अवस्थामा फर्काउने प्रतिबद्धता जनाएको छ । विज्ञप्ति जारी गरी नाडाले नेपालको अटोमोबाइल क्षेत्र देशको उद्योग, व्यापार र रोजगारीको महत्त्वपूर्ण आधारशिला रहेको जनाएको छ ।

वर्तमान अवस्थाले उपभोक्ता विश्वासमा नकारात्मक असर पुर्‍याएको र दीर्घकालीन रूपमा लगानी र रोजगारीमा पनि चुनौती थपिएको नाडाले जनाएको छ ।

व्यावसायिक समुदायको सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राख्न सरकारलाई अनुरोध गर्दै अटोमोबाइल क्षेत्रलाई सामान्य अवस्थामा फर्काउन आवश्यक सहयोग र सहजीकरण गर्न पनि सरकारलाई आग्रह गरेको छ ।

एकताबद्ध प्रयास, जिम्मेवार नेतृत्व र सकारात्मक सम्वाद मार्फत मुलुक छिट्टै स्थायित्वतर्फ अघि बढ्नेमा नाडाको विश्वास छ ।

 

लेखक
कृष्णसिंह धामी

धामी अनलाइनखबरको बिजनेश ब्युरोका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?